आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

पेरिसडाँडामा नेताहरूलाई प्रचण्डको संक्षिप्त ‘ओरिन्टेसन क्लास’ : इन्चार्ज र अभियानको तयारी गरेर आउनु

कुन प्रदेशमा को-को छन् आकाङ्क्षी ?
आइतबार, १३ फागुन २०८०, २१ : ४५
आइतबार, १३ फागुन २०८०

काठमाडौं । फागुन १० गतेदेखि जारी माओवादी केन्द्रको स्थायी समिति बैठक नेताहरूको कार्यविभाजनमा रोकिएको छ । आइतबार कार्यविभाजन टुङ्गो लगाउने भनिए पनि गृहकार्य नपुगेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब १५ मिनेट बसेर बैठक स्थगित गरे । राम्रोसँग गृहकार्य गरेर आउन नेताहरूलाई उनले निर्देशन दिए । कार्यविभाजन टुङ्गो लगाउने गरि मंगलबार बिहान साढे आठ बजे बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

‘नयाँ कार्यभार अनुसार प्रदेश इन्चार्जहरूको जिम्मेवारी लगायत सबैको जिम्मेवारी निश्चित गर्ने गरि व्यापक गृहकार्य भइरहेको छ । स्थायी समिति सदस्य, पदाधिकारीसँग छलफल भइरहेको छ । अध्यक्षले पनि व्यापक गृहकार्य गरिराख्नुभएको छ । नयाँ कार्यविभाजन वैज्ञानिक, वस्तुवादी प्रभावकारी हुने गरी तयारी भइरहेको छ । कार्यविभाजन र आगामी योजनाको विषयमा गृहकार्य दिनुभएको छ’, बैठकबारे जानकारी दिँदै सापकोटाले भने । 

अध्यक्षले सरकारको पनि जिम्मेवारी लिएकाले सरकारको काम र बैठक निरन्तर बस्ने उनले बताए । साउनको अन्तिम साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको थियो । जनतासँग माओवादी रूपान्तरण विशेष अभियानका लागि केही पदाधिकारीहरूको अन्तर प्रदेश इन्चार्ज तोकेको थियो । माओवादीले चैत र वैशाखमा फेरि दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानको प्रभावकारी कार्यान्वयनका लागि पदाधिकारीबाटै इन्चार्ज तोकिनुपर्ने विषयमा पनि छलफल भइरहेको सचिव गणेश साहले बताए । साहका अनुसार अन्तर प्रदेशमा जान नेताहरूले चासो देखाएका छैनन् । 

‘स्थायी समिति सदस्यहरूलाई इन्चार्ज बनाएर पठाउने कि पदाधिकारीबाट इन्चार्ज बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । चैत र वैशाखमा दोस्रो चरणको जागरण अभियान भएकाले पदाधिकारीलाई नै कमान्डर बनाउनुपर्ने विषय पनि आएका छन्’, उनले भने, ‘कतिपय पदाधिकारीलाई भूगोलमा जान इच्छा देखाएका छैनन् । अन्तर प्रदेशमा जाने विषयमा कसैको पनि चासो नभएका छैनन् । कुन प्रदेशमा को जाने भन्नेमा अहिलेसम्म खाका आएको छैन । छलफल भइरहेको छ । मंगलबारसम्म निर्णय होला ।’

साह आफै इन्चार्ज बन्ने रुचि नभएको तर पार्टीले जुन जिम्मेवारी दिन्छ, त्यसमै काम गर्ने उनले बताए । चार महिने अभियानका लागि माओवादीले कोशीमा सचिवमा चक्रपाणि खनाल, मधेसमा सचिव लीलामणि पोखरेल, बागमतीमा उपमहासचिव जनार्दन शर्मा, गण्डकीमा सचिव देवेन्द्र पौडेल, लुम्बिनीमा सचिव हितमान शाक्य, कर्णालीमा उपमहासचिव मातृका यादव र सुदूरपश्चिममा सचिव डिलाराम आचार्य इन्चार्ज भएका थिए । यस्तै तीनवटा गैर भूगोल प्रदेश उपत्यका विशेषमा उपमहासचिव वर्षमान पुन, सम्पर्क समन्वयमा उपमहासचिव गिरिराजमणि पोखरेल र प्रवासमा सचिव राम कार्की इन्चार्ज भएका थिए । 

योपटक अन्तर प्रदेशमा जान नेताहरूले चासो नदिएकाले योजनासहित गृहकार्य गरेर आउन निर्देशन दिएको सचिव चक्रपाणि खनालले बताए । 

‘अध्यक्षले गृहकार्य पुगेन योजनासहित गृहकार्य गरेर आउनुहोस् भन्नुभएको छ । कसलाई कुन जिम्मेवारी दिने भन्ने विषय टुङ्गो लागेको छैन । आकाङ्क्षीको विषयमा पनि स्पष्ट खाका आइसकेको छैन । अध्यक्षले नै सोच्नुभएको होला’, उनले भने । 

तर स्थायी समिति सदस्य कालीबहादुर मल्लले पुराना नै इन्चार्जले जिम्मेवारी पाउने सम्भावना रहेको बताए । ‘शीर्ष नेताहरूलाई जानकारी गराएर म कर्णाली आएको छु । यसअघि छलफल भएअनुसार अन्तर प्रदेश जान कोही मानेका छैनन् । कर्णालीमा जनार्दन र शक्तिजी आउनुहुन्न होला । जो आएपनि कर्णाली बनाउने हामीले हो’, उनले हाँस्दै भने, ‘पदाधिकारीबाट इन्चार्ज भएनन् भने फेरी मै हुन्छु होला । केही प्रदेश बाहेक पुरानै इन्चार्जले जिम्मेवारी पाउने सम्भावना देख्छु ।’

यसअघि कोशीमा राम कार्की, मधेसमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल थिए । कर्णालीमा मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए । 

  • को को छन् आकाङ्क्षी ? 

कोशीबाट केन्द्रीय सदस्य शावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ लगायतले इन्चार्जको आकाङ्क्षा देखाएका छन् । इन्चार्जको जिम्मेवारी दिए उपमहासचिव हरिबोल गजुरेल पनि जान तयार देखिएका छन् । यसअघि त्यहाँका इन्चार्ज रहेका कार्की योपटक इच्छा देखाएका छैनन् । उनी प्रवासकै जिम्मेवारी पाएमा काम गर्ने मनस्थितिमा छन् । यद्यपि इन्चार्जको विषयमा आफूसँग अध्यक्षले परामर्श नगरेको कार्कीले बताए ।

‘इन्चार्जको विषयमा कुनै छलफल भएको छैन । यस विषयमा अध्यक्षले मसँग कुनै परामर्श पनि गर्नुभएको छैन । सीमित पदाधिकारीसँग सल्लाह गरेको भए थाहा छैन’, उनले भने । 

माओवादीभित्र विवादको केन्द्र बनेको मधेसमा इन्चार्जको आकाङ्क्षी धेरै रहेका छन् । यसअघि मातृका र गिरिराजमणिबिच देखिएको द्वन्द्वका दुवै नेताले इन्चार्ज पाउने सम्भावना नभएको एक नेताले बताए । चार महिने अभियानका इन्चार्ज रहेका लीलामणिले मतभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेकाले उनले जिम्मेवारी पाउने सम्भावना रहेको ती नेताले बताए ।

‘मधेसको इन्चार्ज बन्न मातृकाजी, गिरिराजमणिजी, लीलामणिजी, विश्व साहजी लगायत धेरै आकाङ्क्षी देखिएका छन् । विगतमा विवाद देखिएकाले मातृकाजी र गिरिराजमणिजीको सम्भावना कम छ’, ती नेताले भने, ‘लीलामणिजी आएपछि धेरै राम्रो काम भएको छ । उहाँ नै इन्चार्ज हुने सम्भावना छ । तर उहाँ मधेसको स्थायी बासिन्दा नभएकाले मधेसकाले नेताहरूले मान्छन् वा मान्दैनन् त्यसमा शङ्का छ ।’

यसअघि इन्चार्ज भएका साहले आफू इन्चार्ज नहुने र पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसकै चित्त बुझाउने बताए । संघीय राजधानी समेत रहेको बागमतीमा हितमानले नै इच्छा देखाएका छन् । तीबाहेक उपमहासचिव द्वय जनार्दन र वर्षमानमध्ये एकलाई जिम्मेवारी दिन सक्ने सम्भावना रहेको छ । तर वर्षमान बिरामी भएकाले भूगोलको जिम्मेवारी लिने मनस्थितिमा देखिएका छैन । 

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा जनार्दनले भने– ‘अध्यक्षले गृहकार्य दिनुभएको छ । त्यतिबेलै सोचौँला । अहिले केही छलफल भएको छैन ।’

गण्डकीमा सचिव देवेन्द्रले नै चासो देखाएका छन् । यद्यपि यस विषयमा केही छलफल नभएको उनले बताए । ‘मैले भूगोलमा पाए गर्छु भनेको छु । गण्डकीमा फेरि जिम्मेवारी लिने विषयमा केही छलफल भएको छैन । अध्यक्षले केही सोच्नुभएको होला’, उनले भने । 

लुम्बिनीमा यसअघि इन्चार्ज रहेका चक्रपाणिले नै इच्छा देखाएका छन् । लुम्बिनीमा नपाए कोशीकै जिम्मेवारी लिने मनस्थितिमा उनी रहेका छन् । लुम्बिनीमा पूर्वमुख्यमन्त्री समेत रहेका कुलप्रसाद केसीले पनि इच्छा देखाएका छन् । 

कर्णालीमा पदाधिकारीबाट शक्ति बस्नेतले नै जिम्मेवारी पाउने सम्भावना रहेको छ । पदाधिकारीबाट नभए यसअघिकै इन्चार्ज मल्लले जिम्मेवारी पाउने सम्भावना रहेको छ । 

यस्तै एक जना पनि पदाधिकारी नभएको सुदूरपश्चिममा आकाङ्क्षी धेरै देखिएका छन् । अभियानको इन्चार्ज भएर गएका सचिव डिलाराम आचार्य पूर्ण निको नभएकाले इन्चार्ज हुने सम्भावना देखिँदैन । स्थायी समितिबाट खगराज भट्टले इच्छा देखाएका छन् । लेखराज भट्ट एमाले प्रवेश गरेपछि खगराज इन्चार्ज भएका थिए । उनी पुराना र अनुभवी नेता भएकाले सम्भावना रहे पनि सुदूरपश्चिमका नेताहरू असन्तुष्ट रहेको एक नेताले बताएका छन् ।

सुदूरपश्चिमका भावी मुख्यमन्त्रीका रूपमा हेरिका उनलाई केही महिना पहिले दलको नेताबाट समेत हटाइएको थियो । उनले दलको जिम्मेवारी नपाए आफूलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अध्यक्षसँग आग्रह गरिएको बुझिएको छ । यस्तै केन्द्रीय सदस्यबाट पूर्वमुख्यमन्त्री समेत रहेका त्रिलोचन भट्ट र बिना मगरले इच्छा देखाएकी छिन् । बिना प्रचण्डकी बुहारीसमेत हुन् । अन्य कोही इन्चार्ज भए बिनालाई सह-इन्चार्जको जिम्मेवारी दिने सम्भावना रहेको एक नेताले बताएका छन् । 

बैठकले पदाधिकारीसहित स्थायी समिति सदस्यहरूको जिम्मेवारी तोक्ने तयारी गरेको छ । केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी प्रदेश समितिले नै तोक्ने छ । यीबाहेक विभाग, जबसमोर्चाको इन्चार्ज समेत फेर्ने बैठकको तयारी भएको प्रवक्ता सापकोटाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप