आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी-नेसपा एकता

पार्टी विभाजन गर्ने महिन्द्रको धम्कीपछि नेसपामा यसरी भयो सहमति

सोमबार, २२ माघ २०८०, १३ : ५८
सोमबार, २२ माघ २०८०

काठमाडौँ । माघ १९ गते बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने वा नगर्ने विषयलाई लिएर अध्यक्षद्वय डा.बाबुराम भट्टराई र अध्यक्ष महिन्द्र राय यादवबिच चर्काचर्की भयो ।

संशोधित विधान मस्यौदाबारे छलफल गर्न बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा दुई अध्यक्षबिचको घोचपेच र चर्काचर्कीले पार्टी नै विभाजन गर्ने अवस्थासम्म पुग्यो ।

माओवादीसँग एकता गर्ने पूर्वसहमतिबाट बाबुराम फेरि पछाडि हटेपछि महिन्द्र आक्रोशित भएका थिए । बैठक सञ्चालन गर्दै भट्टराईले कम्युनिस्ट छाडिसकेकाले नेकपा मान्न नसक्ने तर्क गरेका थिए ।

‘बाबुरामजीले माओवादीसँग पार्टी एकता गर्न सकिँदैन, एकता महाधिवेशन गर्नेभन्दा पनि पार्टीको महाधिवेशन गरौँ भन्ने प्रस्ताव राख्नुभयो । प्रचण्डको जालझेल मैले बुझेको छु । उनीहरू एकता गर्ने मुडमा छैनन् । मैले नेकपा छोडिसकेँ, अब फेरि कम्युनिस्ट पार्टीमा गइँदैन,’ त्यसदिन बैठकमा बाबुरामले राखेको धारणा उद्धृत गर्दै एक नेताले रातोपाटीलाई बताएका थिए ।

तर अध्यक्ष महिन्द्रले बाबुरामको अभिव्यक्तिको प्रतिवाद गर्दै सहमतिमै एकता प्रक्रियामा नजाने भए पार्टी विभाजन हुने चेतावनी दिएका थिए ।

‘सिङ्गो पार्टी एकतामा जाउँ, एकताको महाधिवेशन गरौँ । यदि त्यस्तो घोचपेच गर्ने भए मित्रतापूर्वक छुटेर जाउँ । केन्द्रीय समिति बैठक स्थगित गरौँ । किन घोचपेच गर्ने ? हामी एकताको पक्षधर हौँ, एकतामा जान्छौँ । संविधान, संघीयता र अहिले व्यवस्था रक्षा गर्ने माओवादी र उसको नेतृत्व प्रचण्ड नै हुन्’, बैठकमा महिन्द्रले राखेका भनाइ उद्धृत गर्दै ती नेताले भने ।

प्रचण्ड सरकारमा खानेपानी मन्त्रीसमेत रहेका महिन्द्रले एमाले पहिचानवादी र व्यवस्थाको विरोधी रहेको, कांग्रेस ढुलमुले पार्टी भएकाले गणतन्त्र तथा मधेस विद्रोहबाट स्थापित पहिचानको रक्षाका लागि माओवादीसँग एकता गर्नुपर्ने अडान राखेका थिए ।

एकता महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्नेमा दुई अध्यक्षबिच देखिएको विवादका कारण कार्यकारिणी समिति सदस्यहरू पनि दुई पक्षमा विभाजित भएका थिए । माओवादीसँग एकता गर्न नहुने पक्षमा भट्टराईसहित उपाध्यक्ष हिसिला यमी, उपाध्यक्ष दुर्गा सोव लगायत उभिए । यता अध्यक्ष महिन्द्रसहित सहअध्यक्ष गंगा श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरू तत्काल एकता महाधिवेशन गर्नुपर्ने पक्षमा उभिए ।

nesapa_Ij20Cl3ZIv

विवाद चर्किँदै गएपछि मूल एजेण्डामा प्रवेश नगरी बैठक नै स्थगित भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार त्यसदिन सहअध्यक्ष गंगानारायण श्रेष्ठले दुवै अध्यक्षलाई सम्झाउँदै एकताको निर्णय मङ्सिरको केन्द्रीय समिति बैठकले नै गरेकाले आक्रोशमा कुनै निर्णय नलिन आग्रह गरेका थिए ।

कार्यकारिणी समितिमा अध्यक्ष महिन्द्रसहित, गंगा, गोविन्द चौधरी, रमेश यादव, देवेन्द्र यादव, सवनम खातुन, सलमा खातुन, बन्दना सुवेदी, बुढाबहादुर थोकी, दुर्गा भट्टराई(न्यौपाने), अक्कलबहादुर थिङ लगायत नेताहरू एकताको पक्षमा उभिएका थिए ।

विपक्षमा बाबुराम भट्टराई, हिसिला यमी, भक्तबहादुर शाही, दुर्गा सोव, जनक साह, भरत दाहाल, ईश्वर रिजाल, घमानसिंह गुरुङ, सुनामसिंह सत्याङ, मानुषी यमी लगायत नेताहरू रहेका थिए ।

शुक्रबार लगभग पार्टी विभजन हुने निश्चित भएको निष्कर्ष निकाल्दै सदस्यहरू बाहिरिएका थिए । शनिबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकसमेत अनिश्चित भएको थियो । केन्द्रीय समिति बैठक बस्नुअघि दुवै अध्यक्षलाई सहमतिमा ल्याउन सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवले आ–आफ्ना नेतालाई मनाएपछि पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताहरूको बैठक बस्यो । बैठकमा अध्यक्षद्वय बाबुराम, महिन्द्र, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवलगायत केही कार्यकारिणी सदस्य उपस्थित थिए । श्रेष्ठ लगायत नेताहरूले सम्झाएपछि जेठसम्म पार्टीको महाधिवेशन स्थगित गर्न भट्टराई राजी भएका थिए ।

सहमतिपछि बसेको केन्द्रीय समिति बैठकले अधिवेशनको म्याद एक वर्ष थप्ने निर्णय ग¥यो । सहमतिसँगै नेसपा तत्काल विभाजन हुनबाट जोगिएको छ ।

बैठकमा भट्टराईले आफू एकताको विरोधी नभएको भन्दै एकता र संगठन निर्माण सँगसँगै लैजानुपर्नेमा जोड दिएका थिए । महिन्द्रले संविधान, संघीयताको रक्षाका लागि प्रचण्ड बाहेक अहिले अन्यले नसक्ने दाबी गरेका थिए । माओवादी र आफूहरूबिच विचार मिल्ने भएकाले एकताको विकल्प नभएको उनको भनाइ थियो ।

बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए । केन्द्रबाट अध्यक्षद्वय बाबुराम, महिन्द्र, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवले कुरा राखेका थिए ।

पार्टी तत्काल विभाजनबाट जोगियो : नेताहरू

बैठकपछि महासचिव यादवले फुटको सँघारबाट पार्टी तत्काललाई जोगिएको बताए । ‘जेठसम्म  महाधिवेशन नगर्ने । पार्टी सुदृढीकरण गर्दै जाने र दुई÷तीन महिनामै छिनोफानो गरेर अगाडि जाने सहमति भएको छ । तत्काल विभाजनको संघारबाट पार्टी जोगिएको छ । माओवादीबाट एकता समायोजन समिति बनाएपछि एकता प्रक्रिया अगाडि बढ्छ ।’

यस्तै प्रवक्तासमेत रहेकी उपाध्यक्ष दुर्गा सोवले एकता वार्तालाई निरन्तरता दिने, पार्टीको विधानलाई यथास्थितिमै राख्ने सहमति भएको जानकारी दिइन् ।

‘माओवादीसँग एकता गर्ने नै हो । त्यसबाहेक हामीले भन्दै आएका समाजवादी केन्द्र निर्माण, नेपाल सुहाउँदो समुन्नत समाजवादको परिकल्पना गरेका छौँ । त्यसका लागि बृहत् समाजवादी मोर्चा बनाएर जानुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन्, ‘अन्यले उठाएको समाजवाद र हामीले उठाएको समाजवाद फरक छ । विचार, सिद्धान्त र सांगठनिक रुपमा अध्यक्षद्वयबिच वादविवाद हुनु सामान्य  हो । तत्कालै एकता महाधिवेशन घोषणा गरेर जाने कि पछि गर्ने भन्ने सवालमा सामान्य मतभेद देखिएको हो । तत्कालको लागि यो विवाद हल भइसकेको छ ।’

विचार, सिद्धान्त र संगठनमा रुपान्तरण हुुनुपर्छ, यथास्थितिमा एकता हुँदैन भन्ने आफूहरुको पहिलेको अडान कायमै रहेको सोवले भनिन् ।  

सहअध्यक्ष श्रेष्ठले पार्टीभित्र देखिएको विवाद स्वाभाविक भएको बताए । उनले अघिल्लो दिन केही विवाद देखिए पनि भोलिपल्ट सबैले आ–आफै ठाउँबाट पुनर्समीक्षा गरी सहमति खोजिएको प्रस्ट पारे ।

‘पार्टीभित्र कहिलेकाहीँ गरामगरम बहस हुन्छ । कहिले कुल हुन्छ । यो स्वाभाविक प्रक्रिया हो । सबैले आ–आफ्ना ठाउँमा पुनर्समीक्षा गर्नुभयो । छलफलको क्रममा आ–आफ्ना धारणा हुन्छन्’, श्रेष्ठले भने, ‘पछाडि फर्किएर केही हुँदैन । एकताको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गरिसक्यो । अब हिजो के भयो भनेर जानुको कुनै अर्थ छैन । बैठकले जे निर्णय ग¥यो, त्यो सही छ । ठिक छ । अब निर्णय कार्यान्वयन गरेर जाने हो ।’

बाबुरामको आरोपप्रति के भन्छन् माओवादीका महासचिव ?

अध्यक्ष बाबुरामले एकताका लागि माओवादी नै तयार नभएको आरोप लगाएको बारेमा माओवादी वार्ता टोली सदस्य एवं महासचिव देव गुरुङले समायोजन समिति बनाउने कुरामा नीतिगत रुपमा तयार भएको, समयसीमा तोकेर कार्यान्वयन हुने चरणमा रहेको दाबी गरे । गुरुङले अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण एकता प्रक्रिया अगाडि बढाउन केही ढिलाइ भएको बताए ।

‘अध्यक्षकै नेतृत्वमा समायोजन समिति बन्छ । समायोजन समिति फर्मेसन भइसकेपछि नीतिगत, सैद्धान्तिक, वैचारिक र सांगठनिक विषयमा छलफल हुन्छ । साझा विषयहरू कार्यान्वयन हुँदै जान्छ,’ उनले भने, ‘फरक विषयमा आ–आफ्ना ढङ्गले के निर्णय गर्ने भन्ने हुन्छ । त्यही आधारमा सहमति, समझदारी कायम गर्दै अगाडि बढ्छौँ ।’

आफूहरुले एकताका लागि कुनै आलटाल वा ढिलासुस्ती गर्न नचाहेको पनि गुरुङले प्रस्ट पारे । ‘उहाँहरूलाई कताबाट त्यस्तो प¥यो, त्यो उहाँहरूकै कुरा हो । हामीले समय निकालेर एकता गर्नुपर्छ भनेर पहल गरेकै हो,’ उनले भने, ‘एकता गर्न अध्यक्षको पहल अनिवार्य हुन्छ । अध्यक्ष प्रधानमन्त्री पनि भएकाले कामको चाप बढी छ । समय व्यवस्थापन गर्न नसकिएको हो ।’

माओवादी केन्द्रको विधान अधिवेशन लगत्तै एकता प्रक्रिया अगाडि बढ्ने उनले बताए । यसअघि विवादकाबिच मङ्सिरमा बसेको नेसपाको केन्द्रीय समिति बैठकले एकताका लागि भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । माओवादीको पुस २८ गते बसेको स्थायी समितिले एकता समायोजन समिति गठन गर्ने निर्णय गरेको थियो । यसबारे थप निर्णय आगामी स्थायी समिति बैठकबाट हुन सक्ने महासचिव गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप