शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

आइतबार, २० फागुन २०८०, १२ : १८
आइतबार, २० फागुन २०८०

महेन्द्रनगर । जनकपुरधाममा धार्मिक पर्यटन  प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दा बढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका लागि प्रस्थान गरेका हुन् ।

अयोध्यामा राममन्दिरको निर्माण भएपश्चात् त्यहाँ पर्यटकको आवागमन बढेकाले जनकपुरधाममा पनि पर्यटकको आगमन बढाउने उद्देश्यले अयोध्या जान लागेको अध्यक्ष शाहले बताए । दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, जनस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटनको बढावा दिनु नै अयोध्या भ्रमणको मूल उद्देश्य रहेको होटेल व्यवसायी सङ्घ मधेसका अध्यक्ष विजय झुनझुनवलाले बताए ।

अयोध्या भ्रमणका क्रममा होटेल व्यवसायीले अयोध्यास्थित राममन्दिरमा पूजा आराधना गर्नुका साथै कोशेली पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । त्यस्तै त्यहाँका ‘टुर्स एण्ड ट्राभल्स एजेन्ट’सँग पनि छलफल गर्ने कार्यक्रम रहेको होटेल व्यवसायीले जनाएका छन् । अयोध्या प्रस्थान गर्नुअघि शनिबार बेलुका होटेल व्यवसायीले जानकी मन्दिरमा पूजा आराधना पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप