आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

एमाले बैठकमा ओलीको भूमिकामाथि किन उठ्यो प्रश्न ?

बुधबार, ०९ फागुन २०८०, २० : ३६
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेको जारी सातौँ केन्द्रीय समिति बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएको छ । यद्यपि व्यक्तिगत रुपमा कसैको आलोचना नभएर सिंगो पार्टीको भूमिका सदनदेखि सडकसम्म प्रभावकारी बन्नुपर्छ भन्ने उद्देश्यले सुझावहरु प्राप्त भएको नेताहरुले बताएका छन् । 

अध्यक्ष ओली पार्टी अध्यक्ष मात्र नभएर एमाले संसदीय दलको नेता समेत हुन् । अध्यक्षको हैसियतले ओलीको निर्देशन र कार्ययोजना अनुसार सडक र संसदीय दलको मोर्चा सदन र सडकमा परिचालन हुन्छ । ओलीकै निर्देशनमा दुवै मोर्चामा पार्टीका नेता कार्यकर्ता र सांसदहरुले भूमिका निर्वाह गर्छन् ।

तर पछिल्लो समयमा जनजीविका र जनसरोकारका मुद्दा जटिल बन्दा समेत पार्टीले दुवै मोर्चामा सशक्त भूमिका निर्वाह गर्न नसक्दा सरकार जनसरोकारका सवालमा बेपर्बाह बन्न पुगेकाले आगामी दिनमा एमालेको भूमिका सशक्त र प्रभावकारी बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । 

केन्द्रीय समिति बैठकमा छलफलका लागि प्रस्तुत चारवटा अवधारणाहरूमाथि केन्द्रित भएर नौवटा समूहहरूमा छलफल जारी छ । समूहगत छलफलमा उठेका विषयहरूमा स्थायी कमिटीको समूहबाट संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुंगेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजंग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासबाट पार्टी केन्द्रीय सदस्य पेम्बा लामाले आ–आफ्नो समूहको लिखित प्रतिवेदन केन्द्रीय कमिटीको बिहीबारको बैठकमा प्रस्तुत गर्नेछन् ।

बैठकमा सहभागी केन्द्रीयका सदस्यहरूले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न छलफलमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘छलफलमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना गर्नुपर्ने, शुद्धीकरण माथिबाट सुरु हुनुपर्ने, पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी संगठन निर्माणमा महत्त्व राख्ने विषयमा सहभागीहरूले गम्भीरतापूर्वक सुझाव राख्नुभएको छ’, नेता गौतमले भने ।

अधिकांश समूहबाट अहिलेको अवस्थामा संसद्को कामकारबाही प्रभावकारी बनाउनुपर्ने र जनताका मुद्दालाई विशेष ध्यान दिनुपर्ने सुझाव आएको गौतमको भनाइ छ । 

‘संसद्को कामलाई प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारालाई कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडाहरूसम्म संयन्त्र निर्माण गरी अघि बढ्नुपर्ने सुझावहरू आएका छन्’, छलफलका क्रममा आएका सुझावबारे गौतमले रातोपाटीसँग भने, ‘आन्तरिक पार्टी जीवनमा विधान र नियमावलीलाई सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने धेरै समूहको सुझाव छ ।’

त्यसको अलवा कमिटी प्रणाली स्थापित हुन नसकेको, पार्टी नेता कार्यकर्ताको आचरणसँग जोडिएका मुद्दामा छानबिन गरेर गल्ती गर्नेलाई कडा कारबाही र कमजोरी नगरेको भए सफाइ दिनुपर्ने सुझाव समेत आएको छ । 

पार्टी शुद्धीकरण र सुदृढिकरणका सवालमा यो सुझाव महत्त्वपूर्ण हुने  गौतमले बताए । उनले संसदमा एमालेको भूमिकामा गम्भीर प्रश्न उठेको पनि बताए । गौतमले रातोपाटीसँग भने, ‘पार्लियामेन्टमा हाम्रो भूमिकाप्रति गम्भीर प्रश्न उठ्यो । कमजोर भयो, जनसरोकारका मुद्दामा कमजोर भएकाले प्रभावकारी बनाउनुपर्छ भन्ने मत बलियो बन्यो ।’ 

केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले जनताका मुद्दा सम्बोधन गर्न नसकेकाले सरकारलाई प्रमुख प्रतिपक्षको हैसियतले ध्यानाकर्षण गराउनुपर्नेमा समेत नेतृत्वलाई सुझावमार्फत जोड दिएका छन् । बेरोजगारी, कुशासन, भ्रष्टाचार मौलाएको भन्दै आगामी दिनमा सडक र सदन दुवै तताउन समेत केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् ।

बागमती प्रदेशका समूह नेता समेत रहेका कैलाश ढुंगेलले बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरुबिच राम्रोसँग छलफल भएको बताए । उनले नेता कार्यकर्ताको आचरण, जल्दाबल्दा विषयमा जनअपेक्षा अनुसार पार्टीको भूमिका बढाउँदै लैजानुपर्ने लगायतका विषयमा सुझावहरु आएको बताए ।

‘जनसरोकारका विषयमा संसददेखि सडकसम्म पार्टीको कमजोर भूमिका रहेकाले यसलाई बढाउनुपर्छ भन्ने सुझाव छ’, ढुंगेलले रातोपाटीसँग भने । 

बिहीबार समूहका नेताहरुले आएका सुझावहरुलाई समेटेर प्रस्तुति दिनेछन् । समूहका नेताको प्रस्तुतिपछि अध्यक्ष ओलीले जवाफ दिँदै आगामी कार्यक्रम तय गरेर बैठक समापन गर्ने एमालेको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप