सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

तिमीले यो संसार छाडेदेखि...

शनिबार, ०५ फागुन २०८०, ०८ : ४५
शनिबार, ०५ फागुन २०८०

त्यो एउटा डरलाग्दो सपना थिएन, कठोर सत्य थियो । तिमीले मलाई र यो संसारलाई छाडेर गयौ, कति सजिलै । यस्तो लाग्छ— निठुरी त यहाँ मान्छे छैन अर्को कुनै अस्तित्व छ, जसले जीवनरूपी फूललाई फक्रन नदिई चुँड्छ, मायारूपी संसारलाई उराठ बनाउँछ । 

आज आफ्नै उदास कथा सुनाउँदै छु, यो भारी भोगाइ सुनाउँदा मेरो मन हलुका होला कि ! हुन त यस्तो पीडा भोग्ने मजस्ता धेरै चेली छन् । 

साधारण परिवारमा जन्मे–हुर्के म, मेरा लागि कर्म नै सबैथोक थियो । २०७४ सालमा स्टाफ नर्स पास गरी २०७५ सालदेखि सरकारी सेवामा प्रवेश गरेकी थिएँ । मेहनतले आफ्नै खुट्टामा उभिँदै गर्दा ममा रहर र खुसीहरू फुल्न थाल्दै थिए । हरेक दिन नयाँ–नयाँ सपनाहरू मुनाजस्तै पलाउँथे । आफ्नै सपनाहरूको मलजल लाग्दै गर्दा तिमी भेटिएका थियौ । लाग्यो, जिन्दगीमा रङ थपियो । 

हरेक बिहान तिम्रो फोन कलले मेरा आँखा खुल्थे, हरेक साँझ तिमीसँग फोनमा कुरा गर्दागर्दै निद्रामा पर्थेँ । खायौ वा खाएनौ जस्ता मायालु चिन्ता हुँदै हामी सपनाको संसारमा हराउँथ्यौँ, सपना बुन्थ्यौँ । 

एउटा सुनौलो परिवारको सपना देखेर २०७७ सालमा हामीले विवाह गर्‍यौँ । लाग्दै थियो, यो संसारमा हामी जति खुसी अर्को कुनै जोडी नहोला ! 

हामी प्रतिस्पर्धामा थियौँ— कसले बढी माया गर्ने ? हामी दुवै यही सिद्ध गर्न चाहन्थ्यौँ— तिमीले भन्दा मैले बढी माया गर्छु ।

विवाहपछि तिमीले मलाई काठमाडौँ घुमाउन लग्यौ । त्यो एउटा सुनौलो क्षण तस्बिरहरूमा कैद छँदै छन् । हामी दुईको जागिर दुईतिर, चाहेर पनि काठमाडौँमा सँगै बस्ने अवस्था थिएन । एक हप्ताको बसाइँपछि म आफ्नो कर्मथलो फर्किएँ । कलंकीमा मलाई गाडी चढाउँदा तप्कन खोजेका आँसुलाई बडो पुरुषार्थका साथ तिमीले आँखैमा दबाएका थियौ । यता यात्राभरि तिमी मेरो स्मृतिमा नाच्यौ, छुटिनुको पीडाले बेला–बेला मेरा आँखा रसाउँथे । भिडियो कल, फोन र मेसेजका माध्यमबाट मैले तिमीलाई त्यस यात्राको साथी बनाएकी थिएँ ।

हामी प्रतिस्पर्धामा थियौँ— कसले बढी माया गर्ने ? हामी दुवै यही सिद्ध गर्न चाहन्थ्यौँ— तिमीले भन्दा मैले बढी माया गर्छु । हामी एउटा मायाको संसारमा थियौँ । त्यो सबै निभ्ने बेलाको दियो पो रहेछ ! हाम्रो मायाको दियो त्यति छिटो निभ्ला भन्ने कल्पनासम्म गरेका थिएनौँ, भयो त्यस्तै । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले मबाट तिमीलाई खोसेर लग्यो । 

कोरोनाको दोस्रो लहर देखिन लागेका बेला तिमीले फोनमा भन्यौ, ‘म बिरामी छु, अलिअलि ज्वरो आएको छ ।’ म तर्सिएकी थिएँ । छिटोछिटो बिदा मिलाएर म बाग्लुङबाट चितवन र तिमी ललितपुरबाट चितवन आयौ । तिमीलाई देखेपछि लागेको थियो, म त त्यसै आत्तिएकी रहिछु । त्यति धेरै गाह्रो भएको थिएन तिमीलाई । हामी होम आइसोलेसनमा चार दिन बस्यौँ । 

अचानक तिम्रो अक्सिजनको लेभल घटेर ८३ प्रतिशत पुग्यो, अनि सुरु भयो बेचैनी । तुरुन्तै हामी हस्पिटलतिर लाग्यौँ, तीनवटा हस्पिटल डुल्दा पनि बेड पाएनौँ । अन्तिममा भरतपुर हस्पिटलमा बल्ल–बल्ल बेड पाएर तिमी भर्ना भयौ । तीन दिन जनरल वार्डमा बसेपछि तिमीलाई झन् च्याप्न थाल्यो । म आफैँ नर्स । म नै तिम्रो साथमा हरेक पल थिएँ । मेरो हिम्मत तिमी थियौ, तिम्रो हिम्मत बन्ने कोसिस मैले गरिरहेकी थिएँ । अचानक तिमीलाई आईसीयु लैजानुपर्ने भयो । केही हुँदैन, कसैको कुभलो चिताएका छैनौँ, कसैको केही बिगारेका छैनौँ, भगवान् छन् भन्ने आशा र भरोसामा थियौँ । 

त्यो  वज्रपातलाई   मेरो २३ वर्षको उमेरले कसरी सहोस् ? आँखैअघिका सबै घटनालाई विश्वास गर्ने साहस आउँदैनथ्यो । तिम्रो अभाव र तिम्रो आभासले म निकै दिन ढोका बन्द गरेर रोएँ ।

२०७८ को वैशाख १७ गते तिमीले संसार छाड्यौ । म बेहोस भएँ तर तिमीले देखेनौँ । म रोएँ–कराएँ, तिमीले सुनेनौ । तिमीले सास फेर्न छाडेको र म जिन्दगीसँग हारेको त्यो दिन अर्थात् एउटा कठोर सत्यलाई मैले अझै पनि स्विकार्न सकेकी छैन । तिमी चितामा जलेसँगै मेरा खुसी, रहर र सपनाहरू सबै जले । त्यो बज्रपातलाई मेरो २३ वर्षको उमेरले कसरी सहोस् ? आँखैअघिका सबै घटनालाई विश्वास गर्ने साहस आउँदैनथ्यो । वास्तविकता त्यही थियो त कतिन्जेल विश्वास नगरेर पुगोस् ! तिम्रो अभाव र तिम्रो आभासले म निकै दिन ढोका बन्द गरेर रोएँ । पहिलो वैवाहिक वर्षगाँठलाई खुब रमाइलो गरी मनाउने धोको थियो, त्यो धोकोले मलाई अझैसम्म रुवाइरहन्छ । 

तिमीले छाडेर गएपछि मैले के के भोग्नुपर्‍यो, के के सुन्नुपर्‍यो, सबै यही मनभित्र गाँठो पारेर राखेकी छु । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्ण छात्रवृत्तिमा बीएनएस नर्सिङको पढाइ पूरा गर्न त्यति सहज थिएन । त्यसमाथि तिम्रो यादले पढाइमा ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । तिमीले भनेका थियौ— तिमी जति पढ्छ्यौ पढाउँछु । यही तिम्रो वचनले मलाई पढ्न प्रेरित गर्‍यो, हौसला दिइरह्यो । 

तिमी यो संसारमा नभए पनि तिम्रा आशीर्वाद र प्रेरणा मसँगै छन् । तिमी मलाई सधैँ अघि बढ्न प्रेरित गर्थ्यौ । मप्रतिको तिम्रो स्नेह र आशीर्वादलाई साक्षी राखेर, हिम्मत जुटाएर अगाडि बढ्दै छु । तिमीले मेरा लागि देखेका सपना पूरा गर्न दिन–रात मिहिनेत गरेकी छु । कहिलेकाहीँ एक्लो महसुस भएका बेला तिमीले कतैबाट मलाई नै हेर्दै छौ जस्तो आभास पनि हुन्छ ।  

असाध्यै छोटो समय तिमीले मलाई जुन स्नेह दियौ, त्यसलाई मैले कहिल्यै भुल्ने छैन । त्यस स्नेहलाई मैले अँध्यारो मनको कुनामा चम्किलो तारालाई जस्तै सजाउनेछु । उज्यालो, ऊर्जा र गतिको अर्को नाम रहेछ जीवन । यो जीवनलाई उज्यालो, ऊर्जाशील र गतिशील बनाउने कोसिसमा छु, तिमी मलाई प्रेरणा देऊ कतै परबाट ।

तिमी अस्ताएको पनि एक हजार दिन पुग्न लाग्दै छन्, मलाई यो अवधि हजारौँ वर्षजस्तो भयो । तिमी आएर मेरो जीवनमा दियो बलेको थियो, तिमी अस्तायौ र त्यो दियो निभ्यो । अँध्यारा दिनहरूलाई उज्यालोले मात्रै काट्न सक्छ । अँध्यारा दिनलाई मैले क्रमशः जित्दै आएकी छु । तिमी मलाई उज्याला दिनहरूतिर अगाडि बढ्न अझ प्रेरणा देऊ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु सापकोटा
विष्णु सापकोटा
लेखकबाट थप