आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
भन्सार

भैरहवा भन्सारबाट ७ महिनामा लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन

बाँकी ५ महिनामा तोकिएको लक्ष्य पूरा होला ?
सोमबार, ०७ फागुन २०८०, १३ : २२
सोमबार, ०७ फागुन २०८०

बुटवल । भैरहवा भन्सार कार्यालयले ७ महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व सङ्कलन गरेको हो ।

भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ३ करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको ५ महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।

भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड ५ लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा ९ अर्ब ३ करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । यस्तै, कार्तिकमा ४ अर्ब ४९ करोड ४ लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड ३ लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

चालु आर्थिक वर्षको बाँकी ५ महिनामा लक्ष्य हासिल गर्ने उनको दाबी छ । अहिलेसम्म निर्धारित लक्ष्य पूरा नभए पनि विगतका वर्षको तुलनामा राजस्व सङ्कलनको अवस्थामा सुधार आएको उनले प्रस्ट पारे । गत वर्ष तोकिएको लक्ष्यभन्दा आधा राजस्व सङ्कलन भएको थियो ।

000000

  • सिमेन्टदेखि अदुवासम्म निर्यात

भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बस्तु निर्यात भएका छन् । खासगरी रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लामा रहेका उद्योगबाट उत्पादित सिमेन्टका साथै पाल्पा, प्युठान लगायतका जिल्लामा उत्पादित अदुवा यही भन्सार नाका हुँदै भारत तथा तेस्रो मुलुक जाने गरेका छन् ।

भैरहवा भन्सार कार्यालयबाट ५ अर्ब ६७ करोड ६८ लाख रुपैयाँका नेपाली बस्तु निकासी भएका छन् ।

चालु वर्षको माघ महिनाको अवधिमा यो बेलहिया नाकाबाट सेन्थेटिक यार्न सबैभन्दा बढी निकासी भएको छ । सेन्थेटिक यार्न भारत तथा टर्की निकासी हुने गरेको छ ।

यस्तै, खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत यो नाकाबाट निकासी भइरहेको छ ।

भन्सार कार्यालय भैरहवाबाट चालु आर्थिक वर्षमा १ अर्ब ७७ करोड ५३ लाखको सेन्थेटिक यार्न निकासी भएको छ ।  यस्तै खैरो सिमेन्ट ९१ करोड  ३२ लाख रुपैयाँ बराबरको, क्लिङ्कर ७५ करोड ३६ लाख बराबरको निर्यात भएको छ ।

केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।

सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीहरूलाई राहत पुगेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले रातोपाटीलाई बताए ।

यो नाकाबाट मोटरसाइकल, कार भ्यान, पेट्रोल, एल पी ग्यास, मोबाइल, मार्बल जस्ता बस्तु आयात हुने गरेको छ ।

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप