सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘धर्म निरपेक्षता ल्याउनु कांग्रेसको गल्ती हो, अब सच्याउनुपर्छ’

चैतमै कुनै गडबड हुने स्थिति बन्न सक्छ : शंकर भण्डारी
शनिबार, २७ माघ २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्वमा गठन भएको अभियान अहिले पुनर्गठन गरी भण्डारीलाई संयोजक तोकिएको हो

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्र नेपाल स्थापनाको एजेन्डा प्रवेश गराएर महाअभियानको तयारी छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल बनाउन दृढता व्यक्त गरेको छ । यसै सन्दर्भमा संयोजक भण्डारीसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंलाई नेपाली कांग्रेसको नेता भन्ने कि सांसद भन्ने कि धर्म प्रचारक भन्ने ? 

–मलाई धर्म प्रचारकभन्दा पनि धर्म रक्षक भन्दा होला । संसारका हरेक मुलुक आफ्नो स्वधर्मबाट परिभाषित छन्, धार्मिकरूपमा घोषित मुलुकहरू छन् । राष्ट्रिय धर्म भनेको मूल धर्म हुन्छ । राष्ट्रको धर्म हुन्न भन्नेहरूलाई म फेरि एकपटक आग्रह गर्न चाहन्छु, हरेक राष्ट्रको धर्म छ र नेपालको पनि आफ्नो स्वधर्म छ । सबै धर्मप्रतिको सम्मान हामी गर्छौँ । धर्म नागरिकको नैसर्गिक अधिकारको विश्वासभित्रको कुरा हो । यसमा हामी स्पष्ट छौँ । 

नेपालको स्वधर्म वैदिक सनातन हिन्दु धर्म हो । यसको समाप्तिका लागि शताब्दियौँदेखि विभिन्न गतिविधिहरू हुँदै आए, गर्दै आइयो र अहिले पनि गरिराखिएको छ । आज बढो अप्ठ्यारो स्थितिमा पुगिएको छ । नयाँ पुस्ता त झन् देशको धर्मको बारेमा पूर्णतया अनभिज्ञ हुने अवस्था छ ।

यसको मतलब नेपाललाई हिन्दु राष्ट्र भन्नुपर्छ भन्ने तपाईंहरूको महाअभियान हो?

–नेपाल स्वतः वैदिक सनातन हिन्दु राष्ट्र हो । तर अहिले संविधानतः गरिएको व्यवस्थालाई टेकेर देशका सम्पूर्ण आयाम र विशेषताहरूलाई समाप्त पार्ने जुन काम भएको छ, यो मुलुकको लागि घातक विषय भयो भन्ने हाम्रो भनाई हो ।

shankar bhandari

नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने आवश्यकता किन ? सांसद हुन रोकिएको छ कि अभियन्ता हुन रोकिएको छ कि म हिन्दु धर्मावलम्बी हो भन्न रोकिएको छ ? 

–यो मेरो व्यक्तिगत कुरा होइन नि । सांसद पनि भएकै छन्, मन्त्री पनि भएकै छन्, धेरै नेताहरू प्रधानमन्त्री पनि भएकै छन् । आज हामीले राजनीतिक रूपमा सबै कुरा पाएर पनि यो किन भन्न सकिरहेको छैनौँ कि मुलुकमा सबै कुरा ठिकठाक छ, जनता कुनै किसिमको समस्यामा छैनन् । 

सारा नेपालमा जे बेथिति भनिराखिएको छ, राजनीतिक रूपमा होस्, आर्थिक रूपमा होस् वा सामाजिक रूपमा होस्,  यो चाहिँ हिन्दु राष्ट्र नभएकोले बेथिति भएको?

–त्यति मात्र नभनिहालौँ, तर मूल विषय चाहिँ हो । किनभने धर्मले मान्छेलाई नैतिक बाटोमा हिँडाउँछ । हाम्रो समाजमा जबसम्म धर्मप्रति सम्मान थियो, तबसम्म नैतिकता पनि थियो । धर्मविरुद्ध यति धेरै गतिविधि भएका थिएनन् । हाम्रो समाज व्यवस्थित थियो। आर्थिक पक्ष हाम्रो कमजोरी हो, आर्थिक पक्षलाई धर्ममा जोड्ने काम भएको छ अहिले । आर्थिक कमजोरीका कारणले आएका समस्याहरूलाई धर्मसँग जोडेर प्रचार गर्ने काम भएको छ । विश्वमा एक मात्र वैदिक सनातन हिन्दु राष्ट्र नेपाल, विश्वको शिर हो । विश्वको नेतृत्व गर्ने देश हो ।

अहिलेको संविधानले/व्यवस्थाले यी सारा कुरा होइन कहाँ भन्छ त ?

–हो भनेर कहाँ भनेको छ । त्यो त देखाउनको लागि एउटा भ्रम हो । संविधानमा धर्म निरपेक्षताको व्यवस्था गरियो । त्यसैलाई भ्रमित गर्नको लागि सनातन भन्नाले सदियौँदेखि मान्दै आएको धर्म हो भन्न भनिएको छ । नियोजित रूपमा, प्रायोजित रूपमा शताब्दियौँदेखि हाम्रो धर्मविरुद्धमा कामहरू भएका छन् तर कारबाही कसैलाई भएको छैन। अब यसलाई रोक्न जरुरी छ नभए मुलुक हरेक दृष्टिकोणले सङ्कटमा पुग्छ ।

हिन्दु राष्ट्र बनाउँदा हुने फाइदा के हुन्छ?

–सगरमाथाको देश, मानसरोवर, कैलाश भूमि, देवीदेवताको जन्मभूमि, ऋषिमुनिको तपोभूमि, अरबौँ हिन्दुहरूको आस्थाको केन्द्रभूमि हो नेपाल । देशमा बेरोजगारीको कुरा आइरहेको छ, युवाहरू पलायन हुने स्थिति आइसक्यो । पछिल्लो तथ्याङ्क झन् कहालीलाग्दो छ । तर रोजगारीकै सम्बन्धमा राज्यसँग कुनै योजना छैन । यो कुरालाई केलाएर हेर्दा नेपालमा भएका शक्ति पीठमा आधारित, आश्रित नेपालीको सङ्ख्याहरू लाखौँ छन् । यो राज्यले दिएको अवसर होइन । यो हाम्रो शक्तिको आधारमा त्यहाँ आस्था राख्ने आन्तरिक, बाह्य पर्यटकहरूलाई चिया खुवाएर, तरकारी बेचेर, फूलमाला बेचेर, होटेल गरेर पालिने परिवारको सङ्ख्या लाखौँ छन् । त्यसलाई हामीले अन्तर्राष्ट्रियकरण गर्न सक्यौँ भने अरबौँ मानिसहरू नेपाल आउँदा धेरै ठुलो आर्थिक लाभ हुन्छ ।

आज नेपाल धर्म निरपेक्ष भएपछि हिन्दु शक्ति पीठहरूमा दर्शन गर्नेहरूको सङ्ख्या कतै घटेको छैन, बढेरै गएका छन् । धर्म निरपेक्षका नाममा धार्मिक युद्ध गराउन खोज्नु भएको हो ?

–सनातन हिन्दु राज्य हुँदा कुनै पनि धर्मप्रतिको अवरोधको अवस्था थिएन । वेदमा कुनै विभेदको कल्पना नै गरिएको छैन । तर अहिले हिन्दु धर्मविरुद्ध गतिविधि बढ्न थाल्यो । यस्तो अवस्था रहिरह्यो भने भोलि कुनै दिन यो मुलुक अन्य धर्मको नाममा घोषित हुने स्थिति आउँछ । हाम्रो दायित्व हो स्वधर्मको रक्षा गर्नु।

यो अवस्थामा ल्याउने त तपाईंको पार्टी नै हो नि । 

–हामीबाट गल्ती भएको छ । गल्ती भएको छ भनेर नै सच्याउन भनेको त हो । स्वार्थले, अज्ञानताले, दबाबले, जे सुकैले गल्ती भएपनि अब यसलाई सच्याऊ मात्र भनेको हो ।

अब तपाईंले सच्याउने माध्यम के त ?

–बहस । मैले पाएको जानकारीको आधारमा भन्दा चैतमै कुनै गडबड हुने स्थिति बन्न सक्छ । नेताहरू सचेत बन्नुस् भनेको हो ।

व्यवस्था कमजोर भएको भन्दैमा पुराण लाएर त्यो ठिक हुन्छ त ?

–हुन्छ । पुराण लगाउनुको अर्थ के हो भने वैदिक सनातन धर्मको सिद्धान्तलाई अनुसरण हो । देशमा राजनीतिक नैतिकताको विकास मात्रै हैन, अहिले विश्वमा देखिएको प्राकृतिक जोखिमलाई पनि नियन्त्रण गर्ने विधि भनेको वैदिक सनातन धर्मभित्र छ । यसका आयुर्वेदिक सिद्धान्तलाई दैनिक रूपमा अभ्यासमा लाग्नु भयो भने जनता सुरक्षित हुनेछन् । धर्म निरपेक्ष भन्ने शब्द त पछिल्लो समयमा संविधानमा व्यवस्था गर्न सफल भए सनातन विरोधीहरूले । तर त्यसलाई टेकेर दलहरू दिग्भ्रमित भए, भ्रष्ट भए र विश्वका बाह्य शक्तिहरू बढी हाबी हुन थाले। जसले गर्दा हामी एक हुने आधार पनि भएन अब ।

तपाईंको सभापतिले चाहे हुने हो, महासमिति बैठक । बैठक बसिहाल्यो भने नेपाल हिन्दु राष्ट्र हुन्छ भनेर पारित गर्छ? 

–हाम्रो केन्द्रीय समितिमा कुनै बेला सायद म एक्लै थिए होला । अब कांग्रेसले वैदिक सनातन हिन्दु राष्ट्रको विषयलाई एजेन्डाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने अरू पनि साथीहरू हुनुहुन्छ । हाम्रो दुईपटक नै भएको महासमिति बैठकमा वैदिक हिन्दु सनातन राष्ट्र बनाउने भनेर उपस्थित सङ्ख्याको बहुमतले लिखित रूपमा यो कुरा पार्टीमा पेस गर्नुभएको छ । नेतृत्वले यसलाई महत्त्व दिएन । यी सब कुराले कांग्रेस गलत बाटोमा गइरहेको छ भने पुष्टि भएको छ ।

देशको समग्र परिवेश लाई पनि मूल्याङ्कन गरेर देशको समग्र हित र कांग्रेसको जनताप्रतिको विश्वास जित्न यो एजेन्डा आउन दिनुपर्छ । केन्द्रीय समितिले योजना ल्याउनुपर्छ । हाम्रो समर्थन बिना कुनै पनि एजेन्डा महासमितिमा पेस हुँदैन । अहिलेको अवस्थामा कुनै पनि केन्द्रीय समितिबाट महासमितिको लागि प्रस्तावित एजेन्डाहरू सर्वसम्मत रूपमा पेस हुनु जरुरी छ । हाम्रो कुरा समावेश नभई ल्याएका कुनै पनि एजेन्डाहरू सर्वसम्मत हुँदैन । केन्द्रीय समितिबाट लैजान सभापति सफल हुनुभएन भने यो एजेन्डा फ्लोरबाट आउँछ ।

shankar-bhandari 2

अबको महासमितिको बैठकले विधान नै परिवर्तन गरेर नेपाल हिन्दु राष्ट्र हुन्छ भन्ने लेख्छ हैन?

–पार्टीको मूल एजेन्डा हो, लेख्नुपर्छ । हामीले लेख्छौँ भन्ने विश्वास छ । त्यसको अलावा पार्टीको विधिवत् व्यवस्था पनि सुधार गर्नुपर्ने छ । मानिसहरू के भन्छन् भने, अब संविधान विपरीत कुरा गर्ने तर सांसद भइरहने । पार्टी विधानविपरीत कुरा गर्ने अथवा अभियान नै चलाएर हिँड्ने अनि पार्टी को नेता भइरहने । उहाँलाई त कारबाही गर्नुपर्छ भन्छन् त ।

–कसले भन्यो ? यो संविधान जारी गर्दा के भनेर जारी गरिएको छ भने ‘यो संविधान सम्झौता को दस्ताबेज हो’ । कतिपय विषयहरू संशोधन गरिएको छ । जसको तागत छ कारबाही गरे हुन्छ नि त । 

यो लोकतन्त्र मा राजनीतिको सहारा भनेको जनता हुन् भन्छन् । तपाईंले धर्मको सहारा लिनुभयो । आफ्नो राजनीतिक भविष्य कमजोर बन्दै गएपछि शंकर भण्डारीले धर्मको सहायता लिन थाल्यो भन्छन् त । 

–म जातिको सफल नेपालमा कतिजना होलान् ? जसले आजसम्म यो ठाउँमा आउँदा कसैको नुनपानी खाएको छैन । विदेशको नुनपानी खाएर हुर्केकाहरूले भन्न सुहाउँछ ? तागत छ? म तीन पटक चुनाव लडेर दुई पटक जितेर आएको छु । मेरो राजनीति कहाँ सङ्कटमा हुन्थ्यो। जनताले मलाई विश्वास गर्नुभएको छ, साथ दिनुभएको छ । जसले आजसम्म कुनै दबाबमा नपरी कसैको प्रभावमा नपरी यो ठाउँमा आएको छ, मेरो राजनीति सङ्कटमा हुन्छ? मभन्दा माथि कांग्रेस र त्योभन्दा माथि नेपाल । त्यसकै लागि मैले यो गरेको।

तपाई आफै संलग्न रहेको दल सबैभन्दा ठुलो दल छ । तर तपाईं सडकबाट माग गरिरहनु भएको छ । 

–कहाँ सडकबाट छ र । कांग्रेसभन्दा माथिको विषय हो यो त । नेपाल भन्ने शब्द जसले आफ्नो परिचयमा जोड्छ त्यसले सोच्नु पर्‍यो, पार्टीभन्दा माथि जानु पर्‍यो ।

यो बेला व्यवस्था माथि सबैभन्दा बढी प्रहार भएको छ । व्यवस्थाभन्दा पनि शासनशालीकै कारण जनतामा वितृष्णा बढ्यो, र भोलि यो व्यवस्था नै परिवर्तन हुने हो कि भन्नेसम्म बहस सुरु भएको छ । तपाईंको के छ धारणा ? गठबन्धन नै जानुपर्छ भन्ने छ ?

–गठबन्धनको प्रत्यक्ष वकालत गर्ने मान्छे म हुँ । तर सरकारको कार्यशैली प्रति असन्तुष्टि बढेको छ । स्वयम् प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ । सरकारले चाहेर पनि सबै कुरा हुन्छ भन्ने अवस्था नहोला तर पनि कम्तीमा पनि सरकारले कोसिस गरेको छ भन्ने त हुनुपर्‍यो नि । त्यो देखिएको छैन । आन्तरिक र बाह्य विश्वास घट्दो छ।

तपाईंहरूको सरकारसँग असन्तुष्टि चाहिँ भ्रष्टाचारको फाइल खोल्यो भन्ने कि तपाईंहरूको पार्टीको कोही समातिनु भन्ने हुन्छ । तपाईंहरूको गुनासो गृहमन्त्रीसँग होला हैन धेरै? 

–बाहिर प्रचार एक ढङ्गले भएको होला । सरकारले गरेको हरेक कामको कांग्रेसले समर्थन गरेको छ । सरकारले गरेको कुनै पनि काममा कांग्रेसले असहयोग गरेको भन्ने गलत कुरा हो ।

तपाईं गठबन्धनको पक्षमा हुनुहुन्छ? 

–म गठबन्धनको पक्षमा छु । जे जाति कारणले गठबन्धन बनेको छ यो ५ वर्ष चल्नुपर्छ । जनतालाई केही न केही राहतको अनुभूति हुने किसिमको वातावरण बन्नैपर्छ भन्ने कुरामा अहिले पनि दृढ छु ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना छ कि छैन? 

–प्रस्ट भन्नु पर्दा कसलाई मिलाउने कसलाई नमिलाउने भन्ने सबै बाहिरी शक्तिको देन हो । आफ्नो स्वधर्ममा लागेपछि मान्छे नैतिकवान् बन्छ । त्यसकरण हाम्रो वैदिक सनातन धर्म रक्षा गर्न आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया