आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीलाई हेर्न हङ्कङको सडकमा उर्लियो हजारौँको भिड

आइतबार, २१ माघ २०८०, १६ : ११
आइतबार, २१ माघ २०८०

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीसहितको इन्टर मियामी हाल हङ्कङ भ्रमणमा छ । साउदी अरेबियामा केही मैत्रीपूर्ण खेल खेलेर अमेरिकी क्लब इन्टर मियामी इङ्कङ पुगेको हो ।

हङ्कङमा पनि ३६ वर्षीय मेस्सीसहितको इन्टर मियामीले मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । मैत्रीपूर्ण खेलअघि इन्टर मियामीको अभ्यास सत्र राखिएको थियो । हङ्कङमा अभ्यासका क्रममा मेस्सीलाई हेर्न हजारौंको सँख्यामा समर्थक ओइरिएका थिए ।

मेस्सीलाई हेर्न रंगशाला रहेको क्षेत्रमा दशौँ हजार फुटबल समर्थक सडकमा निस्किएका थिए । इन्टर मियामीको टोली रंगशाला पुग्नुभन्दा निकै अघिदेखि समर्थकहरु सडकमा उर्लिएका थिए । उनीहरुको मात्र एउटा लक्ष्य थियो, प्रत्यक्ष रुपमा मेस्सीको एक झलक पाउने ।

नियमित अभ्यास सत्रपछि आइतबार नै खेलिएको इन्टर मियामी र हङ्कङ–११ बिचको मैत्रीपूर्ण खेलमा पनि दर्शकको उत्तिकै भिँड थियो । उक्त मैत्रीपूर्ण खेलमा इन्टर मियामीले हङ्कङ–११ लाई ४–१ गोलले हराएको थियो ।

समर्थकको भिँड बढ्दै गएपछि प्रहरीले रंगशाला क्षेत्रको सडकमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको थियो । इन्टर मियामी र हङ्कङ–११ बिचको मैत्रीपूर्ण खेलमा ४० हजार दर्शक क्षमताको रंगशाला पनि खचाखच भरिएको थियो ।

मैत्रीपूर्ण खेलअघि मेस्सीसँगै इन्टर मियामीका अन्य खेलाडी र मालिक डेभिड बेकह्यामले समर्थकलाई अभिवादन गरेका थिए । बेकह्याम पनि आफ्नो समयका चर्चित फुटबल खेलाडी हुन् । मेस्सी कीर्तिमानी रुपमा आठपटक बालन डी’ओरको उपाधि जित्ने खेलाडी हुन् ।

उनकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि पनि जितेको थियो । हङ्कङ भ्रमणका क्रममा मेस्सीले त्यहाँका स–साना स्कुले बालबालिकासँग पनि केही समय बिताएका थिए । मेस्सी हाल ह्यामस्टिङ् समस्याबाट पीडित छन् । फेब्रुअरी २१ तारिखमा मेजर लिग सकरको नयाँ सिजन सुरु हुनुअघि इन्टर मियामी हाल एसिया भ्रमणमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप