आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

महाधिवेशनको मुखमा जसपामा विवाद, लुम्बिनी प्रदेश कमिटीका अध्यक्षले दिए राजीनामा

शनिबार, १२ फागुन २०८०, १४ : ४७
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।

उनको राजीनामाले केन्द्र तथा लुम्बिनी प्रदेश कमिटीमा विवाद सुरु भएपछि त्यसको समाधानका लागि सो पार्टीका कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज राज किशोर यादव आज त्यता लागेका छन् । महाधिवेशनको मुखमा पार्टीमा देखिएको विवादलाई समाधान गर्नका लागि कार्यकारिणी सदस्य राज किशोर यादव त्यसतर्फ गएका हुन् ।

लुम्बिनी प्रदेश कमिटीका एक सदस्यकाअनुसार जसपाका अध्यक्ष यादवले प्रदेश कमिटीसँग कुनै सल्लाह नै नगरीकन मनमौजी ढङ्गले विभिन्न मनोनयन र नयुक्तिहरु गर्ने गरेका छन् । उनले भने, ‘अध्यक्षज्यूले कतिपय यस्ता काम गर्नुभएको छ, जसको जानकारी हामी प्रदेश कमिटीलाई पनि थाहा छैन । त्यही कुरामा चित्त नबुझेर अशोकजीले राजीनामा दिएका हुन् ।’

यो क्रियाकलापप्रति असन्तुष्ट भएर लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग फोनमा कुरा गरेका थिए । फोनमै दुई जनाबिच चर्काचर्की भएपछि अशोकले राजीनामा दिएका थिए ।

उनले राजीनामा पत्र पार्टीका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, कार्यकारिणी सदस्य रेणु यादव र लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादवको वाट्सएपमा पठाएका छन् । तर हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन ।  

सप्तरी र पर्साको विवाद समाधान नहुँदै लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको हो । सो पार्टीका कार्यकारिणी सदस्य रेणु यादव पार्टी छाड्ने तरखरमा छिन् भने कार्यकारिणी समितिका सदस्य इस्तियाक राइन् पार्टीका गतिविधिबाट असन्तुष्ट भएर बसेका छन् ।

उनी झन्डै एक वर्षभन्दा बढी समयदेखि पार्टीको सम्पर्कमा छैनन् । हालै मधेश प्रदेश कमिटीको अध्यक्षबाट हटाइएका रामबाबु यादव पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप