मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

महासेनानी इन्दीवर गुरुङलाई प्रश्न : फास्ट ट्र्याकको काम कहाँ पुग्यो ?

‘अदालतमा पुगेको विषय चाँडो टुङ्गियो भने २०८३ चैतसम्म सम्पन्न गर्छौं’
सोमबार, १४ फागुन २०८०, ०७ : ५३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ–तराई जोड्ने द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा सरकारले २०७४ सालमा नेपाली सेनालाई दिएको थियो । डीपीआर, रूख कटान, जग्गा व्यवस्थापन लगायत अन्य तयारी सकेर २०७८ सालदेखि सेनाले फास्ट ट्र्याकको निर्माणकार्य अघि बढाइरहेको छ । 

यस बहुप्रतीक्षित आयोजनाका के कति कार्य सम्पन्न भए र बाँकी कार्य कसरी भइरहेछन् ? यसै प्रश्नमा केन्द्रित रहेर हामीले काठमाडौं तराई–मधेस द्रूतमार्ग सडक आयोजनाका अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख प्राविधिक महासेनानी इन्दीवर गुरुङसँग संवाद गरेका छौँ । प्रस्तुत छ, गुरुङसँगको संवादको सम्पादित अंश :

  • द्रूतमार्गमा पर्ने सुरुङमार्ग निर्माणको प्रगति कस्तो छ, कति काम बाँकी छन् ? 

समग्रमा हेर्ने हो भने परिमार्जित डीपीआरअन्तर्गत फास्ट ट्र्याकमा ६ वटा टनेल छन्— देवीचौर, सिसौटार, चन्द्रामभीर, महादेवटार, धेद्रे र लेनडाँडा टनेल ।

चन्द्रामभीर टनेल खन्ने काम सुरु हुँदै छ । देवीचौर र सिसौटार टनेल जुन ८ (ख) प्याकेज अन्तर्गत पर्छ, जसको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

खरिद व्यवस्थापन भइसकेर कार्यान्वयनमा रहेको र अन्तिम चरणमा रहेको प्याकेज १ को महादेवटार टनेल र प्याकेज २ को धेद्रे र लेनडाँडा टनेलको कुल लम्बाइ ६ हजार ४०० मिटर छ । यसमध्ये ७० प्रतिशत खन्ने काम सम्पन्न भइसकेको छ । 

  • बाँकी सुरुङमार्गको काम कहिलेदेखि कसरी अघि बढ्दै छन् ?

प्याकेज नम्बर ११ अन्तर्गत खोकनादेखि बुङमती खण्डसम्म आउँदा डुकुछापतर्फ साढे ६ किलोमिटर पर्छ । खोकनालाई सुरु बिन्दु मान्दा ११ किलोमिटर अगाडि बढेपछि प्याकेज नम्बर ८ (ख) मा पहिलो टनेल सुरु हुन्छ । त्यो ईपीसी प्याकेजअन्तर्गत पर्छ । ललितपुर जिल्लाभित्रको देवीचौर क्षेत्र, जहाँ एक किलोमिटर हाराहारीको सुरुङमार्ग छ । त्यसपछि एउटा सानो खोला निस्किएपछि अर्को चार सय मिटर हाराहारीको सिसौटार टनेल सुरु हुन्छ, जुन ८ (ख) प्याकेज अन्तर्गत पर्छ । यी ललितपुर खण्डमा पर्ने प्याकेज भए । 

fast track (4)

मकवानपुरमा रहेको चन्द्रामभीर टनेल दुई हजार २५० मिटर लामो छ । यसमा कोभेकसँग सम्झौता भएर अहिले भौगोलिक अवस्थाको जाँच भइरहेको छ । 

२०८० साउन ३० मा डीपीआर संशोधन हुँदा दुई ठाउँमा पुल थपिएर ८९ वटा पुगेका छन् । तीनवटा टनेल (देवीचौर, सिसौटार र चन्द्रामभीर)को संशोधित डीपीआरअन्तर्गत ठेक्का भई चन्द्रामभीर टनेल खन्ने चरणमा छ भने बाँकी दुईवटाको टेन्डर खोल्ने क्रममा छौँ । 

फास्ट्र ट्र्याकको सुरु बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ हो । यसको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिने निजगढको जक्सनमा इन्टरचेन्ज निर्माण हुन्छ । यस्तै, मकवानपुरको बुधुनेको चिलाउनेघारी क्षेत्रमा र काठमाडौँतर्फको सुरु बिन्दुमा गरी जम्मा तीनवटा इन्टरचेन्ज निर्माण हुन्छ । इन्टरचेन्जको डिजाइन सम्पन्न भइसकेको हुनाले त्यसको निर्माणको चरणमा प्रवेश गर्दै छौँ । 

  • अहिलेसम्म आयोजनामा कति प्रगति भएको छ, कति बजेट खर्च भयो ? 

२०७८ वैशाखमा पहिलोपटक प्याकेज १ र प्याकेज २ का लागि खरिद सम्झौता भएपछि २०७८ जेठ ३१ गतेदेखि कार्यान्वयनमा गएका थियौँ । अहिलेसम्मको भौतिक प्रगति लगभग ३०.०५ प्रतिशत पुगेको छ भने मोबिलाइजेन समेत गरी वित्तीय प्रगति ३१.०७ प्रतिशत छ । समग्रमा अहिलेसम्म यस आयोजनामा ५१ अर्ब रुपैयाँ लगानी भएको छ । आयोजनाको तयारी अवस्थादेखि नेपाली सेनाको क्याम्प निर्माण, जग्गा अधिग्रहणको व्यवस्था, रूख कटान लगायत सम्पूर्ण तयारी चरणदेखि हाल कार्यान्वयनको अवस्थासम्मको खर्च हो यो ।

  • आयोजनालाई अघि बढाउँदा के के समस्या देखिए ? 

आयोजनाको तयारीको चरणमा समय लाग्छ । अमेरिकी राष्ट्रपति अब्राहक लिंकनले भनेका थिए–‘मलाई रूख काट्न ६ घण्टा समय दिने हो भने ४ घण्टा बञ्चरो उद्याउँछु र दुई घण्टामा काट्छु ।’

सुरुमा तयारीका लागि हामीलाई धेरै समय लागे पनि अब हामी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौँ । खरिद प्रक्रिया सम्पन्न भएर कार्यान्वयनको चरणमा प्रवेश गरेपछि मात्रै भौतिक, वित्तीय प्रगति देखिने हो । तयारी अवस्थाको कार्य, जस्तै ः रूख कटान र जग्गा भोगाधिकारका विषय, उच्च अदालतमा मुद्दा प्रक्रियामा पुगेको खरिद प्रक्रिया आदिलाई चाँडो टुङ्ग्याएर कार्यान्वयनमा जान पायौँ भने त्यसपछि भौतिक प्रगति देखिन्छ । 

fast track (3)

केही प्राविधिक चुनौती कार्यस्थलमा आउँछन्, ती चुनौतीलाई हामी आफैँ समाधान गर्छौंं । कहिलेकाहीँ निर्माणका क्रममा कमजोर भू–बनोटका क्षेत्र भेटिन्छन्, त्यसलाई प्राविधिक रूपमा बलियो बनाउँदै आएका छौँ । कतिपय विषयवस्तु हाम्रो आयोजनाको क्षेत्राधिकारभन्दा बाहिरका छन्, जस्तै ः जग्गा भोगाधिकार र रूख कटानलाई विधिवत ढंगले टुंगोमा पुर्‍याउन सम्बन्धित मन्त्रालय र निकायहरूसँग सहकार्य गर्नुपर्छ । 

  • निर्धारित समयमा आयोजना सम्पन्न गर्न कसरी काम गर्दै हुनुहुन्छ ? 

हाम्रो तयारीका सबै चरण सकिएकाले अब आमूल रूपमा आयोजनाको भौतिक प्रगति देख्न सकिनेछ । आयोजना स्थलमा बन्न लागेका धराहराभन्दा अग्ला पुलको काम सकिन लागेका छन्् । सबैभन्दा लामो साढे तीन किलोमिटर बढीको सुरुङ निर्माण सकिन लागेको छ । तयारीको चरण सकिएर अब नतिजा देखिने चरणमा हामी प्रवेश गर्र्दै छौँ । अबको दुई–तीन वर्षमा फास्ट ट्र्याकको भौतिक प्रगति स्पष्ट रूपमा देखिन्छ ।

  • खोकना सुरु बिन्दुमा विवाद अझै समाधान भएको छैन, यसका लागि कस्तो पहल गर्दै हुनुहुन्छ ? 

यो विषयमा पुल्चोक क्याम्पसको रिसर्च एन्ड ट्रेनिङ युनिटसँग आयोजनाको जीटुजी आधारमा गत असोज १ गते सम्झौता भएको छ । फागुनको अन्तिमसम्म प्रतिवेदन आउँछ । सुरु बिन्दु कुन हो, फास्ट ट्र्याकबाट खोकनामा सवारी–साधन पुगेपछि उपत्यकाभित्र ती सवारीलाई कसरी प्रवेश गराउने, मालवाहक ट्रकलाई सुक्खा बन्दरगाह चोभारमा कसरी पठाउने भन्ने विषय प्रतिवेदनमा आउला । 

डीपीआर अनुसार अहिलेसम्म काठमाडौँतर्फ सुरुबिन्दु खोकना नै हो, तैपनि अहिले अध्ययनको काम भइरहेकाले सुरु बिन्दु कहाँ भन्ने अहिले नै भन्न सकिन्न । 

  • आयोजनाका विभिन्न प्याकेजमा कसरी काम भइरहेको छ ? 

आयोजनाका सातवटा प्याकेजहरू यसअगाडि नै व्यवस्थापन भएर काम अघि बढिरहेको छ । केही प्याकेजमा खरिद व्यवस्थापनको काम भइरहेको छ । समग्रमा हेर्दा टनेलका काम र उच्च उचाइका पुल निर्माण कार्य अन्तिम चरणमा पुग्दै छन्, जसको कार्यप्रगति हेर्दा हामी उत्साहित छौँ । मुख्य काम सुरुङ र पुल निर्माणको भएकाले अन्य साधारण कामलाई हामीले चुनौती ठानेका छैनौँ । 

प्याकेज नम्बर ४ मा जग्गा भोगाधिकार र रूख कटानको विषयले हामीलाई काम गर्न समय लागेको थियो, त्यसको पनि स्वीकृति आएकाले रूख कटान कार्य सुरु भइसकेको छ । काम गर्ने सन्र्दभमा डिजाइन अनुकूल काम गर्दैै जान्छौँ । 

प्याकेज नम्बर ४ मा ११ वटा पुल छन् । यो प्याकेजमा सिग्नेचर पुल अर्थात् हामी आइकोनिक पुल भन्छौँ, जो आयोजनाकै अन्य पुलभन्दा फरक पुल हो । यो पुल निर्माणको काम पनि अघि बढिरहेको छ । समय सीमाभित्रै यी पुल निर्माण सम्पन्न हुनेमा हामी आशावादी छौँ । 

fast track (1)

  • केही खण्डमा काम सुरु हुन सकेको छैन, ती खण्डमा परेको गाँठो फुकाउन माथिल्ला निकायमा कसरी पहल गर्दै हुनुहुन्छ ? 

दुईवटा प्याकेजको काममा सम्मानित अदालतमा मुद्दा परेर रोकिएको छ । अदालतमा पुगेको विषय सकेसम्म चाँडो टुङ्गियोस् भन्ने हाम्रो चाहना छ । मुद्दा परेको विषय चाँडो टुङ्गियो भने २०८३ चैतसम्मको समय सीमाभित्र काम गर्न हामीलाई सहज हुने थियो । जे–जति काम भएको छ, त्यसलाई अघि नबढाउनू भनेर अन्तरिम आदेश भएको हुनाले हामीले बाँकी खण्डमा काम अघि बढाएका छैनौँ । मुद्दा चाँडो किनारा लाग्यो भने हामीलाई तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न सहज हुने थियो । 

  • प्याकेज नम्बर ५ अर्थात् फास्ट ट्र्याकको निजगढतर्फको सुरु बिन्दु क्षेत्रमा कति काम भएको छ ? 

काठमाडौंबाट निजगढ पुग्दा फास्ट ट्र्याकको अन्तिम बिन्दु झन्डै ६ किलोमिटर अर्थात् प्याकेज नम्बर ५ को निर्माणाधीन खण्डमा सबबेसको काम सुरु भइसकेको छ । सबबेस पछाडि डीबीएम गरेर अलिपछि ‘अस्फाल्ट’को काम सुरु गर्छौं । यो क्षेत्रको झन्डै ६ किलोमिटर क्षेत्रमा सबबेस र बेसकोर्सको काम पनि केही समयपछि सुरु हुन्छ । लगभग यो खण्ड हामी फिनिसिङ गर्दै छौँ ।

पूर्व–पश्चिम राजमार्ग छोएको ठाउँदेखि बकैया खोलाको पुलसम्मको यो क्षेत्रमा भेकल अन्डरपास, एनिमल अन्डरपास, बक्स कल्भर्ट निर्माणको काम करिब अन्तिम चरणमा पुगिसकेको छ । त्यो सम्पन्न हुनासाथ सबबेस कोर्सको काम सकेर बेसकोर्समा जान्छौँ र त्यसपछि फिनिसिङको चरणमा प्रवेश हुन्छ । 

fast track (2)

  • अहिले सबैभन्दा बढी प्राथमिकता सुरुङ र पुल निर्माणलाई दिनुभएजस्तो लाग्यो, सडक निर्माणको कामलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? 

विभिन्न खण्डहरूमा सिक्नेचर पुलदेखि विशेष प्रकृतिका पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । द्रूतमार्गको खण्डमा भन्दा पनि पुल निर्माणमा समय लाग्ने हुन्छ । अग्ला–अग्ला पुल निर्माण गर्नुपर्ने, त्यसको भौतिक संरचना पनि त्यही अनुसारले बनाउनुपर्ने भएकाले त्यो सम्पन्न भएपछि सडक बनाउनका लागि कुनै ठूलो चुनौती भएन । निर्माणको मुख्य चुनौती भनेकै पुल र सुरुङ नै हो । सडकमा बेस, सबबेसको काम सहज हुन्छ, त्यो चुनौतीपूर्ण कामभित्र पर्दैन । सुरुमा चुनौतीपूर्ण काम सम्पन्न गरिसकेपछि फास्ट–ट्र्याक सडक सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । पहिला हामीले बनाउनुपर्ने पुल र टनेल नै हो । 

  • निजगढमा जंगली जनावरले सडक पार गर्ने छुट्टै संरचना निर्माण गर्ने पनि योजना छ, त्यो कस्तो हुन्छ ?

निजगढ राष्ट्रिय निकुञ्जको नजिकै छ, हात्तीको चहलपहल बढी हुने क्षेत्र पहिचान गरेका छौँ । जहाँ हरेक वर्ष हात्तीको चहलपहल हुन्छ, त्यो ठाउँमा हामीले विश्व प्रकृति संरक्षण कोषको मापदण्ड अनुसार जनावरले सडक पार गर्ने अन्डरपास संरचना बनाउँदै छौँ । साथै सडक आयोजनाको दुवैछेउमा हरियाली विकास गर्छौैैं । सडकको बिचमा चार मिटरको डिभाइडर क्षेत्रमा पनि हरियाली विकास गर्ने योजना छ । दुवैतर्फ पानी कटानका लागि नाली बनाउँछौँ । 

तराई क्षेत्रमा प्रतिघण्टा एक सय किलोमिटर र पहाडी क्षेत्रमा प्रतिघण्टा ६० किलोमिटरको स्पिडमा गाडी गुडाउन सक्ने क्षमता छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप