आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
कृषि उपज

पशुपालन र तरकारी खेतीमा अब्बल बन्दै ललितपुरको महाङ्काल गाउँपालिका

उपत्यकामा दैनिक २५ हजार लिटर दुध आपूर्ति
मङ्गलबार, ०१ फागुन २०८०, ०६ : ०९
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा ललितपुरको महाङ्काल गाउँपालिकाबाट दैनिक करिब २५ हजार लिटर दुध आपूर्ति हुन्छ । उपत्यकाबाट करिब ३५ किलोमिटर दुरीमा रहेको यो गाउँपालिकामा करिब एक हजारदेखि एक हजार पाँच सय कृषकले गाई तथा भैंसी पालन गरेको गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विनोद चौलागाईंले बताए ।

‘पालिकाभर ४० देखि ५० वटा दुध सङ्कलन केन्द्र छन्,’ उनले भने, ‘ती केन्द्रले दैनिक रुपमा दुध सङ्कलन गरी दुध सहकारी संघ र केही निजी कम्पनीमार्फत उपत्यकासम्म दुध पु\याएका छन् ।’

गाउँपालिकामा दुधमात्रै नभएर अर्ग्यानिक तरकारी खेतीसमेत हुने गरेको छ । बाह्रैमास सो गाउँपालिकाबाट दैनिक रुपमा करिब ५ ट्रक र सिजनमा दैनिक १५ ट्रक तरकारी उपत्यकामा पठाउने गरेको चौलागाईंले सुनाए । उनले भने, ‘यहाँ उत्पादन हुने तरकारी अर्ग्यानिक खेती गरिन्छ, युरिया, विषादी प्रयोग गर्न पाइँदैन ।’

दैनिक रुपमा दुई सय किलो तरकारी आफूले उत्पादन गरेको स्थानीय किसान निर्मला सापकोटाले बताइन् । ‘करिब २० रोपनी जग्गामा तरकारी खेती गरेका छौँ,’ उनले भनिन्, ‘सो क्षेत्रफलबाट दैनिक दुई सय किलो तरकारी उत्पादन हुन्छ, सिजनमा यो परिमाण पाँच सय किलोसम्म पुग्छ ।’

उनले दुई गाई र दुई भैंसी पनि पालेको सुनाइन् । ‘खेतको लागि आवश्यक पर्ने मल, बिउ र सिँचाइका लागि खासै समस्या छैन,’ उनले भनिन्, ‘तर उत्पादन भएका तरकारी बजारसम्म पु/\याउन बाटोको समस्या छ ।’

kishan

गाउँपालिकमा उत्पादित तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा पु्याउने गरेको गाउँपालिका अध्यक्ष गणेश केसीले सुनाए । यद्यपि किसानले तरकारीको उचित भाउ पाउन नसकेको उनको भनाइ छ । ‘कालीमाटी बजारमा हाम्रो तरकारी जान्छ, तर तरकारीको मूल्य घट्दा यहाँबाट पनि मूल्य घटाएर लैजानु हुन्छ,’ उनले भने, ‘तरकारीको मूल्य बढ्दा भने व्यवसायीले पुरानै मूल्यमा खरिद गर्नुहुन्छ ।’

पालिका अध्यक्ष केसीले हाल मौसमी तरकारी उत्पादन भइरहेको जनाए । उनले आगामी दिनमा किसानलाई व्यावसायिक तरकारी उत्पादन गर्न प्रोत्साहन गर्ने सुनाए ।

महाङ्काल गाउँपालिकाबाट उपत्यकासम्म कृषि उपज पुर्याउनका लागि मुख्य समस्या बाटो रहेको स्थानीयवासीको भनाइ छ । कच्ची बाटो भएकाले वर्षा सिजनमा समस्या हुने वडा अध्यक्ष चौलागाईंले उल्लेख गरे । ‘यहाँको उत्पादन बजारसम्म पुर्याउन मुख्य गरी बाटोको समस्या छ,’ उनले भने, ‘बर्खायाममा बाटो भत्किन्छ, बाटो भत्किने बित्तिकै उत्पादित दुध, तरकारी बजारसम्म लैजान समस्या हुन्छ ।’

goat buffalo

गाउँपालिकामा कृषि प्राविधिकको कमी भएको चौलागाईंले बताए । ‘किसानमा प्राविधिक ज्ञानको पनि कमी छ, अर्ग्यानिक खेतीतर्फ विकर्षित हुन थालेका छन्,’ उनले भने, ‘यस्तो समस्यालाई कम गर्न तालिमको खाँचो देखिन्छ ।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा दैनिक रुपमा करिब ७ लाख किलो तरकारी आपूर्ति हुन्छ ।

महाङ्काल गाउँपालिकालाई अर्ग्यानिक खेती क्षेत्र घोषणा गर्न आग्रह

महाङ्काल गाउँपालिकामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्न मिल्ने उपयुक्त हावापानी छ । सोही अनुसार अर्ग्यानिक तरकारी उत्पादन गर्न सक्ने दाबी गर्दै गाउँपालिका अध्यक्षले गाउँपालिकालाई अर्ग्यानिक खेती क्षेत्र घोषणा गर्न केन्द्र सरकारसँग आग्रह गरेका छन् । ‘यहाँ तरकारी उत्पादनका लागि उपयुक्त हावापानी छ,’ उनले भने, ‘अर्ग्यानिक तरकारी उत्पादन गर्न सकिन्छ, यस क्षेत्रलाई अर्ग्यानिक खेती क्षेत्र घोषणाका लागि पहल गर्न अनुरोध छ ।’

cow2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप