बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रिस उठेर उजुरी गर्‍यो भन्दैमा केको नैतिकता ? : मन्त्री बस्नेत

‘संसद्‍मा राजीनामा मागेर एमालेले ‘पुङ न पुच्छर’को कुरा गर्दैछ’
सोमबार, १४ फागुन २०८०, १७ : ०८
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित पोखेका छन् । सोमबार संसद् बैठकपछि सो प्रकरणबारे जिज्ञासा राख्दा बस्नेत आक्रोशित हुँदै ‘तपाईं कहाँको पत्रकार हो ?’ भन्दै प्रतिप्रश्न समेत गरेका हुन् । 

पत्रकारहरूले सो प्रकरणमा मुछिएका तपाईंले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि ! भन्दै जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने ‘केको नैतिकता ?’ भन्दै पत्रकारमाथि खनिए । ‘कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ?,’ मन्त्री बस्नेतको आक्रोश थियो । 

उनले एमालेले संसद्मा आफ्नो राजीनामा माग गरेर ‘पुङ न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए । उनले सो प्रकरणमा आफूले गल्ती नगरेको जिकिर गर्दै आफूमाथि उजुरी दिनेको नाम पनि समय आएपछि सार्वजनिक गर्ने बताए ।

यस्तो छ मन्त्री बस्नेतको भनाई :

हामीले हेर्दाखेरी पुङ न पुच्छरका कुरा लिएर हिँडेका छन् । उजुर गर्न आफैँ हिँड्छन् । अनि, त्यहाँ बोल्न आफैँ हिँड्छन् । अनि आफूले भनेको सबै ठिक हो भन्छन् । होइन भने बेठिक हो भन्छन् । देखिरहनुभएको छ नि तपाईंहरूले । सामान्य नैतिकता देखाएनन् भन्ने कुरा छ मन्त्रीहरूले । के हो नैतिकता ?

सुन्नुस्, यो देशमा कानुन छ । ऐन छ । कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईंले सिकाउनु पर्छ ? तपाईंलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । म प्रतिप्रश्न सोध्न चाहन्छु–संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईंहरूले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि । उसको फण्डाबाज हो यो ? पहिला सुन्नुस् तपाई । यो विषयमा सट्आठईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेस गरेको छ ।

नेपालमा हरेक वर्ष कोभिडको एक वर्ष बाहेक उसको ग्राहक बढिराखेको छ । आम्दानी घटिराखेको छ । हुँदाहुँदा कसरी अन्तिम गएर नामसारी गरेको हो, त्यो पनि थाहा छ । तपाईंहरू यसको पक्षमा वकालत गरेर बसिरहनुभएको छ । सुन्नुस्, राष्ट्रमा ठगी गर्ने कुरामा जुनबेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन । म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमति दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पुर्‍याएर चाहिँ अगाडि बढाएको छ ? तपाईंलाई नेपालको कानुनमा कसैलाई दोषी करार गर्नका लागि भनिदिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो ।

तपाईं जहाँ गएपनि कान्तिपुरले अहिले सुन्नुस् । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरू कानुनी कारबाही भोग्नुपर्छ । सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो ? तपाईंलाई यदि याद छ भने धनगढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । तपाईंलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईंहरू । वर्षको २० अर्बभन्दा बढी घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अब त्यो घोटाला भएको के गर्दो हो त ?

सीआईबीको रिपोर्टमा पनि अर्बौं घोटाला भएको देखाएको छ । अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहिँ यो कलबाईपास गरेर खानेहरूको विरुद्धमा आएको नीति होइन भनेर उल्ट्याउने हो भने यो नियन्त्रण गर्ने विधि चाहिँ के हो ? सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईंहरू । मैले यो विषयमा तपाईंजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो ? म त्यो पनि भनौँला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप