आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षापछि सुदूरपश्चिमका किसान खुसी

शुक्रबार, १९ माघ २०८०, २० : ०७
शुक्रबार, १९ माघ २०८०

कैलाली । गत असोजमा मनसुन बाहिरिएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

कैलालीका किसान रामबहादुर चौधरीले भने, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताए ।

बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिए । 

“गत असोज अन्तिमतिर प्रदेशबाट मनसुनी वर्षा बाहिरिएपछि पहिलोपटक बुधबार र बिहीबार वर्षा भएको छ । यसले हिउँदे बालीका लागि अनुकूल प्रभाव परेको छ”, उनले भने, “वर्षाले मानव स्वास्थ्यका लागि वायुमण्डलमा रहेको अस्वथ्यकर हावालाई पनि सफा बनाएको छ ।” 

पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको साहले बताए । पानी पार्ने प्रणाली बिहीबार साँझबाट बिस्तारै कमजोर हुँदै गएको उनको भनाइ थियो । यस वर्ष गत पुस पहिलो हप्तादेखि झण्डै ३५ दिनसम्म बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलेको शीतलहरले जनवीवन कष्टकर बनेको थियो । 

शीतलहरसँगै यही माघ ११ गते एक दशकयताकै सबैभन्दा कम तापक्रम एक दशमलव आठ डिग्रीसेल्सियस मापन गरिएको थियो । पछिल्लो पाँच दिनदेखि शीतलहरको समस्या हटेर घाम लाग्न थालेकामा बुधबार र बिहीबार हिउँदे वर्षा भएको हो । 

वर्षासँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, दार्चुलाका हिमाली र उच्च पहाडी भेकमा हिमपात भएको छ । वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पुर्‍याएको छ । हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप