बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको केन्द्रीय समिति बैठक विवादमा, शेखर—गगन समूह समानान्तर बैठकको तयारी

सोमबार, १४ फागुन २०८०, १५ : ४२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा गुटगत लफडा देखिएको छ ।  नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले १५ फागुनमा  ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ बोलाएका छन् । 

तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठकमा नेविसंघको शेखर कोइराला—गगन थापा समूहले सहभागिता नजनाउने बताएको छ ।  तर, कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई नेविसंघको विवाद मिलाउने जिम्मेवारी दिएको बुझिएको छ ।

संस्थापन र इतर पक्षका पार्टी नेता र संघका दुबै समूहका नेतालाई  सोमबार साँझ बैठक बोलाएर विवाद मिलाएर मंगलबारको बैठक गराउन महामन्त्री शर्मा लागेका छन् । नेविसंघ अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णय उल्लङ्घन गरेपछि विवाद सुरु भएको शेखर—गगन समूहको आरोप छ ।

काठमाडौँ, धादिङ, सुनसरी, दोलखा,  मकवानपुर, बारा, नवलपरासी (वर्दाघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंको जिल्ला अध्यक्ष तोकिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।

महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरू समेत नगरेर आगामी असार १५ मा महाधिवेशनको मिति तोकिएको उनको भनाइ छ । महाधिवेशन पूर्व तयारी र विवाद समाधानका विषयमा संगठनभित्र छलफल, सल्लाह, समन्वय नगरी अध्यक्ष शेर्पा गुटगत स्वार्थमा लागेको उनको भनाइ छ ।

आफूहरुसँग कुनै छलफल नगरेको भन्दै भोलि शेखर—गगन समूहको छुट्टै बैठक बस्ने तयारी भइरहेको भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप