मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसी सेनामा रहेका आफ्ना मान्छे फर्काइदिन आग्रह

शुक्रबार, १९ माघ २०८०, १४ : १७
शुक्रबार, १९ माघ २०८०

‍काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीहरूलाई फर्काइदिन उनीहरूका आफन्तहरूले माग गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गदै रुसी सेनामा कार्यरत नेपालीहरूका आफन्तले फर्काइदिन माग गरेका हुन् ।  धेरै तलब पाउने प्रलोभनमा दलालहरूले रुसी सेनामा भर्ना हुन पठाएका नेपालीहरूका आफन्तहरूले उनीहरूलाई नेपाल फर्काइदिन सरकारसँग अनुरोध गरेका हुन् । 

रुसी सेनामा कार्यरत रामकुमार प्रधानका साढु दाई नारायण खड्गीले असोज २५ गतेदेखि सम्पर्कविहीन रहेको बताए । असोज २५ गते घरमा सम्पर्कमा गरेका रामकुमार त्यसयता सम्पर्कमा नआएको र उनको अवस्था अज्ञात रहेको खड्गीले बताए । 

दुबई प्रहरीमा जागिर गर्दै आएका रामकुमारलाई मासिक ३ लाख तलब पाउने भनेर रुस लगिएको थियो । तर, रुस पुगेपछि मासिक २ लाख रुपैयाँ मासिक तलब पाउने भनेर एग्रिमेन्ट गरिएको थियो । दलाललाई ७ लाख रुपैयाँ तिरेर रामकुमार रुस पुगेका थिए । 

रुसी सेनाको क्याम्पमा तालिम सकाएर उनलाई युक्रेनी सीमा क्षेत्रमा खटाएको थियो । रेड जोनले चर्चित रहेको युक्रेनी सीमा क्षेत्रमा खटाएपछि अन्तिम पटक असोज २५ गते घरमा कुरा भएको खड्गीले बताए । त्यसयता उनको अवस्था अज्ञात नै रहेको भन्दै उनको खोजी गरी नेपाल फर्काइदिन सरकारसँग आग्रह गरेका हुन् । 

त्यस्तै उदयपुरका पदम घिमिरे समेत दुई महिनादेखि सम्पर्कमा आएका छैनन् । उनकी श्रीमती टिनाले दुई महिनादेखि सम्पर्क नै नभएको बताइन् । ‘कुरा हुन नपाएको दुई महिना भयो । फोनमा कुरा हुँदा अब हामीलाई रेड जोन क्षेत्रमा लग्दैछन् भन्नुभएको थियो । त्यसपछि अहिलेसम्म कहाँ हुनुहुन्छ ? कस्तो हुनुहुन्छ ? केही थाहा छैन’ उनले भनिन् । 

रुसी सेनामा १ महिना १८ दिन काम गरेर भागेर केही दिन अगाडि मात्रै नेपाल आइपुगेका खोटाङका सुमन राईले रुसमा निकै दुःख रहेको बताए । आफूसँगै गएका र तालिम लिएका धेरै साथीहरू युद्धको क्रममा मारिएको बताउँदै उनीहरूको अवस्थाबारे केही जानकारी नभएको उनको भनाई छ । 

रुसी सेनामा गएका नेपालीहरूलाई युद्धको अग्र मोर्चामा खटाउने गरेको भन्दै त्यो क्षेत्रबाट कोही पनि बाँचेर फर्किन नसक्ने उनको भनाई थियो ।  कैलालीकी चाँदनी विष्टका श्रीमान्, देवर र नाति (नाता पर्ने) रुसी सेनामा कार्यरत छन् । श्रीमान् र देवरसँग बेला बेला फोनमा कुरा हुन्छ । तर, केही दिन अगाडि तालिम सकेर युक्रेनी सीमा क्षेत्रमा खटाएपछि नातिसँग सम्पर्क नभएको उनको भनाई छ । 

गत मङ्सिर १९ गते तीनै जना रुसी सेनामा भर्ना हुनको लागि भन्दै नेपालबाट गएका थिए । उनका श्रीमान् विराजन विष्ट नेपाल आर्मीबाट राजीनामा दिएर सिंगापुर गएका थिए । सिंगापुर ७ वर्ष बसेका उनी त्यसपछि चार वर्ष दुबईमा बसेका थिए । दुबईबाट नेपाल आएर उनी भाइ र नातिलाई लगेर रुसी सेनामा भर्ना हुन गएका हुन् । त्यसका लागि उनीहरूले प्रतिव्यक्ति साढे ७ लाख रुपैयाँ दलाललाई दिएका थिए । इलामका सन्तोष केरुङ गत असोज ८ गते रुसी सेनामा भर्ना हुन गएका थिए । 

अहिले घर परिवारको सम्पर्कमै रहेका उनीलाई केही दिनमा अर्को क्षेत्रमा युद्धका लागि खटाउने छ । अन्य साथीभाइको अवस्था देखेर उनी नेपाल फर्किन चाहेका छन् । तर, उनलाई रुसी सेनाले नेपाल फर्किन दिएको छैन । उनले आफ्नो श्रीमानको उद्धार गरिदिन अनुरोध गरेकी छन् । 

त्यस्तै इलामकै राजकुमार मुखिया गत अक्टोबरमा रुसी सेनामा भर्ना हुने गएका थिए । तर, उनी जनवरी ३१ देखि सम्पर्कमा छैनन् । उनकी दिदी रिमा मुखियाले भाइको खोजी गरेर उद्धार गरिदिनु अनुरोध गरेकी छन् ।  रुसी सेनामा धेरै नेपालीहरू भर्ना भएको भन्दै उनीहरूका आफन्तहरूले रुस सरकारसँग कुरा गरेर नेपालीको भर्ना रोक्नुपर्ने र भर्ना भएका नेपालीहरूलाई फिर्ता बोलाउनुपर्ने उनीहरूको माग छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप