सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अबिच्युरी

वरिष्ठ चित्रकार हेम पौडेल अब हामीबिच रहेनन्

शनिबार, २७ माघ २०८०, १८ : ५७
शनिबार, २७ माघ २०८०

यही माघ १७ गते ८३ वर्षीय वरिष्ठ कलाकार हेम पौडेल अस्ताए । जलरंगी पारदर्शी दृश्यचित्रमा प्रखर उनी आफ्नो जीवनमा चराको कला बनाउन बढी संलग्न रहे । चराको अति सुन्दर चित्र बनाउने चित्रकारका रूपमा उनको परिचय स्थापित छ । उनी कवि पनि थिए । २०६२ सालमै उनको ‘शान्तिको आलोक’ नामक कविता सङ्ग्रह प्रकाशित छ ।

कम बोल्ने र सिधासाधा उनी सजिलो खालका मान्छे थिए । केही वर्षदेखि कडा रोग (किड्नी र मुटुरोग)ले ग्रस्त हुन थालेपछि उनको सक्रियता घट्दै गएको थियो । रोगकै कारण उनले पछिल्लोकालमा हामी कसैलाई पनि चिन्दैनथे— बोल्न र सम्झन सक्तैनथे, नबुझिने लबजमा निकै कम बोल्थे । 

आज म उनीबारे दुई–चारवटा घटना सम्झन्छु । एक वर्षअगाडि होला भाउजू (उनकी श्रीमती) साहित्यकार गंगा कर्माचार्य ‘पौडेल’सँग भेट भएको थियो । हामी सर्वनाममा नाटक हेरेर घर फर्कने क्रममा भेट भएका थियौँ । सर्वनाम नाटकघरबाट माथि बाटोसम्म सिँढी उक्लन जो–कोही उमेर पुगेकालाई सहज हुँदैन । खुट्टाको समस्या भएका कारण भाउजूलाई वैशाखीको सहारा चाहिन्छ । त्यसबेला मैले नै हात समाती–समाती उहाँलाई मूल बाटोसम्म ल्याएको थिएँ, उहाँकै गाडीमा म घरसम्म आइपुगेँ । त्यहीबेला अचानक भावुक भएर भाउजूले भन्नुभयो, ‘बाबु ! उहाँको बारेमा पुस्तक लेखेर ठूलै गुण लगाउनुभयो । अहिले त उहाँ बोल्न पनि हुन्न, आफ्ना कुरा सम्झन र भन्न पनि सक्नुहुन्न । तपाईंले सोधेर, कुराकानी गरेर जति पनि कुराहरू उहाँबाट निकालेर यो पुस्तकमा राखिदिनुभयो, यो अहिले कसरी सम्भव हुन्थ्यो होला र ?’ म पनि त्यसबखत निकै नै भावुक भएको थिएँ । 

मैले हेम पौडेलका बारेमा लेखेको ‘हेम पौडेलको अविरल कलायात्रा’ नामक एउटा सानो पुस्तक २०६८ मा प्रकाशित भएको थियो । अचानक मलाई त्यसैबखत पुनः एकपल्ट उनलाई भेट्न मन लागेको थियो । अनुकूलता खोज्दै थिएँ, भेट हुन सकेन । अचानक उनको निधनको खबर सुन्नुपर्दा साँच्चै म मर्माहत भएको छु । आज यो विषयमा लेख्नुपर्दा थोरै मेरो हात कामेको जस्तो पनि भएको छ । 

पछिल्लो कालमा आएर उनी चरा कलाकारको रूपमा प्रख्यात भएका थिए । चराबाहेक पनि उनले धेरै प्रकारका चित्र बनाए । २०६३ मा उनले बनाएको कलाकार लैनसिंह बाङ्देलको अनौठो अभिव्यञ्जनामूलक व्यक्तिचित्र हेर्दा उनले कसरी आफ्नोपनलाई स्थापित गरेका छन् भन्ने स्पष्ट अनुभव गर्न सकिन्छ । २०६४ सालतिर काठमाडौँमा ‘वातावरण र चराहरू’ नामक उनको एकल कला प्रदर्शनीको कार्यक्रममा मैले केही कुरा बोल्न पाएको थिएँ । 

DSC06039 (1)

उनले जीवनमा १४ वटा एकल कला प्रदर्शनी गरे । पछिल्लो कालमा आएर उनी मात्र चराका चित्र बनाउने होइन कि वातावरण विज्ञसँग पनि नजिक रहेर काम गर्न थालेका थिए । यसरी काम गर्दा उनले सुन्दर काल्पनिक प्रकृति बनाइसकेपछि क्यानभासमा चरा पात्रलाई घुसाउने गर्थे । जँचेको जस्तो पनि, मिलेको जस्तो पनि भएर उनका यस प्रकारका चित्रहरू एक तमासका देखिन्थे । यही नै उनको आफ्नो परिचय बन्न गएको थियो । प्रकृतिमै गएर दृश्य नियालेर बनाएको भए पनि उनका चित्रमा कल्पना समेत बगेका देखिन्छन् । स–साना बुट्टाहरूले सिँगारिदिने, यथार्थ र कल्पनालाई एकै ठाउँमा गाँसिदिने हुँदा उनका चित्रहरूमा अलौकिक संसार निर्माण भएजस्तो देखिन्थ्यो । उनी यथार्थवादी कलाकारजस्तो हुँदाहँुदै पनि भावनामा बग्न पुग्थे । स्वैरकाल्पनिकता यथेष्ट रूपमा रहनु, कतै निश्चित ठाउँकै दृश्यचित्र पनि देखिनु, निश्चित नामसहितकोे चराकै चित्र पनि बनाउनु आदिले उनको विशिष्ट कलागत शैली र स्वभाव स्थापित भएको थियो ।    

त्यतिबेला उनी काठमाडौँदेखि सानो साइकल लिएर कैयौँ दिन लगाएर विराटनगर पुगेका थिए । यसरी हिँड्दा बाटोमा रोकिएर उनले प्रकृतिलाई नियाल्दै चित्र बनाए । विराटनगरमा चित्र प्रदर्शन गरिसकेपछि उनी दार्जिलिङसम्म साइकलमा गएका थिए— बाटोमा रोकिएर कलाहरू पोत्दै र ठाउँ–ठाउँमै कला प्रदर्शनी पनि गर्दै ।

मूलतः राम्रो शिल्पदक्षता भएकाले उनले जेको चित्र बनाए पनि त्यो सुन्दर देखिन्थ्यो । उनको कलाको सीप देखेरै उनलाई विदेशीले काम दिएका थिए । उनले धेरै ठाउँमा काम गरे । व्यावसायिक कलाकारका रूपमा पनि उनी निकै समय संलग्न भए । जहाँसम्म चराको चित्रको कुरा छ, नेपालमा चराको आधुनिक (सुपर रियालिटिस्क) रूपलाई उनी र कलाकार हिरालाल डंगोल मिलेर शुभारम्भ गरेको मान्नुपर्छ ।  कलाकार हिरालाल डंगोल पनि मैलै नजिकबाट चिनेका कलाकारमध्ये एक थिए । उनी केही वर्षअगाडि मात्र यो संसारबाट बिदा भइसकेका छन् । 

हेम दृश्यचित्रमा अति नै माहिर कलाकार थिए । प्रकृतिमा घुम्दै र हराउँदै चित्र बनाउँदा कैयौँ दिन कैयौँ रात कहाँ बसेँ, कहाँ सुतेँ भन्ने उनैलाई हेक्का हँुदैनथ्यो । प्रकृतिका मनमोहक दृश्यलाई उनले जस्ताको तस्तै क्यानभासमा सजाउँथे । उनले जहाँ बसेर चित्र बनाएका हुन्थे, कति चित्र सकिँदाबित्तिकै त्यहीँबाटै बिक्री हुन्थ्यो । बाँकी रहेका चित्रलाई उनले अनुकूल मिलाएर प्रदर्शनीमा राख्थे । यस मानेमा उनी घरमा कम बस्थे, बाहिर बढी हिँड्थे । हिँडिरहँदा कतै न कतैको चित्र कोरिरहेकै हुन्थे । पछिल्लोकालमा आएर यो उनको स्वभाव अझ विकसित भएको थियो । यो अचम्मको स्वभावले गर्दा त्यसबेला दृश्यचित्र बनाउने थुप्रै कलाकारबिच उनको एक अलग्ग पहिचान बनेको थियो । 

कसैको कुरा नकाट्ने, कसैलाई गालीगलौज नगर्ने सरल स्वभावका उनलाई कला जगत्का धेरैले मान–सम्मान र आदर गर्थे । कलाकारलाई प्रोत्साहन गर्ने हेतुले उनले ‘नेपाल कमिर्र्सियल आर्टिस्ट संघ’को अक्षयकोषमा निश्चित रकम राखेर बर्सेनि कलाकारलाई पुरस्कार दिने व्यवस्था गरेका थिए । २०६५ सालमै ‘हेम–गंगा युवा कला प्रतिभा पुरकार’, अलिपछि ‘हेम–गंगा अपाङ्ग प्रतिभा पुरस्कार’ आदि पुरस्कार उनले स्थापना गरेका छन् । 

जहाँ पायो, त्यहीँ कला प्रदर्शनी गर्ने सन्दर्भमा यिनले एकपल्ट विराटनगरमा एकल कला प्रदर्शनी गरेका थिए । त्यतिबेला आजको जस्तो कला प्रदर्शनी गर्ने चलन थिएन, मेला भने खुब हुने गर्दथ्यो । एउटा मेलामा कपडाले चारैतिर घेरेको सानो प्रदर्शन कक्षमा उनले कला प्रदर्शनी गरेका थिए । उनलाई मैले पहिलोपल्ट त्यहीँ भेटेको हुँ । ०३०–३१ सालतिरको कुरा हो, त्यतिबेला म विराटनगरमै बस्थेँ । संयोगवश म उनको एकल कला प्रदर्शनीमा पुगेँ । पारदर्शी जलरङको प्रभाववादी चित्रहरूको प्रदर्शन भइरहेको रहेछ । मैले यस्ता चित्र पहिलोपल्ट देखेको थिएँ । उनीबाटै मैले जलरंगी चित्रबारे सिक्ने–बुझ्ने मौका पाएँ । त्यतिबेलै उनी मेरा लागि पे्ररणाको स्रोत बनेका थिए, यस नाताले पनि उनको देहावसानमा मैले अलि बढी पीडा महसुस गरेको छ ।

उनको एकल प्रदर्शनीपछि विराटनगर र धरानतिर यस्ता दृश्यचित्र गर्ने एक प्रकारको लहडै चल्यो । कलाकारबिच भेटघाट, अन्तक्र्रियाले गर्दा कलामय माहोल सिर्जना भएको थियो । यसको मूल श्रेय उनैलाई जान्छ । पछि उनी दार्जिलिङ, भोजपुर वा यस भेगका अरु धेरै ठाउँमा गए । सबैतिर उनले जलरंगी दृश्यचित्रको प्रचार–प्रसार गरेका थिए । यसरी कलालाई गाउँघरको कुना–काप्चामा कुनै अन्य कलाकारले पुर्‍याएको मलाई जानकारी छैन । 

त्यतिबेला उनी काठमाडौँदेखि सानो साइकल लिएर कैयौँ दिन लगाएर विराटनगर पुगेका थिए । यसरी हिँड्दा बाटोमा रोकिएर उनले प्रकृतिलाई नियाल्दै चित्र बनाए । विराटनगरमा चित्र प्रदर्शन गरिसकेपछि उनी दार्जिलिङसम्म साइकलमा गएका थिए— बाटोमा रोकिएर कलाहरू पोत्दै र ठाउँ–ठाउँमै कला प्रदर्शनी पनि गर्दै । उनले दार्जिलिङमा समेत कलाको प्रदर्शन गरेका थिए । यी सबै कुरा उनको पुस्तकमा समेट्न मैले सकेको छैन । आफू कहाँ कहाँ पुगेँ र चित्र प्रदर्शनी गरेँ भन्ने उनी आफैँले पनि बिर्सेका थिए, ठ्याक्कै सालमिति र स्थान भन्न सक्तैनथे । कला र कलाकारबारे कुनै संस्था वा निकायले अभिलेखन गर्ने चलन त्यतिबेला थिएन ।

पछि उनले भोजपुरमा र पोखरामा पनि कला प्रदर्शनी गरे । देशभरि घुमेर चित्र बनाउने र आम भावकमाझ त्यसलाई प्रदर्शन गर्ने निकै कम कलाकारमध्ये उनी पर्छन् । गाउँघर घुमेर आममान्छेको दैनिकी महसुस गरी यसैबारे चित्रहरू बनाउनु उनको स्वभाव जस्तो बनेको थियो । उनी घुमन्ते कलाकार थिए । कलाप्रतिको उनको लगाव, श्रद्धा आदिदेखि म नतमस्तक बनेको थिएँ ।

पुस्तक लेख्ने क्रममा उनले मलाई धेरै प्रसंग सुनाएका थिए । चराको चित्र कोर्दा के कस्ता उपाय गर्नुपर्‍यो भनेर उनले अनेक वास्तविक कथा भन्ने गर्थे । सबै त पुस्तकमा के राख्न सकिन्थ्यो, यसका केही भागचाहिँ मैले पुस्तकमा समेटेको छु । 

चराको चित्र कोर्ने कलाकार र चराको चित्रको इतिहास खोज्दा उनीसम्म पुग्नैपर्ने हुन्छ । नेपालमा चराको चित्र बनाउने कुरा नयाँ होइन, सन् १८३० ताका नै त्यस बेलाका कलाकार राजमान चित्रकारले पुस्तककै लागि पश्चिमी शैलीमा यस्ता चराका चित्र बनाएका थिए । तथापि हेमले बनाएका चराका चित्रचाहिँ अझ यथार्थ, दुरस्त अनि चराको पहिचान झल्कने खालका छन् । यसले चराकै चित्रको इतिहासमा नौलो आयाम थपेको छ । 

चराहरूकै खोजी गर्न नेपाल आएका रबर्ट फ्लेमिङका बाबुछोरा तराई, पहाड र हिमाल जाने गर्दथे । त्यतिबेला हेमहरू पनि उनीहरूसँगै जान्थे । रबर्टका बाबुछोराले चराहरूलाई एक किसिमले सुसेली हालेर बोलाउँथे । बेहोस हुने बन्दुकको गोलीले चरा झार्थे । तिनै चराको हेमहरूले चित्र बनाउँथे र पछि चरालाई उडाइदिन्थे ।

एउटा सानो वास्तविक कथा उनी भन्ने गर्दथे । उनी एकपटक चागुँनारायणको चित्र बनाउन गएका थिए । चित्र गर्दागर्दै रात परेछ । साइकल डोर्‍याउँदै तल झर्दा अँध्यारो भएकाले बाटो भुलेछन् । अचानक अगाडि ठुलो हवाईजहाज देख्दा पो एयरपोर्ट आइपुगेको थाहा भएछ । तत्कालीन राजा (महेन्द्र)को विशेष जहाजलाई चारैतिर सैनिकले घेरेर बसेका थिए । ‘हामीलाई केरकार मात्र होइन, लछारपछार गर्दै कुनामा थचारेको याद छ,’ उनले भनेका थिए, ‘पछि चित्र देखाउँदै अनेक बिन्तीभाउ गरेपछि छाडिदिए । त्यतिबेला आधा रातमा घर पुगेका थियौँ ।’

रबर्ट फ्लेमिङ सिनिअर र रबर्ट फ्लेमिङ जुनिअर ‘बर्डस अफ नेपाल’ पुस्तक लेख्न नेपाल आएका थिए । त्यस पुस्तकका लागि चराको चित्र कोर्ने अवसर हेम र हिरालाल डंगोलले पाए । यो अवसर कलाकार लैनसिंह बाङदेलले जुराइदिएका थिए । यो २०२८ सालतिरको कुरा होला । हेम रमाइला प्रसङ्ग सुनाउने गर्दथे । ‘हामीलाई चराको डमी बनाएर दिन्थे, त्यसलाई हेरीहेरी चराको चित्र बनाउनुपथ्र्यो । चराको शरीरबाट भित्रभित्रको मासु लगायत निकालेर त्यसमा भुस भरेर पुनः चराकै रूप तयार गर्ने काम उनीहरू (पुस्तकका लेखक) स्वयंले गर्दथे,’ हेमले सुनाएका थिए, ‘यस्तो डमी चराको हरेक खास विशेषता, लम्बाइ–चौडाइदेखि रङ आदि सबै दुरस्त बनाउनुपथ्र्यो । नमिल्दासम्म घरीघरी बनाउनुपर्दथ्यो ।’ 

चराहरूकै खोजी गर्न नेपाल आएका रबर्ट फ्लेमिङका बाबुछोरा तराई, पहाड र हिमाल जाने गर्दथे । त्यतिबेला हेमहरू पनि उनीहरूसँगै जान्थे । हिमालतिर पाल टाँगेर जाडोमा कठ्याङ्ग्रिँदै उनीहरूले चित्र कोरेका थिए । जंगलमा बस्नुपर्दा जंगली जनावरको डर हुन्थ्यो । रबर्टका बाबुछोराले चराहरूलाई एक किसिमले सुसेली हालेर बोलाउँथे । बेहोस हुने बन्दुकको गोलीले चरा झार्थे । तिनै चराको हेमहरूले चित्र बनाउँथे र पछि चरालाई उडाइदिन्थे ।

चित्रकारितासँग जोडिएका यी र यस्ता अनेक कथा लेखिन बाँकी नै थियो । बाँकी अर्कोपल्ट गरौँला भन्दाभन्दै अर्कोपल्ट फेरि कहिले आएन । हामीकहाँ कलाको अभिलेखन नहुँदा कलाकार र कलासँग सम्बन्धित घटना र प्रसंगहरू हराएर जाँदा रहेछन् । अहिले यतिखेर श्रद्धाञ्जली भन्नु भन्दा केही गर्न सकिँदैन । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप