मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सञ्चालनका लागि बागमतीमा पुनः सर्वदलीय बैठक

मङ्गलबार, १५ फागुन २०८०, ०७ : ४८
मङ्गलबार, १५ फागुन २०८०

मकवानपुर । बागमती प्रदेशसभा सञ्चालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बस्न लागेको हो ।

बैठक बिहान ८ बजे बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्ने छ । यसअघि बसेको बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको पूर्व निर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्ने गरी आज पुन बैठक बस्ने तयारी गरिएको हो ।

बैठकले बजेट पारित गर्दाको समयमा विपक्षी दलहरूसँग बजेट विनियोजनका सन्दर्भमा सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गरी टुङ्गोमा पुग्ने नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवं उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

संसद्का अधिकांश विषयहरूमा सबै दलहरूबिच सहमति बने पनि विपक्षी दलहरूले माग गरेका केहि विषयमा भने सहमति जुट्न नसक्दा आज पुनः बैठक बस्ने तयारी गरिएको हो ।

गत आइतबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन, व्यवस्थापन र संसदीय समितिका सभापति चयन गर्ने विषयमा सहमति गरेको थियो । संसदीय नेतृत्व चयनका लागी कांग्रेसका संसदीय दलका सचेतक गोविन्द लम्सालको संयोजकत्वमा कार्यदल समेत बनाइएको छ ।

उक्त कार्यदलमा अन्य दलहरूका सचेतकहरू सदस्य रहेका छन् भने कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप