आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
विधान अधिवेशन

माओवादीमा प्रत्यक्ष निर्वाचनको पक्षमा मत बलियो

बुधबार, ०२ फागुन २०८०, २१ : ०८
बुधबार, ०२ फागुन २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को विधान अधिवेशनमा पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने मत बलियो देखिएको छ ।

प्रस्तावित विधान मस्यौदा अधिवेशनमा बुधबार १३ समूहबाट समूहगत सुझाव टोली नेताले अधिवेशनमा पेस गरेका थिए । यद्यपि निर्वाचन प्रक्रियाको विषयमा फरक–फरक मत आएको नेताहरूले बताएका छन् । समूह १५ बाट सुझाव पेस गर्दै हिमाल शर्माले पदाधिकारी सहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिए । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने मत बलियो रहेको उनले जानकारी दिए ।

‘अधिकांशको मत प्रत्यक्ष निर्वाचितमा जानुपर्छ भन्नेमा छ । राजकीय र पार्टी पदाधिकारी आलोपालो हुनुपर्ने मत बलियो छ । साथै केन्द्रीय समिति सानो र चुस्त बनाउन सुझाव आएको छ’, उनले भने । 

समूह १ बाट सरल सहयात्रीले अधिकांशको मत प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्नेमा मत रहेको बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने सुझाव आएको जानकारी दिए । 

‘सम्पत्ति शुद्धीकरण लगायत विषयमा स्पष्ट कार्यविधि बनाएर आयोगलाई दिनुपर्नेमा जोड रहेको छ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुपर्ने अधिकांशको सुझाव आएको छ ।’

समूह ९ बाट रञ्जित तामाङले यही अधिवेशनबाट पार्टी विधान पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएका छन् । प्रत्यक्ष निर्वाचन प्रणाली, सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने सुझाव आएको उनले जानकारी दिए । 

‘अधिकांशको मत सबै तहमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने छ । प्रदेश र जिल्लालाई अधिकार सम्पन्न बनाउनुपर्ने, केन्द्रीय निकायलाई शक्तिशाली बनाउनुपर्ने मत आएको छ’, उनले भने । 

समूह ५ बाट दिलीपकुमार प्रजापतिले पार्टीले पनि अधिकांशको सुझाव प्रत्यक्ष निर्वाचित प्रणाली सानो आकारको केन्द्री सदस्यको व्यवस्था राख्नुपर्ने रहेको बताएका छन् । 

समूह ८ का ओम शर्माले विधानलाई चुस्त बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । 

यस्तै समूह ३ का कुमार पौडेल, समूह ६ का झक्कु सुवेदीले पनि सबै तहमा प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउनुपर्ने मत राखेका थिए । 

समूह १२ का परसुराम रम्तेल, समूह १३ का वामदेव क्षेत्री, समूह २० का हरिराज अधिकारीले प्रत्यक्ष निर्वाचित प्रणालीमा धेरै मत रहेको बताएका छन् । यस्तै समूह २ का कञ्चन खनाल र समूह १४ बाट निर्मल आचार्यले प्रत्यक्ष निर्वाचनको पक्षमा मत बलियो रहेको बताएका छन् । विकल्पमा केहीले महाधिवेशन प्रतिनिधिले पदाधिकारी चयन गर्ने विधिनै ठीक भएको धारणा राखेका छन् । 

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गरेका छन् ।  

चुनाव चिन्ह र पार्टीको नाम फेर्न सुझाव 

रोचक कुरा मस्यौदा विधानमा चुनाव चिन्ह र पार्टीको नाम फेर्ने विषय नराखेपनि अधिकांश प्रतिनिधिहरूले नाम र चिन्ह फेर्न सुझाव दिएका छन् । स्थायी समिति सदस्य कमला रोकाका अनुसार चुनाव चिन्ह र पार्टीको नामा फेर्ने सुझाव मिश्रित रुपमा आएको बताइन् । अहिलेको नाम हटाएर नेकपा समाजवादी, नेपाली कम्युनिस्ट पार्टी वा यस्तै कुनै नाम राख्न सुझाव आएको छ । 

यस्तै विधान अधिवेशन बहस नोटसमितिका संयोजक मनहरि तिमिल्सिनाले पार्टीको नाम र चिन्ह फेर्ने सुझाव आएको स्वीकारेका छन् ।  यसअघि मस्यौदा समितिका सदस्य एवं उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नुपर्ने, सबै तहको निर्वाचन प्रत्यक्ष निर्वाचित हुनुपर्ने, प्रदेश र जिल्लालाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायत ९ बुँदे पूरक प्रस्ताव पेस गरेका थिए । 

स्थायी समिति नराख्न सुझाव 

प्रतिनिधिहरूले स्थायी समिति नराख्न सुझाव दिएका छन् । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ पदाधिकारी हुने भएकाले स्थायी समिति आवश्यक नभएको सुझाव आएको स्थायी समिति सदस्य रोकाले जानकारी दिए । बाँकी ७ समूहको धारणा बिहीबार आउने छ । समूहगत सुझाव सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । अधिवेशन बिहीबार समापन हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप