शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१ वर्षभित्र सक्नुपर्ने पुल ७ वर्षसम्म अलपत्र

मङ्गलबार, २२ फागुन २०८०, १५ : १५
मङ्गलबार, २२ फागुन २०८०

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्षदेखि अलपत्र बनेको छ । करिब ७० मिटर लामो उक्त पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै तयार हुनसकेको छैन ।

पुलका दुई स्पानमध्ये हालसम्म एउटा मात्रै निर्माण भएको छ । पैँतिस/पैँतिस मिटरका दुई स्पानसहितको पक्की पुल ओदाल खोलामा निर्माणका लागि विसं २०७३ भदौ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

पटक–पटक म्याद थप हुँदा पनि निर्माण कम्पनीको ढिलासुस्तीले काम अघि बढ्न नसकेको स्थानीय बताउँछन् । समयमा पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । 

पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए । 

ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको स्थानीय दिलबहादुर खत्रीले बताए । विसं २०७४ फागुन १५ गते सक्ने गरी विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा उक्त पुल निर्माणको ठेक्का पाएको थियो । 

‍पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत्र ३० गते काम सक्नुपर्ने भनिएकामा निर्माण अलपत्र बनेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए । 
सिग्देलका अनुसार एक महिनाअघि निर्माण कम्पनी निर्माणस्थलमा परिचालन भए पनि सामग्रीको अभावले काममा ढिलाइ भएको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप