शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

मकैमा आत्मनिर्भर हुन कति सहज ?

मङ्गलबार, ०८ फागुन २०८०, ०६ : २४
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । पछिल्लो समय मकैको माग बढ्दो छ । तर स्वदेशी उत्पादनले आन्तरिक माग करिब ३ महिनामात्रै धान्ने गरेको छ । बाँकी नौ महिनाका लागि आयातित मकैमा निर्भर हुनु परेको छ ।

आन्तरिक उत्पादनले मकैको माग पूर्ति गर्न प्रतिहेक्टर ४.५ देखि ५ टनसम्म उत्पादन बढाउनुपर्छ ।

  • कसरी बढाउने उत्पादन ?

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पछिल्लो समय  मकैको १० हाइब्रिड जात विकास गरेको छ, जसको उत्पादन क्षमता प्रतिहेक्टर एक सय क्विन्टलसम्म छ । तर हाल किसानको पहुँचमा पुगेको मकैको हाइब्रिड जातले करिब ३० देखि ३२ क्विन्टल प्रतिहेक्टर (डेढ बिघा) उत्पादन हुन्छ ।

उन्नत जातसँगै किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक छ । यसका साथै मकै बालीका लागि समयमा सिँचाइको व्यवस्था र अनुकूल वातावरण हुन आवश्यक छ । यी सबै जुटेमा मकै उत्पादन दोब्बर बढाउन सकिन्छ ।

  • कहाँ खपत हुन्छ मकै ?

मकै बाली खाद्यान्न र पशुपालन क्षेत्रमा खपत हुँदै आएको छ । यी दुवै क्षेत्रमा मकैको माग बढ्दो छ । पहाडी क्षेत्रमा उत्पादन भएको अधिकांश मकै खाद्यान्नका लागि प्रयोग भएको छ भने तराईमा उत्पादन हुने मकै ‘साइलेज’ घाँस, दाना र खानामा प्रयोग हुँदै आएको छ ।

पशुपन्छीको दानाका लागि करिब एक क्विन्टल दाना तयार पार्न ५० देखि ५५ किलो मकै आवश्यक पर्छ । पछिल्लो समय मकैका विभिन्न परिकार खानेको सङ्ख्या पनि बढ्दो छ ।

  • मकै उत्पादनका लागि भएको सरकारी पहल

कुखुराको मासुमा आत्मनिर्भर भएकाले दाना उत्पादनका लागि सरकारले मकैलाई प्राथमिकतामा राखेको छ । खाद्यान्न र औद्योगिक क्षेत्रको मागलाई टेवा पुग्ने गरी उत्पादन बढाउन नार्कले १० वटा हाइब्रिड जातका मकैको विकास गरेको छ ।

बाली विकास तथा जैविक विविधता केन्द्रबाट स्थानीय सशर्तको रूपमा पनि स्थानीय निकायमा मकैका लागि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट पनि मकैको विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।

  • वर्षभर तीन सिजनमा लगाइन्छ मकै

मकैको खेती गर्ने तौरतरिकामा पनि परिवर्तन आएको छ । पहिला बर्खे मकैको मात्रै खेती हुन्थ्यो । अचेल वसन्त र हिउँद सिजनमा पनि मकै खेती गरिन्छ । यसले मकैको खेतीपाती हुने क्षेत्रफल बढ्नुका साथै उत्पादनमा पनि वृद्धि भएको छ । तराईका धेरैजसो क्षेत्रमा हाइब्रिड जातको मकै लगाउने चलन बढेको छ ।

  • मकैप्रति किसानको आकर्षण बढ्दो

मकैको माग बढेसँगै यसको खेतीप्रति किसानको आकर्षण पनि बढ्दो छ । खेतीपातीमा आधुनिकीकरण हुँदै गएको छ । यसले हाल किसानमा एक खाले जागरण देखिएको छ । किसानले हाइब्रिड जातमा धेरै विकल्प भेट्छन् । हाइब्रिड जातको उत्पादन झन्डै दोब्बर हुन्छ । हाइब्रिड जातको उत्पादकत्व पनि बढी छ । पहिला स्थानीय जातहरू लगाउने चलन थियो भने अहिले हाइब्रिड जातको बाली लगाउने चलन बढी छ ।

मकैको व्यावसायिक खेती प्रवर्द्धन हुँदै जानु, नेपालमै नयाँ–नयाँ हाइब्रिड जात विकास हुनु, उत्पादन बढ्नुले मकै खेतीप्रति किसानको आकर्षण बढेको छ ।

  • मकै उत्पादनमा चुनौती

नेपालमा मकै बाली उत्पादनमा बिउ, मल, सिँचाइ लगायतका चुनौती पाइएका छन् । नार्कले उत्पादन गरेको बिउ किसानसम्म पुग्न सकेको छैन । हाल किसानसम्म पुगेको जात पनि व्यवस्थित रूपले खेती हुन सकेको छैन ।

मकैको राम्रो उत्पादन लिनका लागि उन्नत जात, अनुकूल वातावरण र मलजल उपलब्ध हुनु पर्छ । पछिल्लो समय बद्लिँदो वातावरणका कारणले रोग र किराको प्रकोप पनि बढ्दो छ । त्यसैले बिउको क्षमता अनुसार उत्पादकत्व हुन सकेको छैन । यस्तै किसानले मल, सिँचाइ, प्राविधिकको सल्लाह पाउन सकेका छैनन् ।

(कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीसँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. घनश्याम भण्डारी
डा. घनश्याम भण्डारी
लेखकबाट थप