मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एक सय टेस्ट खेल्ने इङ्गल्यान्डका १६औँ क्रिकेटर बन्दैछन् कप्तान बेन स्टोक्स

बुधबार, ०२ फागुन २०८०, १० : १७
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । इङ्गल्यान्डको क्रिकेट टोलीको कप्तान आफ्नो खेल जीवनको एक सयौँ टेस्ट खेल्ने तयारीमा छन् । भारत र इङ्गल्यान्डबिच बिहीबार राजकोटमा सुरु हुने टेस्ट ३२ वर्षीय स्टोक्सका लागि एक सयौँ टेस्ट हुनेछ ।

भारतविरुद्धको तेस्रो टेस्टको पूर्वसन्ध्यामा स्टोक्सले एक सयौँ टेस्ट आफ्ना लागि केवल एउटा नम्बर भएको टिप्पणी गरेका छन् । ‘एक सयौँ टेस्ट मेरा लागि केवल एउटा नम्बर हो । त्यसपछि पनि क्रमशः नम्बरहरू थपिँदै जानेछन्,’ उनले भनेका छन् ।

बिहीबारको खेलसँगै स्टोक्स इङ्गल्यान्डका लागि एक सयौँ टेस्ट खेल्ने १६औँ क्रिकेटर बन्नेछन् । घरेलु टोलीविरुद्ध पाँचवटा टेस्टको शृङ्खला खेल्न इङ्गल्यान्डको टोली हाल भारत भ्रमणमा छ । यी दुईबिचको टेस्ट शृङ्खला हाल एक–एकको बराबरीमा छ ।

शृङ्खलाको पहिलो खेलमा भ्रमणकारी टोली इङ्गल्यान्ड २८ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा भने भारतले इङ्गल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो । दोस्रो र तेस्रो टेस्टको बिचमा लामो समयको अन्तर रहेकाले इङ्गल्यान्डको टोली १० दिनका लागि बिदा मनाउन भारतबाटै आबु धाबी गएको थियो ।

इङ्गल्यान्डको टोली बिदा मनाएर सोमबार राति चार्टर्ड विमानमार्फत आबु धाबीबाट भारतको राजकोट फर्किएको हो । अलराउन्डर खेलाडी स्टोक्सले सन् २०१३ मा अस्ट्रेलियाविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

इङ्गल्यान्डको क्रिकेट इतिहासमा स्टोक्स सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । उनले देशका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको क्रिकेट खेलिसकेका छन् । उनले हालसम्म ९९ टेस्टमा ३६.३४ को औसतले कुल दुई हजार दुई सय ५१ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले १३ शतक र ३१ वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । उनले टेस्ट क्रिकेटमा हालसम्म एक सय २८ छक्का र सात सय २८ चौका पनि हिर्काएका छन् । उनले टेस्टमा एक सय पाँच क्याच पनि लिएका छन् ।

यसका अतिरिक्त उनले टेस्ट क्रिकेटको एक सय ४६ पालीमा एक सय ९७ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २२ रन दिएर ६ विकेट हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप