सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

कोशीको ‘बेइमानी’ ले उपनिर्वाचनमा कांग्रेसलाई नै तनाव

संघ–प्रदेश उपचुनावको तयारी तीव्र, स्थानीय तहबारे सरकार उदासीन
बुधबार, १६ फागुन २०८०, ११ : ३०
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । प्रमुख राजनीतिक दलमा आगामी वैशाख १५ मा हुने प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचनको हिसाब–किताब सुरु भइसकेको छ । निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो ।

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायतका दलहरु उपनिर्वाचनको आन्तरिक तयारीमा छन् । इलाम–२ र बझाङको प्रदेशसभा (१)मा चुनावी गठबन्धन गरी जाने कांग्रेसको तयारी छ । सत्ता गठबन्धनमा औपचारिक छलफल भइनसके पनि कांग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा (१)मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार उठाउन चाहेको छ ।

कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘उपनिर्वाचनमा हामी गठबन्धनबाटै उम्मेदवार खडा गर्छौंं । इलाम र बझाङमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार हुन्छन् । यसअघि पनि दुवै ठाउँमा हाम्रै उम्मेदवार हुनुहुन्थ्यो । कांग्रेसकै सिट खाली भएका बेला सामान्यतया कांग्रेसकै हक हो । कांग्रेसले नै उम्मेदवारी दिनुपर्छ भन्ने छ ।’

माओवादी केन्द्रलाई आगामी दिनमा बेइमानी नहुने विश्वास नेतृत्व तहले दिलाउने गरी गठबन्धन अगाडि बढ्ने उनको भनाइ छ । ‘गठबन्धनभित्र कोशी प्रदेशमा कांग्रेसका साथीहरुले थोरै बेइमानी गरे । त्यसले साझेदार माओवादी केन्द्रको चित्त दुखेकै छ,’ उनी भन्छन्, ‘कांग्रेसको तर्फबाट हिजोका दिनमा भएका गल्ती नदोहोर्‍याउने कुरा गरी गठबन्धनलाई थप विश्वासिलो र भरपर्दो बनाएर अगाडि लिएर जाने जिम्मा हाम्रो नेताहरुको हो । त्यो पहल नेतृत्व तहबाट हुनुपर्छ ।’

२०७९ सालको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबिच गठबन्धन भएको थियो । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताउँदै आएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने उपनिर्वाचनबारे पार्टी निर्णयमा पुग्न बाँकी रहेको बताए ।

रास्वापाले पनि उपचुनावको भित्री तयारी गरिरहेको छ । सोमबार बसेको रास्वपाको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई उपनिर्वाचनको तयारीका लागि इलाम पठाउने निर्णय गरेको छ । रास्वपाले आन्तरिक सर्वे गरेर उपयुक्त उम्मेदवारलाई मैदानमा पठाउने बुर्लाकोटी बताउँछन् ।

राप्रपा पनि आफ्नै उम्मेदवार खडा गर्ने तयारीमा छ भने एकीकृत समाजवादीमा उपचुनावबारे छलफल सुरु भएको छैन । पार्टी महाधिवेशनमा केन्द्रित भएको भन्दै उपनिर्वाचनबारे परिस्थिति हेरेर निर्णय लिने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उम्मेदवारका आकांक्षी

इलाम– २ मा प्रमुख प्रतिस्पर्धी दल कांग्रेस र एमालेमा टिकटका लागि तीव्र लबिङ चलिरहेको छ । एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, स्थायी समिति सदस्यसमेत रहेकी पूर्वमन्त्री शिवमाया तुम्वाहाङ्फे, स्थानीय एमाले नेताहरू उदय राई, उमेश गुरुङ, बुद्धि खनाल, रवीन्द्र सुवेदीलगायत उम्मेदवार बन्ने होडमा छन् । एमाले इलामका अध्यक्ष महेश बस्नेतले उपनिर्वाचनबारे औपचारिक निर्णय नभएको बताए । तर एमालेले जिल्लामा चुनावको आन्तरिक तयारी गरिरहे‍को उनको भनाइ छ ।

कांग्रेसबाट जिल्ला सभापति डम्बरबहादुर खड्का मुख्य दाबेदार हुन् । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । कांग्रेसबाट खड्काका साथै नेताद्वय केशव थापा र भेषराज आचार्यबिच उम्मेदवार बन्न तीव्र प्रतिस्पर्धा छ । 

पहिचानवादीले पनि यस पटक एकताबद्ध भएर साझा उम्मेदवार उठाउने तयारी गरेको छ । पहिचानवादीहरुको तर्फबाट १ नम्बर प्रदेश पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, केबी पालुङ्वा र लिम्बुवानका नेता कुमार लिङ्देनमध्ये एक जना उम्मेदवार हुने तयारी छ ।

आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बूले आफू स्वतन्त्ररुपमा चुनावी मैदानमा उत्रने बताएका छन् । रास्वपा र राप्रपा उपयुक्त उम्मेदवारको खोजी छन् ।

सांगठनिक शक्ति

२०१५ सालमा तत्कालीन इलाम पश्चिमबाट कांग्रेसका गणेशप्रसाद रिजाल र इलाम पूर्वबाट कृष्णबहादुर शाखे निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन इलाम एमालेमय भयो । इलाम १ बाट एमालेका झलनाथ खनाल र इलाम २ बाट मणिकुमार लिम्बु निर्वाचित भए । २०५१ मा इलाम १ मा खनाल दोहोरिँदा २ मा कांग्रेसका कुलबहादुर गुरुङ निर्वाचित भए । २०५६ मा इलाममा ३ वटा निर्वाचन क्षेत्र तोकिँदा १ मा कांग्रेसका बेनुप प्रसाईं र ३ मा केशव थापाले जित्दा २ मा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए ।

२०६४ मा इलाम १ मा एमालेका खनाल र २ मा नेम्वाङ निर्वाचित भए भने इलाम–३ मा कांग्रेसका गुरुङले बाजी मारे । २०७० मा गुरुङको ठाउँमा कांग्रेसका थापा निर्वाचित भए भने अन्य दुई क्षेत्रमा उस्तै परिणाम आयो । । दुई वटा निर्वाचिन क्षेत्र कायम हुँदा २०७४ र ०७९ को निर्वाचनमा कांग्रेस इलाममा निल भयो । उपचुनावमा एमालेको ध्येय आफ्नो बर्चश्व कायम राख्ने हुने छ भने कांग्रेस ‘कमब्याक’कोे खोजीमा ।

इलाम–२ मा इलाम नगरपालिका– १० बाहेकका सबै वडा, माई नगरपालिका– ६, ७ र ८ नम्बर वडा, देउमाई, चुलाचली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका पर्छन् ।

इलाम–२ मा २०७९ को निर्वाचनमा नेम्वाङ ३० हजार २० मतका साथ विजयी हुँदा गठबन्धनबाट कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएका थिए । रास्वपाका प्रकाश सापकोटाले १३ सय ८० मत पाउँदा मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले १३ सय ६३ प्राप्त गरेका थिए । यस्तै जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङवाले १२ सय ७२, जसपाका यामप्रसाद लिम्बुले ७२४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्द लिम्बुले ६८४ र राप्रपाका गणेश दुलालले ५१० मत पाएका थिए ।

इलाम– २ मा समानुपातिकतर्फ एमालेको २६ हजार ५६२ मत आयो भने कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । समानुपातिकतर्फ माओवादीको मत ५ हजार १५३, रास्वपाको मत ४ हजार ६८६, नेशनल मङ्गोल अर्गनाइजेशनको १६६१, राष्ट्रिय जनमुक्ति पार्टी १४१३, सङ्घीय लोकतान्त्रिक मञ्च १३२९, राप्रपा ११९१, जसपा ९०६ र नेकपा एकीकृत समाजवादीको ५८६ मत थियो ।

बझाङमा पनि दलहरुको तयारी तीव्र

प्रमुख दलमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनको टिकटका लागि हानथाप सुरु भइसकेको छ । यसअघिको चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित हुँदा एमालेका फलिलाल ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए ।

कांग्रेसबाट सिंहका छोरा अभिषेक, केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी, गायक नन्दकृष्ण जोशी, जगत जोशी र विष्णु ऐडीले आकांक्षा राखेका छन् ।

नेकपा एमालेमा ओखेडा, बझाङ अध्यक्ष दमन भण्डारी र जिल्ला कमिटी सदस्य प्रयाग जोशी आकांक्षी देखिएका छन् । माओवादी बझाङका अध्यक्ष टोपबहादुर खड्का र एकीकृत समाजवादीका बझाङका अध्यक्ष ईन्द्र भण्डारीले गठबन्धनको निर्णय अनुसार अगाडि बढ्ने बताएका छन् ।

स्थानीय तहका २४ पद रिक्त, सरकार उदासीन

स्थानीय तहमा उपचुनाव गराउन सरकार उदासीन देखिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख १५ मा स्थानीय तहको उपनिर्वाचन नहुने रातोपाटीलाई बताए । ‘स्थानीय तहमा रिक्त पदमा पनि वैशाख १५ मै उपनिर्वाचन गरौँ भन्ने हाम्रो कुरा थियो । वैशाख  १५ मै स्थानीय तहको उपनिर्वाचन गर्न कुनै गाह्रो थिएन,’ उनी भन्छन् ।

थपलियाका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन गराउने पक्षमा देखिएनन् । ‘स्थानीय तहको काम पनि रोकिएको अवस्था छैन । कार्यवाहकमार्फत काम भइरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा नेतृत्व नभएको अवस्था छ । स्थानीय तहको उपनिर्वाचन अनुकुल समयमा गरौँला, अहिले प्रतिनिधि र प्रदेशसभाको उपनिर्वाचनको मिति तोक्नुहोस् भन्ने कुरा भयो,’ उनले भने, ‘सोही अनुसार हामीले प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचनको मिति तोक्यौँ ।’

यसअघि गत वैशाख १० मा प्रतिनिधिसभा रिक्त तीन सिटमा उपचुनाव गराउँदा पनि स्थानीय तहको रिक्त (तत्कालीन ९) पदका लागि उपचुनाव गराउन सरकारले इच्छा देखाएन ।

सरकारको उदासीनताका कारण स्थानीय तहका एक पालिका प्रमुख, तीन उपप्रमुख, एक जिल्ला समन्वय समिति प्रमुख र १९ वडाध्यक्ष गरी २४ पदमा कहिले चुनाव हुन्छ भन्ने टुङ्गो छैन ।

स्थानीय तहका २४ पद रिक्त पदमध्ये कांग्रेसका १४, एमालेका ५, माओवादी ४ र स्वतन्त्र एक छन् ।

कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएर पद रिक्त छ । कांग्रेसबाट निर्वाचित कलेलको २०७९ पुस २३ मा निधन भएको थियो ।

कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको पनि निधन भएको थियो । गत वर्ष माघ २७ मा गुरुङको निधन भएपछि महाबु गाउँपालिका नेतृत्वविहीन अवस्थामा छ ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट निर्वाचित श्यामसुन्दर तामाङको निधन भएको छ । गत असार ३१ मा हृदयाघातका कारण उनको निधन भएपछि पद रिक्त छ ।

कार्तिक १७ गते गएको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । यस्तै माघ ३ मा बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । मृतक जोशी पनि कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

यस्तै डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि पद रिक्त छ । गत वर्ष मंसिरमा जोशीको निधन भएको थियो । गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि उक्त पद पनि रिक्त छ । गत भदौ २ गते झुण्डिएको अवस्थामा उनी मृत फेला परेका थिए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको असार २७ गते निधन भएर, यस्तै ककनी गाउँपालिका–२ का वडाध्यक्ष तिलकबहादुर लामाको गत जेठ ३१ गते निधन भएर, रौतहटको राजपुर नगरपालिका–६ का वडाध्यक्ष शेख मोजरे आलमको निधन भएरै तथा उदयपुरको त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष चुडाराज काफ्लेको गत वर्ष फागुन १४ मा सवारी दुर्घटनामा परी निधन भएर पद रिक्त छ । यी सबै कांग्रेसबाटै निर्वाचित थिए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ । वडाध्यक्षमा निर्वाचित कांग्रेसका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति सभापति भएपछि वडाध्यक्षको पद खाली रहेको हो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते निधन भएको छ । उनी पनि नेपाली कांग्रेसबाटै निर्वाचित थिए ।

असोज १४ गते सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका— ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित थिए ।

गत वर्ष कात्तिक ११ गते गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर राना, गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जन बोहराको निधनले पद रिक्त भएको छ । उता सुनसरीको गढी गाउँपालिका–६ का वडाध्यक्षको पद पनि रिक्त छ । त्यहाँ एमालेबाट सदानन्द उराँव झागर निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले पद रिक्तबारे भने केही खुलाएको छैन । रौतहटको ईशनाथ नगरपालिका–७ मा पनि वडाध्यक्षको पद रिक्त छ । गत निर्वाचनमा यहाँ एमालेका शेख खलीउल्लाह वडाध्यक्षमा निर्वाचित भएका थिए ।

गत माघ २२ गते दैलेखको दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन थियो । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

यही फागुन १० गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ का  अध्यक्ष नन्दलाल रोकायाको निधन भएको छ । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको असार ४ गते  निधन भएर तथा दार्चुलाको दुहुँ गाउँपालिका–५ का वडाध्यक्षको मनोरथ भट्टको पनि निधन भएर पद रिक्त छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पद रिक्त छ । माओवादीबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समितिको सभापति बनेपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

कालिकोटको तिलगुफा नगरपालिका–४ का वडाध्यक्षको परबहादुर शाहीको गत वर्ष असोजमा निधन भएको थियो । मलामी गएका बेला पहिरोले पुरिएर वडाध्यक्ष शाहीसहित १३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरु मृत भेटिएका थिए ।

यस्तै, काठमाडौँको कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । गत वैशाख १० गते मोटरसाइकल दुर्घटनामा गरी अधिकारीको निधन भएको हो । अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप