सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

बृहत् वामपन्थी एकताका लागि एमाले र माओवादीले हृदय ठुलो बनाउनुपर्छ : झलनाथ खनाल

मङ्गलबार, २२ फागुन २०८०, १३ : १३
मङ्गलबार, २२ फागुन २०८०

सोमबार ठुला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकार गठन प्रक्रियामा फेरि एक ठाउँमा आइपुगेका छन् । पुस १० गते एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनामै एमालेसँगको सम्बन्ध तोडेर कांग्रेससँग सत्ता सहकार्य गरेका थिए ।

एक वर्षमै कांग्रेससँगको सहकार्य भङ्ग गरी प्रचण्ड फेरि एमालेतर्फ फर्किएका छन् । २०७७ साल फागुन २३ गते तत्कालीन नेकपा विघटनपछि एमाले र माओवादीबिच यो दोस्रो पटक सहकार्य हो ।

नाटकीय रूपमा जुरेको नयाँ समीकरणलाई लिएर वामपन्थी शक्तिहरू उत्साहित देखिएका छन् । एमाले र माओवादीका शीर्ष नेताहरूले विगतको तीतो याथार्थबाट पाठ सिकेर कोर्स करेक्सनको नयाँ अध्याय सुरू भएको दाबी गरेका छन् । केही वामपन्थी दलले सत्ता स्वार्थका लागि सहकार्य भएको आरोप लगाउँदै सम्बन्ध दीर्घकाल रहनेमा शंका गरेका छन् ।

सुरूदेखि नै बृहत् वामपन्थी एकताका पक्षमा उभिएका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग नयाँ सत्ता समीकरण र यसको भविष्यको सम्बन्धमा रातोपाटीका सहकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, पूर्वप्रधानमन्त्री खनालसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • बृहत् वामपन्थी एकताको पक्षमा तपाईं सुरूदेखि उभिनुभएको थियो । देशको राजनीतिक परिस्थिति अहिले त्यतै गएको हो ?  

मेरो लाइनमा जानुको अर्को विकल्प नै छैन । ढिलोचाँडो वामपन्थीबिच ध्रुवीकरण आवश्यक छ ।

  • एकाएक सत्ता समीकरण बदलिएको छ । कोर्स करेक्सनका लागि फेरि अवसर प्राप्त भएको हो ?

अहिलेको परिवर्तन नितान्त एकै रातमा भएको आकस्मिक घटना होइन । यसका पछाडि पनि पृष्ठभूमि छ । त्यो पृष्ठभूमिबाट परिस्थिति अहिले फट्को मारेको अवस्था हो । हिजो जुन प्रकारको गठबन्धन थियो, त्यसमा दक्षिणपन्थ हावी थियो । अहिले वामपन्थ अलि बढी हावी हुन खोजेको गठबन्धन बन्न खोज्दैछ । त्यसैले हामीले यसलाई आम रूपमा सकारात्मक ढंगले लिनु पर्छ, लिएका छौँ । तर यो वामपन्थको यात्रा सामूहिक रूपले हुन्छ कि अलि खण्डित ढंगले हुन्छ ? यो कुरा अहिले आम जनताले हेरिरहेको छ । त्यो कुरालाई हामी हेर्दै अगाडि बढ्दैछौँ ।

नयाँ समीकरणमा अगाडि बढिरहेका खासगरी दुई ठुला वामपन्थी समूह (एमाले र माओवादी) वृहत्तर वामपन्थी एकताको पक्षमा उभिने हुन् कि होइन ? जनतासामु उठेको सबैभन्दा महत्त्वपूर्ण यक्ष प्रश्न हो यो ।

  • प्रकारान्तरले वामपन्थीबिच एकता होला । तपाईंले भन्दै आएको समाजवादी क्रान्तिका लागि अहिले आधार तय भएको हो ?  

अहिले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्ति र रूपान्तरण युगमा आइसकेको अवस्था हो । यस्तो अवस्थामा देशका प्रगतिशील वामपन्थी शक्ति र समाजवादी शक्तिहरूको बिचमा एकता अनिवार्य र अपरिहार्य आवश्यकता हो । मैले यो कुरा सुरूदेखि नै भन्दै आएको हो । अहिले आएर परिस्थितिले अलिकति फड्को मारेको अवस्था छ । साँच्चै नै यसभित्र विभिन्न पक्षसँग भएका भेटघाट, वार्ता, सम्वाद अनेकौँ कुराको पृष्ठभूमि छ । अहिले त्यो पृष्ठभूमितर्फ जाने कुरा भएन । सबै वामपन्थी दलका बिचमा बसेर साझा नीति, कार्यक्रमका आधारमा मुलुकलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । यतिबेला वामपन्थी समूहको कत्तिको ठुलो हृदय छ भनेर समय, देश र जनताले परीक्षण गर्दैछ ।

  • गत शनिबार प्रधानमन्त्री प्रचण्ड र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’सँग के कुराकानी भएको थियो ?

उहाँहरूसँग मैले समसामयिक राजनीतिक स्थितिबारेमा कुराकानी गरेका थिएँ । वामपन्थी एकता आजको एजेण्डा हो । यसै एजेण्डामा कुराकानी गरेको हुँ । वामपन्थी एकता र धु्रवीकरणको विषयमा निरन्तर सम्वाद अगाडि बढाउने विषयमा कुरा भएको थियो । र, अहिले परिस्थिति जुन ठाउँमा आइपुगेको छ, यसका निम्ति धेरै खालका कुराकानी भइरहेको छ ।

  • वामपन्थी एकताका लागि तपाईंले एमाले र माओवादीतर्फ संकेत गर्दै हृदय कत्रो छ, त्यसमा भरपर्छ भन्नुभयो । एकीकृत समाजवादी आफैँ एमालेबाट चोइटिएर बनेको शक्ति भएकाले नकारात्मक सम्बन्ध कायमै देखिन्छ । अहिलेको समीकरणले फेरि एकतातर्फ लैजान मद्दत गर्छ ?

हिजो के कारणले पार्टीहरूमा विभाजन आयो ? एउटै नेकपा बनिसकेको अवस्था थियो । त्यो नेकपासँग १० लाखभन्दा बढी सदस्य थिए । संघीय संसदमा दुई तिहाइ बहुमत थियो । सात प्रदेशमध्ये ६ प्रदेशमा पूर्ण बहुमत थियो । स्थानीय तहमा ७५३ मध्ये ४५४ मा पूर्ण बहुमत प्राप्त भइसकेको अवस्था थियो । के कारणले गर्दा हामी यो ठाउँमा आइपुग्यौँ ? सबै वामपन्थी नेताहरूले छाती छामेर समीक्षा गर्न जरूरी छ । यी कारणबाट सिक्दै अब नयाँ धरातलमा एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ । त्यसका लागि के योगदान गर्नुपर्छ, म पूर्णरूपमा तयार छु ।

  • वामपन्थी ध्रुवीकरण मोर्चामा सीमित हुन्छ कि एकतातर्फ अगाडि बढ्छ ?

यसमा दुवै कुरा हुन्छन् । अहिले प्रारम्भिक रूपमा वामपन्थी एकता भनेको कार्यगत एकता हो । यो कार्यगत एकताबाट अगाडि बढेर विचार, नीति, कार्यक्रम, सिद्धान्तमा एकरूपता कायम गरेर गएमा पार्टी एकताका लागि ढोका खुलै छ ।

  • पुनर्गठित सरकारले पूर्णता पाउन बाँकी छ । एकीकृत समाजवादी यो सरकारमा सहभागी हुन्छ कि बाहिरै बसेर समर्थन गर्नुहुन्छ ?

तत्काल हामी सरकारमा जानका लागि त्यति अग्रसर छैनौँ । तर सम्मानजनक ढङ्गले वार्ता भयो, नीति तथा कार्यक्रम, योजना आदिमा सहमति भयो र संयुक्त रूपमा अगाडि बढौँ भन्ने कुरा भयो भने सरकारमा सहभागी हुँदै हुँदैनौँ भन्ने पक्षमा छैनौँ । सरकारमा सहभागिता रहन सक्छ । तर सही वैचारिक र नीतिगत आधार तय हुनुपर्छ ।

  • अब यो चार दलीय मोर्चा कामयै रहने सम्भावना कति छ ?

सम्भावनाको कुरा गर्दा बृहत वामपन्थी एकता आजको आवश्यकता हो । समाजवादी मोर्चा एकताका लागि आधार बन्न सक्छ । त्यसैले सम्भावना जहिले पनि रहन्छ । त्यसका लागि नेताहरूमा बृहत हृदय र व्यापक दृष्टिकोण आवश्यक छ । यो भयो भने वामपन्थी एकता हुन सक्छ । आज देशमा जुन संकट छन्, त्यो संकटलाई न्यूनीकरण गर्दै देशलाई सही दिशामा अगाडि बढाउने कुरामा राम्रो आधार तयार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप