आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
खेल संरचना

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपालगन्ज रङ्गशालाको उपेक्षा

बुधबार, २३ फागुन २०८०, ०७ : २८
बुधबार, २३ फागुन २०८०

बुटवल । राष्ट्रिय खेलकुद परिषद्ले २०७५ सालमा निर्माण गरेको नेपालगन्ज रङ्गशाला यतिबेला उपेक्षाको सिकार बनेको छ । यो रङ्गशाला अहिले उपयोगविहीन जस्तै बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाहेक यो रङ्गशालामा कुनै खेल गतिविधि सञ्चालन गरेको छैन । संरचना निर्माण भएर पनि उपयोगविहीन भइरहेको सरोकारवाला बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषदले रङ्गशालाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको खण्डमा यहाँ खेलकुदका गतिविधि अघि बढाउन सहज हुने स्थानीय खेलप्रेमी बताउँछन् । तर अहिले रङ्गशालामा कुनै प्रतियोगिता आयोजना गर्नु परेको खण्डमा काठमाडौँ नै पुगेर अनुमति लिनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको स्विमिङ पुल, बर्मुडा घाँससहितको अत्याधुनिक फुटबल मैदान, ५०० दर्शक क्षमता (जी स्ट्यान्डर्ड)को भीआइपी प्यारापिट, भारोत्तोलन एकेडेमी र सुटिङ रेन्ज छन् ।

यहाँ रहेका ह्यान्डबल, पार्केटिङ सहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट पनि त्यसै थन्किएका छन् । आवश्यक खेलकुद गतिविधि नहुँदा यस्तो अवस्था आएको लुम्बिनी खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले रातोपाटीलाई बताए ।

ओलम्पियन खेलाडी सुरेन्द्र हमालले रङ्गशालामा टुर्नामेन्ट गर्न अनुमति लिन लागि खेलकुद परिषद्मै धाउनु पर्ने बाध्यता रहेकाले पनि समस्या देखिएको बताए । रङ्गशाला सञ्चालनका लागि प्रदेश या जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरेमा सहज हुने उनको भनाइ छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको नेपालगन्ज रङ्गशालामा खेलाइएको थियो । त्यो बेला उत्साहित बनेका नेपालगन्जका खेलप्रेमीहरु अहिले  निराश भएका छन् ।

हाल रङ्गशालामा कार्यरत ३ जना कर्मचारीको तलब राष्ट्रिय खेलकुद परिषद्ले पठाउने गरेको छ । त्यो बाहेक परिषदले रङ्गशालामा अन्य कुनै काम गर्न नसकेको स्थानीय खेलाडीको भनाइ छ ।

रङ्गशालाका कतिपय संरचना लामो समयदेखि प्रयोगविहीन हुनका साथै उचित रेखदेखको अभावमा जीर्ण हुन थालेको नेपालगन्ज रङ्गशाला प्रमुख महेश चन्दले रातोपाटीलाई बताए ।

उनले भने, ‘खेलकुद गतिविधि आयोजना गर्न चासो नराखेपछि  यहाँ मर्मत सम्भारका लागि ध्यान दिने कुरा नै भएन ।’

आठौँ राष्ट्रिय खेलकुदका बेला समय अभावको कारण देखाउँदै रङ्गशालाका कतिपय काम अधुरै छाडिएको थियो । ती काम पूरा गर्न पनि कसैले ध्यान दिएको अवस्था छैन । फ्लड लाइट जडान लगायतका काम बाँकी नै छ ।

५ वर्ष अगाडि बनाएको रङ्गशालालाई खेलाडीमैत्री बनाइ नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्धहरूले माग गरेका छन् ।

नेपालगन्ज रङ्गशालामा खेल र अभ्यासका लागि तोकिएको भाडादर चर्को भएको भन्दै गुनासो आइरहेको अवस्था पछिल्लो समय लुम्बिनी खेलकुद परिषद्ले तीन वटा कार्यक्रम गरेको छ । निर्माण भएपछि कोरोना कारणले दुई वर्ष यहाँ कुनै पनि प्रतियोगिता भएनन् ।

रङ्गशालामा रहेको स्विमिङ्ग पुल र ग्राउन्ड भाडमा दिने गरिएको छ । तर पछिल्लो समय स्विमिङ्ग पुल राम्रोसँग चलेको छैन । कार्यालय प्रमुख चन्दले भने, ‘केन्द्रले तलब बाहेक अरू बजेट दिदैँन, यहाँ स्विमिङ्ग पुल नचले अर्को महिना विद्युतको पैसा तिर्न पनि पुग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप