शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

एमालेमा झाँगिँदो स्वेच्छाचारिता र व्यक्तिवाद, २०८१ शुद्धीकरण र सुदृढीकरण वर्ष

बुधबार, ०९ फागुन २०८०, १२ : ३२
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेले पार्टीमा स्वेच्छाचारिता, निजी स्वार्थ केन्द्रित व्यक्तिवाद, अवसरवाद र चारित्रिक विचलन तथा अनुशासनहीन प्रवृत्ति झाँगिन पुगेको भन्दै जनआधारित कार्यकर्ता पार्टी निर्माणमा समस्या भएको पहिचान गरेको छ । जारी एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र मौलाएको यस्तो अराजकता नियन्त्रण गर्न अवलम्बन गर्नुपर्ने उपायको खोजी गर्दै ठोस निर्णय गरेर कार्यान्वयन प्रक्रियामा लैजाने भएको छ । गत वर्ष सञ्चालित ‘मिसन ग्रासरुट’का क्रममा पनि एमाले नेताहरूले नेता कार्यकर्ताहरूमा देखिएको नकारात्मक प्रवृत्तिहरू औँल्याएका थिए ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सातौँ केन्द्रीय कमिटी बैठकमा पेस गरेको अवधारणा पत्रमा पनि सोही कुरालाई दोहोर्‍याएका छन् । ‘जनआधारित कार्यकर्ता पार्टी पार्टी निर्माणको समस्या’, शीर्षकमा नेता पोखरेलले भनेका छन्, ‘हाम्रा सामु जनता, राष्ट्र र पार्टीको सेवामा समर्पित योग्य, इमानदार निष्ठावान् नेता, कार्यकर्ता र सदस्यसहितको लक्ष्यकेन्द्रीत एकताबद्ध र अनुशासित पार्टी निर्माण गर्ने चुनौती खडा भएको छ’, पोखरेलले छलफलका लागि पेस गरेको अवधारण पत्रमा भनेका छन् ।

उनले यसरी अराजकता बढ्नुमा पार्टी सदस्यता वितरणमा समस्या भएको ठहर गरेका छन् । ‘अहिले पनि योग्यता नपुगेका व्यक्तिहरू उल्लेखनीय संख्यामा पार्टी सदस्य छन् र उनीहरूको सदस्यता नवीकरण हुने गरेको छ’, नेता पोखरेलको भनाइ छ । पछिल्लो समय व्यक्ति स्वयं उपस्थित भएर पार्टी सदस्यता नवीकरण गर्ने व्यवस्था गरिए पनि त्यसले समेत समस्या समाधान हुन नसकेको एमालेले जनाएको छ । उसले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई पनि नेता कार्यकर्ताहरूले जित हासिल गर्ने औजारका रूपमा स्वेच्छाचारी र विना मापदण्ड सदस्यता दिने र नवीकरण गर्ने प्रवृत्ति समाप्त नभएको जनाएको छ ।  

‘विना मापदण्ड सदस्यता प्रदान गर्ने र नवीकरण गर्ने नकारात्मक प्रवृत्ति समाप्त भएको छैन’, एमाले बैठकमा पेस दस्ताबेजमा भनिएको छ ।

नेकपा एमालेले व्यक्तिलाई कमिटी मातहत, तल्लो कमिटीलाई माथिल्लो कमिटीको मातहत, सबै तहका कमिटीलाई केन्द्रीय कमिटी मातहत, केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन मातहत र राष्ट्रिय महाधिवेशनलाई प्रतिनिधिमार्फत पार्टी सदस्यको मातहत रहने प्रणाली अवलम्बन गरेको छ । महाधिवेशनले नीति निर्धारण, विधि निर्माण र नेतृत्व चयन गरेपछि अर्को महाधिवेशनसम्म त्यही नीति, विधि नेतृत्वको मार्गदर्शनमा पार्टी सञ्चालन गर्ने जनाउँदै आएको छ । ‘तर हामीले संस्थागत गरेका यी निष्कर्षहरूको कार्यान्वयनमा समस्या देखा परेको छ’, एमालेले किटान गरेको छ ।

समस्यै समस्या

आर्थिक, राजनीतिक, नैतिक र संस्कृति विचलन र अराजकता मात्रै होइन एमालेमा सांगठानीक अराजकता पनि उत्तिकै छ । हालै सम्पन्न केही जिल्लामा भएको जिल्ला अधिवेशनमा समेत एमालेमा अराजकताको रूप देखिएको छ । धादिङ, सुर्खेत, मुगु लगायतका जिल्लामा गुटबन्दी र नेतृत्व हत्याउने गरी भएका चलखेलले एमालेमा झाँगिएको सांगठानिक अराजकतालाई पुष्टि गर्छ । त्यसबाहेक कतिपय ठाउँमा पार्टी कमिटीका पूर्ण बैठक नै नबस्ने, सचिवालय गठन नहुने र सचिवालय गठन भए पनि बैठक नबस्ने तथा विधानको व्यवस्था विपरीत टाउके नेता बसेर निर्णय गर्ने प्रवृत्ति समस्याका रूपमा रहेका छन् । त्यस्तै ठुला र भद्दा कमिटीहरू निर्माणलाई पनि एमालेले समस्याका रूपमा पहिचान गरेको छ ।

‘गुटबन्दी पार्टीको महारोग हो । पार्टीमा गुटबन्दी गर्ने अधिकार कसैलाई छैन’, एमालेले दसौँ महाधिवेशन पश्चात् हरेक बैठकमा यो विषयमा छलफल हुँदै आएको पार्टीले जनाएको छ । 

२०८१ ‘शुद्धीकरण र सुदृढीकरण वर्ष’

त्यसो त एमालेले २०८१ साललाई ‘शुद्धीकरण र सुदृढीकरण वर्ष’का रूपमा अघि बढाउने भएको छ । त्यसका लागि एमालेले यही वर्षको चैतभित्र विभिन्न कार्ययोजना तय गर्ने तयारी गरेको छ । जसअन्तर्गत आर्थिक, चारित्रिक, सांगठानिक रूपमा विवादित नेता कर्याकर्ता एमालेको गोडमेलमा पर्नेछन् । त्यसबाहेक पार्टी सदस्यताको छानबिनदेखि उसको समग्र कार्यमुल्यांकन समेतका आधारमा निर्णय गर्ने एमाले नेताहरूको भनाइ छ ।

उनीहरूका अनुसार मिसन ८४’ लाई लक्षित गर्दै २०८१ लाई ‘शुद्धीकरण र सुदृढीकरण वर्षका रूपमा अघि बढाउने कार्ययोजना बनाइने छ । २०७८ मङ्सिरमा सम्पन्न एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनमा समेत आगामी दिनका कार्यभारमा ‘पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने’, उल्लेख थियो । राष्ट्रिय महाधिवेशन सकिएको अढाई वर्षपछि  एमाले शुद्धीकरण अभियानमा जुट्न लागेको हो ।

जारी सातौँ  केन्द्रीय कमिटी बैठकमा व्यक्त हुने विचार समेतका आधारमा केन्द्रीय जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीसम्बन्धी अद्यावधिक अवधारणासहित शुद्धीकरण अभियानबारे विशेष प्रस्ताव तयार पार्ने एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ । ‘त्यो विशेष प्रस्तावमा केन्द्रित भएर छलफल र निर्णय गर्नका लागि आगामी चैत महिनामा स्थायी कमिटीको बैठक आयोजना गरिनेछ’, नेता पोखरेलले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमै भनेका छन्, ‘स्थायी कमिटीको त्यस बैठकको निर्णयअनुरूप हामी आगामी वर्ष (२०८१) भरी शुद्धीकरण तथा सुदृढीकरण अभियानमा केन्द्रित हुनेछौ ।’

त्यसका लागि एमालेले केन्द्रीय समिति बैठकमा सहभागी सदस्यहरूलाई पार्टी सदस्यताको मापदण्ड, सदस्यहरूको क्षमता अभिवृद्धि र प्रभावकारिताको खोजी जरुरी भएको भन्दै चार प्रश्न सोधिएको छ ।

त्यस्तै एमालेले पार्टी कमिटी गठन गर्दा पनि सही प्रतिनिधि छनोट, मर्यादित अधिवेशन र सक्षम कमिटी निर्माण गर्ने जनाएको छ । जसमा पार्टी सदस्यहरूको क्रियाशीलता र प्रभावकारिताको मापन कसरी गर्ने ? कस्ता कस्ता आधार तयार गर्ने, आपसी प्रतिस्पर्धा र अन्तर्विरोधको कसरी समाधान गर्ने लगायतका प्रश्नको जारी बैठकबाट जवाफ खोज्ने भएको छ । त्यसबाहेक एमालेले पार्टीमा मौलाएको गुटबन्दी मुक्त गर्ने प्रयासका साथै नेताहरूको जीवनशैली, कार्यशैलीका साथै आर्थिक तथा नैतिक आचरणको पारदर्शिता खोज्ने भएको छ ।

एमाले केन्द्री सदस्य विष्णु रिजालले जारी केन्द्रीय कमिटी बैठकले पार्टी शुद्धीकरण र जनदबाबका कार्यक्रमलाई विशेष जोड दिँदै निर्णयहरू गर्ने बताए ।

‘मुख्यगरी शुद्धीकरण र जनदबाबका कार्यक्रमका लागि ठोस निर्णय केन्द्रीय समिति बैठकले गर्नेछ र छलफल पनि सोही आधारमा गर्नेगरी एजेन्डा पेस भएका छन्’, रिजालको भनाइ छ । एमाले केन्द्रीय समिति बैठक फागुन १० सम्म चल्नेछ । बैठकको मंगलबार उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले लिखित राजनीतिक प्रतिवेदन पेस नगरे पनि मौखिक सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप