शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निराशा र कुण्ठाले पार्टी बन्दैन : ओम शर्मा

पार्टी बनाउने हो भने प्रवासबाट सुरु गर्नुपर्छ
आइतबार, २८ माघ २०८०, २२ : ०१
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले पार्टी बनाउने हो भने प्रवासबाट सुरु गर्नुपर्ने बताएका छन् । उनले निराशा र कुण्ठाले पार्टी बन्न नसक्ने ठोकुवा पनि गरे । 

आइतबारदेखि राजधानीको प्रदर्शनीमार्गमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले प्रवासमा माओवादी पार्टीप्रति आस्था राख्ने लाखौँ मजदुर रहेको उल्लेख गर्दै उनीहरूलाई संगठित गर्दै पार्टी प्रवासबाट बनाउन सकिने धारणा राखे । 

‘प्रवासमा रहेका जो लाखौँ मजदुरहरू रहेका छन् । उनीहरूलाई संगठित गर्न सक्ने हो भने हाम्रो पार्टीलाई कसैले हल्लाउन सक्दैन’, उनले भने, ‘निराशा र कुण्ठाले पार्टी बन्दैन।  घुम्ने खाने र  रमाउने मात्रै गरे पार्टी सकिन्छ । यदि  पार्टी बनाउने हो भने प्रवासबाट सुरु गर्नुपर्छ ।’

उनले पार्टी बिग्रिरहेको बेला चार महिने अभियान  रिचार्ज हुनसक्ने धारणा राख्दै प्रवास कमिटीले विदेशमा अभियानका साथसाथै ७ हजार सदस्य समेत बनाएको जानकारी दिए ।  उनले विदेशका ४२ देशका माओवादीको संगठन रहेको जानकारी दिँदै  व्यवस्थित ढंगले कमिटी चलाइरहेको जानकारी दिए ।  

पार्टीमा केही समस्या रहेको उल्लेख गर्दै कूटनीति केही नजान्नेहरूलाई राजदूत बनाइएकाले उनीहरूलाई फिर्ता बोलाउनुपर्ने समेत शर्माले धारणा राखे । ‘राजदूत बनाउँदा केही नजान्ने ठग र पैसा बुझाएर विभिन्न पार्टीका जो राजदूत बनाइएको सुनिन्छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षले अनुसन्धान गरेर सबैलाई फिर्ता बोलाउनुपर्छ’, उनले भने । चलखेलबाट यसअघि राजदूत बनेकाहरुले देश, जनता र श्रमिकको पक्षमा काम गर्न नसकेको उनले दाबी गरे । 

उनले प्रचण्डलाई यसअघिका प्रधानमन्त्रीहरुले जस्तो औसत काम गर्न छुट नभएको भन्दै नतिजा निकाल्ने गरी लाग्न पार्टी पनि एक ढिक्का हुनुपर्ने बताए । उनले पार्टी महासचिवको विदेश भ्रमण रोक्न आफूले भूमिका खेलेको भनेर भ्रम फैलाउने काम भएको भन्दै बैठकमा खण्डन पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप