सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

किसानकी छोरी साहलाई दोस्रो पटक कृषि मन्त्रालयको जिम्मेवारी

बुधबार, २३ फागुन २०८०, १८ : ५५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । साढे एक दशक अघि संसदीय यात्रा सुरु गरेकी किसानकी छोरी ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दोस्रो पटक सम्हालेकी छिन् । उनले २०६४ सालबाट संसदीय यात्रा सुरु गरेकी थिइन् ।

बारा–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनले ०५४ मा माओवादीबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । आठ वर्ष भूमिगत राजनीतिमा संलग्न रहेकी उनी चौथो पटक मन्त्री बनेकी हुन् । साह २०६७साल कात्तिकमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधार राज्यमन्त्री बनिन् । त्यसको साढे ४ महिनापछि फेरि त्यही सरकारमा पर्यटन राज्यमन्त्री भइन् । नेकपा विभाजनपछि २०७९ सालमा १३ दिनका लागि पहिलो पटक कृषिमन्त्री बनेकी थिइन् । साहले आजदेखि दोस्रो पटक कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । 

बाराको करैयामाई–६ लौतनमा जन्मेकी साहको परिवार कृषि पेसामै संलग्न छन् । उनले विभिन्न अन्र्तवाताहरुमा आफू किसानकी छोरी बताउँदै आएकी छिन् । वि. सं.२०३८ सालमा जन्मेकी साहको परिवार सानैदेखि राजनीतिमा सक्रिय थिए । सानैदेखि विद्रोही स्वभाव भएको बताउने साह माओवादीले गरेको सशस्त्र जनआन्दोलनमा भूमिगत भएकी थिइन् ।

विद्रोही स्वभावकी साह जनयुद्धमा होमिएको माओवादीको विद्यार्थी संगठनमा रहेर काम गर्न गरिन् । उनले २०५४ सालदेखि माओवादीको विद्यार्थी राजनीतिमा सक्रिय भइन् । साह २०५७ सालमा माओवादीको महिला संगठनको बारा जिल्ला अध्यक्षसमेत बनेकी थिइन् । 

जनयुद्धमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी साहको २०६० सालमा पार्टीकै सहकर्मी अमृत शर्मा बजगाईंसँग विवाह भयो । हाल साहको तीन छोरा र श्रीमान् छन् । 

माओवादी जनयुद्ध त्यागेर मूलधारको राजनीतिमा आएलगत्तै २०६५ सालमा संविधानसभाको निर्वाचन भयो । माओवादी केन्द्रले उनलाई संविधानसभा सदस्य बनायो । ज्वालालाई २०६८ सालमा भूमि सुधार राज्यमन्त्री बनाइएको थियो । 

माओवादी केन्द्रको केन्द्रीय सदस्य हुँदै पार्टीको महिला संगठनको केन्द्रीय उपाध्यक्षसम्म भएकी ज्वाला २०७४ को निर्वाचनमा बारा ३ (क)बाट मधेस प्रदेशको प्रदेशसभा सदस्य पदमा निर्वाचित भएकी थिइन् । 

२०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा ज्वालालाई बारा जिल्ला सह–इन्चार्जको जिम्मेवारी दिइएको थियो । तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ– आफ्नो बाटो लाग्न फैसला गरेपछि ज्वालाले एमालेको बाटो रोजेकी थिइन् । सोही कारण उनलाई प्रदेशसभा सदस्यको पदसमेत गुमाउनु परेको थियो ।

प्रदेशसभा सदस्य पद गुमाएको केही दिन नबित्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा उनलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर सर्वोच्च अदालतको फैसलाका कारण त्यो सरकार केही दिन मात्रै चलेको थियो । 

मन्त्री साहलाई पछिल्लो समय कृषि क्षेत्रमा देखिएको जनशक्ति अभाव, दुधको बाँकी रहेको भुक्तानी रकम, लम्पी स्किनको क्षतिपूर्ति, अफ्रिकन स्वाइन फिभर रोग, आगामी सिजनका लागि मल लगायत चुनौती देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप