सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

२२ दिने मन्त्री बनेका डीपी अर्याललाई एक वर्षपछि त्यही मन्त्रालय

काठमाडौँमा सामान्य मजदुरीदेखि मन्त्रीसम्मको यात्रा
बुधबार, २३ फागुन २०८०, १८ : ४७
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा उनी दोस्रो पटक मन्त्री बन्न पुगेका हुन् । यसअघि उनी २२ दिनका लागि मात्रै श्रम मन्त्रालयकै जिम्मेवारी पाएका थिए । 

१३ माघ २०७९ मा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य हुन योग्य नरहेको ठहर गरेको थियो । अमेरिका र नेपालको दोहोरो नागरिकता लिएकोले प्रतिनिधिसभा सदस्य हुन योग्य नभएको ठहर गरेपछि सरकारमा सहभागी भएको ४२ औँ दिनमा अर्थात माघ २२ गते सरकार छाड्ने निर्णय गरेको थियो । यो निर्णयसँगै मन्त्री भएको २० दिनमै अर्यालले राजीनामा दिएका थिए । मन्त्रीबाट राजीनामा दिएको ३९६ दिनपछि अर्यालले पुनः त्यही मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

धादिङमा निम्न परिवारमा जन्मिएका अर्यालले शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेको अनुभव छ । पर्यटन उद्योग, रेमिटेन्स सेवा र समाज सेवामा सक्रिय अर्याल समानुपातिक सूचीबाट संघीय सांसद बनेका थिए । 

रेष्टुरेण्टको सामान्य मजदुरदेखि मन्त्रीसम्मको यात्रा

धादिङको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्यमा २०३२ सालमा जन्मिएका हुन् । उनी २०४९ सालपछि काठमाडौँ आएका थिए । रोजगारीका लागि काठमाडौँ प्रवेश गरेका अर्यालले रेष्टुरेण्टमा सामान्य मजदुरको रुपमा काम गरेका थिए । त्यसपछि उनी इजिलिंक रेमिटेन्सको सिइओसम्मको जिम्मेवारी पूरा गरिसकेका थिए । 

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब ८ वर्ष काम गरेका थिए । जापानबाट फर्किएपछि पर्यटन पेसामा प्रवेश गरेका अर्यालले सोही समयमा पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा समेत लगानी गरेर सक्रिय भएका थिए । 

जापानबाट फर्किएपछि सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापनिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंकरेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका थिए ।  

पछिल्लो समय समाजसेवामा समेत सक्रिय रहेका अर्यालले कालीकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोरोनाको समयमा अक्सिजन सिलिण्डर वितरणदेखि राहत र उद्धारमा उनले सक्रियता देखाएका थिए । 

श्रममन्त्री अर्याल करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न थिए । जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कुल र योकोहामा जापनिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरिसकेका थिए । अर्याल आफैँ पनि वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति भएका कारण वैदेशिक रोजगारीको दुख र समस्यासँग जानकार व्यक्ति हुन् । 

लामो समयदेखि इजिलिंक रेमिटेन्सको सञ्चालन गरिरहेका अर्याल खाडी मुलुकबाहेक जापान, कोरिया लगायतका देशका नेपाली श्रमिकको समस्याबारे जानकार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप