इराकमा पहिलोपटक नेपाल सरकारको उपस्थिति

काठमाडौं । इराकमा कार्यरत रही राहदानीको म्याद सकिएर समस्यामा परेका ५ सय ४८ जनाको राहदानी नवीकरण गरिएको छ । नेपाली दूतावास कुवेतको आयोजनामा पहिलोपटक इराकमा रहेका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न गरिएको हो ।
सो शिविरमा इराकको अर्बिल र सुलेमानिया क्षेत्रमा रहेका ५ सय ४८ जना सेवाग्राहीले विद्युतीय राहदानी नवीकरण सेवा लिएको नेपाली दूतावास कुवेतले जनाएको छ । सो शिविरमा समस्यामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमतिपत्रसमेत निःशुल्क रूपमा जारी गरिएको थियो ।
शिविर सञ्चालनका लागि गैरआवासीय नेपाली संघ, इराकका पदाधिकारीहरूले समन्वय गरेका थिए भने शिविरमा नेपाली दूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी र तृतीय सचिव रेवन्तबहादुर केसीको सहभागिता रहेको थियो ।
इराकमा रहेका नेपाली सेवाग्राहीको राहदानी नवीकरणको सहजताका लागि सम्पर्क व्यक्तिका रूपमा एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले समन्वय गरेका थिए । यसअघि राजधानीले नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावासससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी नवीकरण नहुँदा समस्यामा परेको समाचार प्रकाशित गरेको थियो ।
सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका जनाइएको छ । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।
रोजगारीका लागि इराक पुगेका १२ जनाको २०६१ भदौमा हत्या भएलगत्तै सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । १२ साउन २०६७ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले इराक प्रतिबन्ध फुकुवा गरे पनि केही समयपछि प्रतिबन्ध कायम गरिएको थियो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू