बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

टीआरसी पारित गर्न सोमबार बिहानै कानुन समितिको बैठक

आइतबार, २० फागुन २०८०, २२ : २५
आइतबार, २० फागुन २०८०

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) सहमतिमै टुंग्याउन एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच सहमति भएको छ ।  आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टिआरसी टुग्याउन सहमत भएको स्रोतको भनाइ छ । 

आइतबार बिहान पनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा सभापति रवि लामिछानेबीच टिआरसीबारे छलफल भएको थियो । तर आइतबारको कानुन न्याय तथा मानवअधिकार समितिमा विधेयक पारित नभएपछि साँझ पुनः प्रचण्ड, ओली र लामिछानेबिच बालुवाटारमा छलफल भएको हो । साँझ अध्यक्ष ओली महासचिव शंकर पोखरेल समेत लिएर बालुवाटार पुगेका थिए । त्यस्तै माओवादीका वर्षमान पुन पनि बालुवाटार छलफलमा सहभागी भएका थिए । 

‘साँझको छलफलमा पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) संसदबाट सहमतिका आधारमा अगाडि बढाउने विषयमा छलफल भयो, लगभग सहमति पनि भयो । केही भाषा मिलाएर भोलीको समिति बैठकले विधेयक पारित गर्छ’, बालुवाटार स्रोतले भन्यो । 

यसैबिच बालुवाटारमा नेताहरुबीच सहमतिको संकेत भएलगत्तै सोमबार बिहान ७ः४५ बजे कानुन समितिको बैठक बोलाइएको छ । एमाले सचेतक महेश बर्तौलाले सोमबार बिहान पौने आठ बजे बैठक बोलाएको जानकारी दिए ।

टिआरसी विधेयक संसदबाट सर्वसम्मत पारित गराउने कसरीमा सत्तारुढ माओवादी केन्द्र रहेको छ । सोही अनुसार माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख दलहरुसँग सहमतिको प्रयास निरन्तर गर्दै आएका छन् ।

यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौता (२०६३ मंसिर ५) बाट शुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पूर्णता प्राप्त गर्ने बताएका छन् । मल्लले आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलार्ई तार्किक निष्कर्षमा पुर्याउन अहोरात्र खटिरहेको बताएका छन् ।

‘मुलुकमा शान्ति, प्रगति र विकास चाहने जो कोहिले पनि सरकारको यस कदमलाई सहयोग गरौं। राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गरौं। जुन प्रक्रियाबाट आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो, त्यो प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु सम्पुर्ण परिवर्तनका पक्षधर शक्तिहरुको दायित्व हो’, मल्लले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप