मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
गैरकानुनी सम्पत्ति आर्जन

२८ सय तलबबाट जागिर सुरु गरेका मीनबहादुरले कसरी जोडे करोडौँको अवैध सम्पत्ति ?

तामेलीमा राखिसकेको अनुसन्धान फेरि ब्युँतिँदा विशेषमा मुद्दा
बिहीबार, २५ माघ २०८०, २३ : ३८
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता ललितपुर मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । गैरकानुनी रूपमा ४ करोडभन्दा बढी आर्जन गरेको देखिएपछि उनीविरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो । 

भट्टराईको पदमा बहाल रहँदा वैध कुल आयभन्दा कूल ब्यय बढी देखिन गई श्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको देखिएपछि आयोगले ७ वर्ष लगाएर अनुसन्धान गरेको थियो । उनको कूल वैधानिक आय श्रोत पाँच करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिन्छ भने खर्च तथा लगानी गरेको रकम १० करोड २३ लाख ९२ हजार दुई सय ८८ रुपैयाँ १५ पैसा देखिन्छ । 

  • २५ वर्ष जागिर, २० वटा पोस्टिङ 

२०५४ साउन २६ गतेदेखि सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका भट्टराईको सुरुको पोस्टिङ जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा थियो । २०५४ देखि २०६३ सम्म उनले हुलाककै विभिन्न कार्यालयमा बिताए । उनको मालपोत कार्यालयको यात्रा २०६३ असार १९ बाट सुरु भयो । सुब्बा नै रहँदा मालपोत कार्यालय डिल्लीबजारमा पोस्टिङ पाएका भट्टराई त्यहाँ तीन दिन मात्रै काम गरे । असार २२ देखि उनी यातायात व्यवस्था कार्यालय ललितपुरमा हाजिर हुन पुगे । त्यहाँ उनले साढे दुई वर्ष काम गरे । 

शाखा अधिकृत भएपछि उनले फेरि मालपोत नै पोस्टिङ रोजेको देखिन्छ । २०६६ माघ देखि २०७० वैशाख २६ सम्म भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयमा काम गरेका भट्टराईले २०७० वैशाख २७ मा झापाको दमकस्थित मालपोत कार्यालयमा मालपोत अधिकृत र सोही वर्ष असोज २२ देखि २०७१ माघ २९ सम्म मालपोत कार्यालय ललितपुरमा काम गरेका थिए । 

जागिरे अवधिभर भट्टराईले मालदार र आकर्षक पोस्टिङ पाएको देखिन्छ । यातायात कार्यालय सिरहामा मात्रै उनको दुई पटक पोस्टिङ देखिन्छ । २०७४ असोज १० मा यातायात कार्यालय सिरहा पुगेका उनी त्यहाँ दुई महिना मात्रै काम गरेर गृहमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए । 

दुई जिल्ला प्रशासन कार्यालयहरू क्रमशः महोत्तरी र काभ्रपलाञ्चोकमा दुई वर्ष काम गरेका भट्टराई फेरि यातायात कार्यालय सिरहामा पुगेका थिए । त्यहाँ उनले तीन वर्ष लामो कार्यकाल बिताएको देखिन्छ । 

सिरहा यातायात कार्यालयमा २०७६ वैशाख १७ गते पोस्टिङ पाएका उनले त्यहाँ २०७९ भदौ १४ सम्म काम गरेका थिए । उनको अन्तिम पोस्टिङ भने मधेस प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भदौ १५ मा भएको थियो । आयोगले मुद्दा दर्ता गर्नु अघिसम्म उनी त्यहीँ कार्यरत थिए । 

  • सुरुको तलब २ हजार ८७५ रुपैयाँ, गैरकानुनी आम्दानी झन्डै साढे चार करोड 

नायब सुब्बाबाट जागिर सुरु गरेका भट्टराईले २५ वर्षमा चार करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अनुसन्धानले देखाएको छ । सोलुखुम्बुस्थित जिल्ला हुलाक कार्यालयमा २०५४ साउन २६ बाट जागिर सुरु गर्दा भट्टराईको मासिसक तलब दुई हजार ८ सय ७५ रुपैयाँ थियो । 

जागिरको सुरु भएको १० वर्षसम्म पनि उनको तलब १० हजार भन्दा कमै थियो । २०६४/०६५ मा उनको तलब ८ हजार ६ सय ९० रुपैयाँ थियो । २०७८/०७९ सम्म आइपुग्दा भट्टराईले आठौँ तहको अधिकृतको तलबबापत ४८ हजार एक सय २६ रुपैयाँ बुझ्थे । आयोगका अनुसार अनुसन्धानका क्रममा तलबबापत उनले जम्मा ३६ लाख  ९६ हजार चार सय ७५ रुपैयाँ ३८ पैसा बचत गरेको देखिन्छ । बाँकी उनले दैनिक भ्रमण भत्ता, अनुगमन भत्ता, लिखित /ट्रायल/ बैठक भत्ता र आन्तरिक पर्यटन भ्रमण वर्षबापत भट्टराईले ९ लाख ६१ हजार ५ सय १६ रुपैयाँ ७४ पैसा आम्दानी गरेको देखिन्छ । 

  • यस्तो छ भट्टराईको खर्च विवरण

भट्टराईका दुई छोरी र एक छोरा गरी तीन जना सन्तान छन् । तीन सन्तान पढाइ खर्चबापत उनले २०७० यता ८ लाख ९७ हजार तीन सय ३७ रुपैयाँ खर्च गरेको देखिन्छ । उनले ११ पटक जग्गा र घर खरिद गरेको देखिन्छ । २०७१ माघ २१ मा झापास्थित दमकमा उद्धव दाहालबाट तीन आना जग्गा खरिद गरेका थिए । उनी त्यतिमा नै रोकिएको देखिँदैन । 

दमकमै उनले विनोद भुजेल, खिलाकुमारी खड्का दाहाल, अञ्जु नेपाल, मेघनाथ दंगालसँग जग्गा खरिद गरेको आयोगको अनुसन्धानले देखाएको छ । २०७८  भदौ ११ मा भट्टराईले काठमाडौँ–१० मा घरसहित १२ आना, तीन पैसा तीन दाम र दुई आना एक दाम जमिन ५ करोड ७९ लाख ३७ हजारमा खरिद गरेका थिए । उनले ६ करोड ६० लाख १६ हजार ७ सय ५० रुपैयाँ बराबरको घरजग्गा खरिद गरेको आयोगको अनुसन्धानले देखाएको छ । 

आयोगमा बयान दिँदा भट्टराईले ललितपुरको लुभु, झापाको दमक, भक्तपुर लगायत गरि ८ ठाउँको जग्गा बिक्री गरेको खुलाएका छन् । बिक्रीबापत उनले ४ करोड ९० लाख  २६ हजार पाँच सय एक रुपैयाँ प्राप्त भएको जनाएका छन् । 

भट्टराईले घर सापटी र विशेष सापटी गरेर सानिमा बैंक, गुडबील फाइनान्स र कर्मचारी सञ्चय कोषबाट तीन करोड ५ पाँच लाख ४४ हजार १ सय ८१ रुपैयाँ ६६ पैसा ऋण लिएको देखिन्छ । ऋण लिएबापत उनले एक करोड ९२ लाख ७३ हजार ९ सय ८२ रुपैयाँ ३१ पैसा तिरेको देखिन्छ । आयोगका अनुसार भट्टराईले विभिन्न १९ संस्थाका तीन लाख ६७ हजार ७ सय रुपैयाँ बराबरको शेयर खरिद गरेको सम्पत्ति विवरणमा देखिन्छ । पैतृक सम्पत्तिबापत उनले आफूसँग सुन ४० तोला र चाँदी १२० तोला रहेको खुलाएका छन् । 

  • यस्तो छ भट्टराईले अनुसन्धान अधिकृतलाई दिएको बयान

म मिति २०५४ साउन २६ गते जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा ना.सु. पदमा नियुक्ति पाएको हुँ। म तथा मेरो परिवार बिच मिति २०६७ चैत २८ मा मालपोत कार्यालय डिल्लीबजारबाट अंश बापत रु.२६ लाख र साढे दुई रोपनी जग्गा लिएको हो भने भाइसँग मिति २०७४ साल फागुनमा मानो छुट्टिएको हो। मैले विभिन्न कार्यालयमा बस्दा पाएको दैनिक भ्रमण भत्ता, पोसाक भत्ता, प्रशिक्षण भत्ता, बैठक भत्ता र अन्य भत्ता प्राप्त गरेको छु। मेरो पहिलो विवाह आ.व. २०५७ /५८ मा भएको हो र उक्त विवाह सफल हुन सकेन ।

त्यसपछि २०७३ सालमा दोस्रो विवाह भएको थियो। मेरो श्रीमती झुना कुमारी कठेतको नाममा निजको बुवाले जिल्ला उदयपुर तपेश्वरी भागलपुरमा ०–३–०–० क्षेत्रफलको जग्गा बकस गरी दिनु भएको छ, सो को कागजात मैले यस अघि नै पेस गरेको छु । मेरो दुई छोरी र एक छोरा छन्। मेरो तथा मेरो श्रीमतीको नाममा भएका जग्गाहरू तथा घरको विवरण यस अघि पेस गरेकै सम्पत्ति विवरणमा भएका विवरणहरू हुन। हालसम्म मैले ११ ओटा ठाउँको जग्गा किनेको छु भने ९ ठाउँको जग्गा विक्री गरेको छु। सरकारी सेवामा प्रवेश गर्नु अघि पैतृक सम्पत्ति नै थियो त्यस पश्चात् कर्मचारी सञ्चय कोषको घर सापटी/ विशेष सापटी तथा मेरो पारिश्रमिकबाट कोटेश्वरमा २०७८ सालमा १ तले घर खरिद गरेको हुँ।

त्यसपछि कर्मचारी सञ्चय कोषको ऋण कम भएकोले उक्त घर सानिमा बैंकमा राखी ६० लाख ऋण लिई केही पैसा बचेकोले दमक झापामा विभिन्न कि.नं. का ०–४–०–३ धुर जग्गा खरिद गरेको थिएँ। बैंक अफ काठमाडौँ र स्ट्यार्डड चार्टड बैंकको शेयर समेत खरिद गरेको हुँ। पछि आएर तिनै सम्पत्ति बिक्री गरि हाल का.म.न.पा. १० हाल घर (कोटेश्वर) मा ०–१३–०–० जग्गा, लुभुमा ०–४–०–३ जग्गा रहेको। श्रीमतीको नाममा बुवाले पैतृक सम्पत्तिबाट बकस गरिदिएको उदयपुर तपेश्वरी ३ भागलपुर मा ०–३–०–० जग्गा रहेको छ। खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी न.पा. ४ मा ३ रोपनी (अन्दाजी) पैतृक जग्गा रहेको छ। मेरो विभिन्न बैंकमा खाता रहेको छ। आ.व. २०६९/०७० घरमा तला थप गर्दा रु.२४,००,००० खर्च भएको थियो। आ.व. २०७६/०२/१० मा खरिद गरेको एक तले घरमा तला थप गरेको हुँ। मैले उक्त घर जग्गा मैले २०७८/०५/०९ मा ३ करोड ९० लाखमा बेचेको छु।

मेरो परिवारको नाममा कहीँ कतै घर नभएको ब्यहोरा व्यक्त गर्दछु। विवरणमा मागदाबी भए बमोजिम घर बहाल कर लगाउँदा सम्बन्धित निकायमा कर तिरेको छु। का.म.न.पा. वडा नं. ३२ तथा करदाता सेवा कार्यालय कोटेश्वरमा नियमानुसार कर तिरेको कागजात सम्मानित आयोगमा मिसिल संलग्न छ। मैले निजामती सेवामा प्रवेश गरेपछि प्राप्त गरेको तलब भत्ता, चाडपर्व भत्ता, हुलाक कार्यालयमा कार्यरत रहँदा प्रत्येक वर्ष महिनाको तलब बराबरको रकम, यातायात कार्यालय लहानमा प्राप्त गरेको अतिरिक्त भत्ता, कृषि आय, घरभाडा आय, श्रीमतीको विवाहमा प्राप्त टिकाटाला, पिताबाट प्राप्त गरेको नगद, रेमिट्यान्स, बैंक निक्षेप बापत प्राप्त व्याज कर्मचारी सञ्चयकोष, ना.ल. कोष, सानिमा बैंक, गुडवील फाइनान्स, समेतका वित्तीय संस्थाको ऋण, हस्त बहादुर राई र पूर्ण राई लगायत विभिन्न व्यक्तिबाट लिएको कर्जा, घर तथा जग्गा बिक्रीबाट प्राप्त आय शेयर बिक्री, मो.सा. बिक्री आम्दानीका श्रोत हुन आ.व. अनुसारको विवरण सम्मानित आयोगमा पेस गरेको छु। मैले मेरो परिवारको नामामा अध्ययन बाहेक कुनै प्रकारको खर्च र लगानी गरेको छैन। विभिन्न व्यक्तिसँग लिएको ऋण मिसिल संलग्न फाइलमा मिति समेत उल्लेख गरी सम्मानित आयोगमा पेस गरेको छु। हस्त बहादुर राईसँग लिएको रु.३५ लाख रुपैयाँ सम्मानित जिल्ला अदालत सुनसरी इनरुवामा लेनदेन मुद्दा चली २०७९/०४/१७ मा हस्त बहादुर राईको दाबी पुग्ने फैसला समेत भई सकेको छ। त्यसैगरी पूर्ण राईसँग जेठी श्रीमतीलाई अंश दिँदा रु. ७० लाख लिएको रुपैयाँ पनि लेनदेन मुद्दा चली मिति २०७९/०४/१३ को फैसलाले पूर्ण राईको दाबी पुग्ने फैसला भएको ब्यहोरा उल्लेख गर्दछु। साथै अन्य वित्तीय संस्था, साथी भाइसँग लिएको ऋण मिसिल संलग्न फाइलमा समावेश गरेको छु।

विवाह र पैतृक बाहेक कुनै प्रकारको सुनचाँदी खरिद गरेको छैन। मेरो नाममा एउटा स्कुटर छ। उक्त स्कुटर २ लाख ९० हजारमा खरिद गरेको हुँ। प्राय सबै प्राइमरी शेयर खरिद मात्र खरिद गरेको छु। उक्त शेयर खरिद विक्रीको विवरण सम्मानित आयोगमा पेस गरेको छु। मेरो र मेरो घर परिवारको नाममा बीमा गरेका छौँ । उक्त बीमा हामीले आईएमई लाइफ ईन्स्योरेन्स कम्पनीमा गरेका छौँ। बीमाको नाम जिवन बीमा रकम मिति मिसिल संलग्न फाइलमा सम्मानित आयोगमा पेस गरेको छु ।

वासिङ मेशिन १ थान र २४ इन्चको टि.भी बाहेक अन्य इलेक्ट्रिक सामाग्रीहरू खरिद गरेको छैन। जगदीश देवकोटा लहानमा विद्युत् सम्बन्धी काम गर्ने व्यक्ति हुन उनी विश्वासिला भएकोले मेरो पारिश्रमिक यातायात कार्यालय लहानमा प्राप्त गरेको, अतिरिक्त भत्ता कृषि आय, घरभाडा आय, जग्गा बिक्रीबाट प्राप्त रकम तथा विभिन्न व्यक्तिबाट घर व्यवहारमा प्रयोग गर्ने तथा कारोबार गर्न मैले बैंकमा रकम जम्मा गर्न पठाउने व्यक्ति थिए। उनी आर्थिक अनुशासन भएकाले मैले विश्वास गरेको हो। हाल कहाँ के गर्छन् हाल मलाई जानकारी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप