सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
फुटबल

रोनाल्डोको आँसु, यामलको सङ्घर्ष र मार्टिनेजको भविष्यसँग गाँसिएको नेसन्स लिग

सोमबार, २६ जेठ २०८२, १३ : ४४
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिग जितेपछि आँसु थाम्न सकेनन्। फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले उपाधि जित्यो।
  • रोनाल्डोले राष्ट्रिय टोलीबाट तेस्रो महत्त्वपूर्ण उपाधि जितेका हुन्, जसमा यो यूईएफए नेसन्स लिगको दोस्रो उपाधि हो। उनले खेलमा गोल समेत गरे।
  • खेलमा स्पेनका युवा खेलाडी यामल र पोर्चुगलका मेन्डेसको प्रदर्शनको चर्चा भयो, प्रशिक्षक रोबर्टो मार्टिनेजलाई पनि उपाधिले राहत दियो।

काठमाडौँ । महत्त्वपूर्ण प्रतियोगितामा देशलाई तेस्रो उपाधि चुमाएपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आँसु थाम्न सकेनन् । ४० वर्षको उमेरमा देशलाई उपाधि चुमाएर पछि भावनामा बगेका उनको आँखा आँसुले भरिएका थिए ।  राष्ट्रिय टोली र क्लब स्तरीय फुटबलमा जादुमयी प्रदर्शन गर्दै थुप्रै कीर्तिमान आफ्नो नामसँग जोडे पनि देशलाई विश्वकपको उपाधि चुमाउन नसकेको पिडा लिएर बाँचेका रोनाल्डोलाई यो उपाधिले धेरै हदसम्म राहत दिएको छ । 

सायद, त्यसैले आइतबार राति जर्मनीको म्युनिख रङ्गशालामा यूईएफए नेसन्स लिगको उपाधि उचालेर समर्थकहरूसँग खुसी साटासाट गर्दा पनि उनका आँखा ओभाएका थिएनन् । फाइनलमा पोर्चुगलले बलियो छिमेकी प्रतिद्वन्द्वी स्पेनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले हराउँदै उपाधि उचालेको हो । 

रोनाल्डोले राष्ट्रिय टोलीबाट जितेको यो तेस्रो महत्त्वपूर्ण उपाधि हो । उनले देशलाई यूईएफए नेसन्स लिगको उपाधि चुमाएको भने यो दोस्रो पटक हो । यसअघि सन् २०१८–१९ सिजनमा आयोजित नेसन्स लिगको पहिलो संस्करणको उपाधि पनि पोर्चुगलले नै जितेको थियो । 

पहिलो संस्करणको फाइनलमा पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोलले हराएको थियो । त्यसअघि पोर्चुगलले सन् २०१६ मा यूईएफए युरो कपको उपाधि आफ्नो पोल्टामा पारेको थियो । त्यतिबेला पोर्चुगलले फाइनलमा फ्रान्सलाई १–० गोलले हराएको थियो ।  रोनाल्डोले राष्ट्रिय टोलीबाट जितेको पहिलो उपाधि पनि युरो कप नै हो । आइतबार राति सम्पन्न नेसन्स लिगको फाइनलमा रोनाल्डो निर्धारित समयको ८८ औँ मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदानबाट बाहिरिएका थिए ।

तर, मैदानबाट बाहिरिनुअघि नै रोनाल्डोले आफ्नो जिम्मेवारी पूरा गरिसकेका थिए । खेलमा आफ्नो सबैभन्दा पुरानो छिमेकी प्रतिद्वन्द्वीविरुद्ध स्पेन २–१ ले अगाडि रहँदा रोनाल्डोले निर्धारित समयको ६१औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

रोनाल्डोले राष्ट्रिय टोलीबाट गरेको यो एक सय ३८औँ गोल थियो । यस क्रममा उनले आफ्नै कीर्तिमान पनि तोडेका थिए । समकालिन विश्व फुटबलका महान खेलाडीमध्येका एक रोनाल्डो पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । 

cccc

यतिमात्र होइन, रोनाल्डो विश्व फुटबलमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने चमत्कारिक खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वाधिक गोल गर्ने स्टार खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी हुन् । उनले हालसम्म एक सय १२ गोल गरिसकेका छन् । 

यो सिजनको यूईएफए नेसन्स लिगमा नौ खेल खेलेका रोनाल्डोले आफ्नो टोलीलाई उपाधिसम्म डोर्याउन आठ गोल गरे । यो सिजनको नेसन्स लिगमा रोनाल्डोभन्दा बढी गोल स्विडेनका भिक्टर ग्योकेरेसले मात्र गर्न सके । भिक्टरले प्रतियोगितामा कुल नौ गोल गरे ।

पछिल्लो समय भने क्लब फुटबल रोनाल्डोका लागि खासै उपलब्धिमूलक रहेको थिएन । उनी आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड छाडेर सन् २०२३ साउदी व्यावसायिक लिग खेल्न अल–नासरमा आबद्ध भएका थिए । तर, दुई वर्षे बसाइमा उनले अल–नासरबाट कुनै उपाधि चुम्न सकेका थिएनन् । 

त्यसैले पनि नेसन्स लिगको उपाधि रोनाल्डोका लागि अर्को राहत दिन विषय बन्न पुग्यो । सन् २०२२ को फिफा विश्वकपयता स्पेनले उपाधि चुम्न नसकेको यो पहिलो पटक हो । स्पेनले सन् २०२३ मा नेसन्स लिग र सन् २०२४ मा युरो कपको उपाधि उचालेको थियो ।

यस पटक पनि स्पेनिस टोली लयमा देखिएको थियो । प्रतियोगिताको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई ५–४ गोलले हराएपछि त स्पेनिस टोलीले आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याएको थियो । तर, रोनाल्डो र पोर्चुगलले स्पेनको त्यो सपना पूरा हुन् दिएनन् । 

आइतबारको खेलमा पनि विश्व फुटबलका उदाउँदा नक्षत्र लामिन यामलमाथि धेरैको आँखा थियो । उमेरले भर्खरै १७ वर्ष पुगेका यामलबाट स्पेनले पनि निकै आशा गरेको थियो । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट आफ्नो सिप तिखार्दै अगाडि बढिरहेका यामलको राष्ट्रिय टोलीबाट पहिलो उपाधि चुम्ने चाहना पनि पूरा हुन सकेन ।  

पोर्चुगलको फुल–ब्याक नुनो मेन्डेसले पनि टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । मेन्डेसले एकातिर स्पेनका युवा विंगर यामललाई सन्तुलनमा राखे भने अर्कोतिर, उनी आफैँले टोलीका लागि एक गोल पनि गरे । त्यसैले यो जितको श्रेय नुनोलाई पनि जान्छ । 

‘पोर्चुगलका लागि उपाधि चुम्नु सधैं विशेष हुन्छ । विश्वका थुप्रै चर्चित क्लबहरूबाट मैले थुप्रै उपाधि जितिसकेको छु । कीर्तिमानहरू पनि बनाएको छु । तर, देशका लागि उपाधि उचाल्दाको क्षणलाई म शब्दमा बयान गर्न सक्दिन । यो आँसु पनि त्यसैको उदाहरण हो । पक्कै पनि परिश्रमको फल मिठो हुन्छ,’ उपाधि चुमेपछि निकै भावुक देखिएका रोनाल्डोले भनेका छन् । 

एकातिर आफूभन्दा २३ वर्ष कान्छा यामल थिए, विश्व फुटबलका उदाउँदा खेलाडी । अर्कोतिर, ४० वर्षको उमेरमा देशको प्रतिष्ठाका लागि लडिरहेका रोनाल्डो । त्यसैले विश्वभरका थुप्रै फुटबल पारखीले आइतबारको भिडन्तलाई यो आँखाले पनि हेरेका थिए । 

494826917_4168626286714568_3107582766464174198_n

रोनाल्डो आफैले पनि यो कुरालाई राम्ररी बुझेका थिए । त्यसैले खेल जितेपछि उनले भन्न भ्याए, ‘जब तपाइँहरु रोनाल्डो र अन्य खेलाडीबिचको झगडा र विवादको बारेमा सुन्नुहुन्छ, त्यसमा केही मिडियाका मसलाहरू पनि थपिएका हुन्छन् । यथार्थ के हो भने मैदानमा जहिले पनि व्यक्ति होइन दुई फरक टोली भिडिरहेका हुन्छन् । त्यसैले यो यामल र मबिचको भिडन्त पटक्कै थिएन ।’

रोनाल्डोले फुटबल मैदानमा कोरेका कथाहरू यतिमा मात्र सीमित छैनन् । स्पोर्टिङ सिपीदेखि म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्स हुँदै युरोपको घेरा नाघेर एसियाली क्लब अल–नासरबाट खेल्दासम्म उनले आफ्नो सक्रिय खेल जीवनमा नौ सय ३८ गोल गरिसकेका छन् ।

सम्भवतः उनी एक हजार गोलको कोशेढुंगा पार गर्ने अभियानमा छन् । पक्कै पनि विश्व फुटबलमा यो चानचुने उपलब्धि होइन । उनले क्लब फुटबलमा हासिल गर्न अब सायदै कुनै उपलब्धि बाँकी होला ।

रोनाल्डोको विषयमा इङ्ल्यान्डका पूर्व मिडफिल्डर एन्ड्रोज टाउनसेन्ड भन्छन्, ‘उनी रोनाल्डो हुन् । त्यसैले उनी ४० वर्षको उमेरसम्म पनि फुटबल मैदानमा टिकिरहेका छन् । उनी फुटबल मैदानका कुशल सिकारी हुन् । उनलाई राम्ररी थाहा छ बल कसरी गुड्छ र कहाँ जान्छ । आज फेरि एक पटक उनले आफूलाई प्रमाणित गरेर देखाएका छन् र आलोचकहरूको मुखमा बुझो पनि लगाएका छन् ।’

अर्का फुटबल विश्लेषक करेन कार्नीले पनि यी बुढा बाघको खेलको चर्चा गरेका छन् । ‘जब तपाईँ ३० वर्ष पुग्नुहुन्छ त्यसपछि फुटबल मैदानमा तपाईँलाई बुढो खेलाडी भन्न थालिन्छ । यो मान्छे (रोनाल्डो) ४० वर्ष पुगिसकेको छ र अझै पनि हामीलाई चुनौती दिइरहेको छ । खेलका क्रममा उसले २२ पटक बल छोयो । खेल सकिएपछि मैले उसको आँखामा अर्के चमक देखेको छु,’ करेन कार्नीले भनेका छन् ।

खेलका क्रममा यामलको प्रदर्शन पनि कमजोर भने पक्कै थिएन । फ्रान्सविरुद्धको सेमिफाइनलमा दुई उत्कृष्ट गोल गरेका विंगर यामलले मैदानमा पटक–पटक प्रयास गरे । उनले विपक्षीको पोस्टमा केही गतिला प्रहार पनि गरे । तर, सायद आज उनको दिन थिएन । 

‘यामल आफैले पनि आज धेरै कुरा सिक्ने अवसर पाएका छन् । उनको खेलमा धेरै निखार पनि आएको छ । यो उनका लागि भविष्यको सम्पत्ति हुनसक्छ । उनले आफूलाई अझ तिखार्न बाँकी छ । उनका लागि यो अरूसँग तुलना गर्ने समय होइन,’ स्पेनिस फुटबल पत्रकार गुइलेम बालाग भन्छन् ।

यसका अतिरिक्त, स्पेनमाथि पोर्चुगलबो जितले प्रमुख प्रशिक्षक रोबर्टो मार्टिनेजलाई पनि ठुलै राहत दिएको छ । सन् २०२३ मा पोर्चुगिज टोलीको जिम्मेवारी सम्हालेका मार्टिनेजको भविष्यलाई पनि यो उपाधिले सुखद बनाउने पक्का छ । 

स्पेनमा जन्मिएका ५१ वर्षीय मार्टिनेज पोर्चुगलमा आबद्ध हुनुअघि बेल्जियमका प्रमुख प्रशिक्षक थिए । तर, बेल्जियमको स्वर्णिम पुस्तासँग मिलेर उनले कुनै उपाधि चुम्न सकेका थिएनन् । त्यसैले प्रमुख प्रशिक्षक मार्टिनेजको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । 

मार्टिनेजले प्रशिक्षकको भूमिकामा सन् २०१३ मा अन्तिम पटक विगत एथलेटिकलाई एफए कपको उपाधि चुमाएका थिए । तर, यो क्लब स्तरीय प्रतियोगिताको उपाधि थियो ।  त्यसो भए के नेसन्स लिगको उपाधिले उनको पद जोगाउन मद्दत गर्छ ?

स्पेनिस फुटबल पत्रकार बालाग भन्छन्– ‘पोर्चुगल फुटबल महासंघले मार्टिनेजलाई बर्खास्त गर्ने चर्चा यसअघि नै चलेको हो । महासङ्घका पदाधिकारीहरू जर्ज जिसस वा होजे मोउरिन्होलाई प्रशिक्षक बनाउन चाहन्छन् । तर, अब तपाइँहरु मार्टिनेजलाई कसरी हटाउनुहुन्छ ?’

494570379_1914761059288521_1781528190683578605_n

उनका अनुसार, मार्टिनेज अब सन् २०२६ को विश्व कपसम्म सहजै पोर्चुगलको प्रशिक्षकको भूमिकामा सक्रिय हुनेछन् । उनको पदावधि पनि सोही अवधिसम्म छ । ‘मार्टिनेजले रोनाल्डोलाई फेरि लयमा फर्काएका छन् । पोर्चुगललाई च्याम्पियन बनाएका छन् । सम्भवतः पोर्चुगलसँग अब उनको विकल्प छैन,’ बालाग भन्छन् । 

आइतबारको रात पोर्चुगलका केही खेलाडीका लागि त दोहोरो खुसीको क्षण थियो । लेफ्ट–ब्याक मेन्डेस, मिडफिल्डर जोआओ नेभेस, भिटिन्हा र स्ट्राइकर गोन्कालो रामोसले म्युनिखको एलियान्ज एरिनामा केवल आठ दिनको अन्तरमा दोस्रो ठुलो उपाधिको स्वाद चाख्ने अवसर पाए ।

उनीहरूले आठ दिनअघि यही रङ्गशालामा यूईएफए च्याम्पियन्स लिगको उपाधि उचालेर खुसीयाली मनाएका थिए । त्यतिबेला उनीहरूले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट च्याम्पियन्स लिगको उपाधि चुमेका थिए । 

च्याम्पियन्स लिगमा त मेन्डेस सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । पीएसजीले बलियो इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप