रास्वपालाई घाँडो हुँदै संसद्को आन्दोलन !
_G68gsKPKa3.jpg)
समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गरेको संसद अवरोध घाँडो बनेको छ।
- माओवादीसहितका दलहरूले सहमति गरेपछि रास्वपा एक्लिएको छ र आन्दोलनको स्वरूप परिवर्तन गर्नेबारे छलफल गर्दैछ।
- रास्वपाका अनुसार सभामुख र अन्य दलका नेताहरूले नागरिकका समस्यालाई बेवास्ता गरेको आरोप छ, जसका कारण विरोध जारी छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा लगातार संसद् अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उक्त आन्दोलन घाँडो भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी र सत्तारुढ दलबिच २ बुँदे सहमति गरेर माओवादी सदन खुलाउने पक्षमा उभिएपछि रास्वपा एक्लिएसँगै आन्दोलन पनि घाँडो बन्न पुगेको हो ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बैठक अवधिभर नारावाजी गरेका रास्वपा सांसदहरुले सोमबारको बैठकमा माओवादी बोल्दा मौन बसेका थिए भने अन्य दलका सांसद बोल्दा नाराबाजीलाई निरन्तरता दिएका थिए । आफूहरूले नागरिकका समस्या उठाएर आन्दोलन गरेपनि ठुला दलका ठुला नेता र सभामुखले भिजिट भिसा प्रकरणलाई समस्या नै नठानेको तथा समस्या सम्बोधन गर्न चासो नदेखाएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘हामी नागरिकका समस्या बोकेर आन्दोलनमा गएका हौं । तर हाम्रो आवाज र नागरिकको चासोलाई सभामुख र अन्य दलका नेताहरूले समस्या नै देखेनन्’, कार्यवाहक प्रवक्ता झाले भने, ‘हामी माओवादीसँग भएको सहमतिलाई स्विकार्ने पक्षमा छैनौ ।’ ठुला दल र सरकारलाई सभामुखले समस्याका बारेमा उचित निर्देशन दिनसक्ने अधिकार भएपनि सभामुखले समेत त्यसरी निर्देशन नदिएकाले आफूहरू विरोधमै रहेको झाको भनाइ छ । उनले आफूहरूलाई विधेयक अघि बढाउने बेलामा संसद् अवरोध गर्ने रहर नभए पनि आफूप्रति गरिएको व्यवहारका कारण अचम्मित बनेको बताए ।
‘सभामुखले पनि समस्या समाधान गर्न वैकल्पिक उपायहरू अपनाउन सक्ने अवस्था छ । उदाहरणका लागि सभामुखले १५ दिनभित्र अख्तियारको छानबिनलाई असर नगर्नेगरी काम गर्न सरकारलाई निर्देशन दिन सक्ने अधिकार छ’, झाले रातोपाटीसँग भने, ‘तर वास्ता नै गर्नुभएन ।’
त्यस्तै उनले आज मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा आन्दोलनको स्वरूप बदल्ने वा नबदल्ने भन्ने बैठकअघि नै थाहा हुने बताए ।
‘हामी अन्य दलका प्रमुख सचेतक र सभामुखसँग पनि आन्तरिक छलफलमै छौ, बैठकअघि भएका छलफलको समीक्षा गरेर कसरी प्रस्तुत हुने भनेर धारणा बनाउँछौ’, झाको भनाइ छ । रास्वपाका एक सांसदका अनुसार लगातार नाराबाजी र भुईँमा बस्दा कतिपय सांसदमा स्वास्थ्य समस्या देखिन थालेको छ । ‘कतिपयको स्वर भासिएको छ भने कतिपयलाई पखाला लाग्ने समस्या देखिन थालेको छ’, ती सांसदको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’