आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

सत्तामा नारायणकाजी र शक्तिको दबदबा

१२ वर्षपछि वर्षमानको अर्थमा कम्ब्याक
बुधबार, २३ फागुन २०८०, २१ : ००
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण बदलिएपछि दोस्रो पटक मौजुदा मन्त्रिपरिषद् विस्तार गरेका छन् । फागुन २१ गते कांग्रेससँग सहकार्य भंग गरी एमालेसँग मिलेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सोही दिन ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले, माओवादी, रास्वपाका थप १४ जना गरी १८ सदस्यीय बनाएका हुन् । 

नयाँ मन्त्रिमण्डलमा माओवादी केन्द्रले वर्षमान पुन र हितबहादुर तामाङबाहेक यस अघिकै मन्त्रीहरूलाई निरन्तरता दिएको छ । मन्त्रीको हिसाबले सबै पुरानै अनुहार हुन् । पुनर्गठित सरकारमा माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठ परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि यी सबै पटक–पटक मन्त्री भइसकेका अनुहार हुन् । 

narayankaji rabi

  • निरन्तर सत्तामा नारायणकाजी 

पाँच जनामध्ये श्रेष्ठ माओवादीबाट सबैभन्दा बढी मन्त्रीको अवसर पाएका नेता हुन् । २०६५ सालमा माओवादीसँग एकता गरेपछि श्रेष्ठ २०६८ सालमा झलनाथ नेतृत्वको सरकारमा पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए । त्यतिबेला उनी एक महिना मन्त्री भएका थिए । त्यसपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए ।  पुनर्गठन हुँदा पनि श्रेष्ठले निरन्तरता पाएका थिए । यस्तै २०६९ जेठमा उनी फेरि मन्त्री भए । तर पदीय जिम्मेवारी नपाउँदै जेठ १४ गते प्रधानमन्त्री भट्टराईले संविधान सभा विघटन गरे । २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा केही समय श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भए । रास्वपा सरकारबाट बाहिरिएपछि उनले गृहको जिम्मेवारी पाए । १२ वर्षपछि अहिले उनी फेरि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको हैसियतमा जिम्मेवारी पाएका छन् । 

  • शक्तिका शक्ति 

प्रचण्ड सरकारमा श्रेष्ठ पछि शक्ति बस्नेतले सबैभन्दा बढी अवसर पाएका छन् । २०६५ सालमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहेका उनी २०६७ सालमा झलनाथ नेतृत्वको सरकारमा पहिलोपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । २०७२ सालमा ओली सरकारमा उनी गृहमन्त्री भए । २०७४ सालमा ओली सरकारमै उनी वन तथा भू–संरक्षणमन्त्री भए । २०७९ सालमा प्रचण्ड सरकारमा ऊर्जा मन्त्री भएका उनी अहिले ऊर्जामै निरन्तरता पाएका छन् । 

  • १२ वर्षपछि वर्षमान अर्थमा फर्किए 

२०६८ सालमा बाबुराम नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्रीको जिम्मेवारी पाएका वर्षमान पुन अहिलेसम्म ४ पटक मन्त्री भएका छ । एमाले–माओवादी समीकरण बनाउने योजनाकार पुन हुन् । उनी १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको जिम्मेवारीमा फर्किन सफल भएका छन् । पुन २०७९ सालमा बाबुरामको पुनर्गठित सरकारमा शान्ति तथा पुनर्निर्माण सरकार भए । २०७४ सालमा ऊर्जामन्त्री भएका पुन अहिले अर्थमन्त्री बन्न सफल भए । 

  • हितबहादुरको पक्षमा उभिए प्रचण्ड

पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हितबहादुर तामाङ दोस्रोपटक मन्त्री भएका छन् । उनी २०६७ सालमा झलनाथ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । योपटक प्रचण्डले नै मन्त्रीको प्रस्ताव गरेका हुन् । फागुन २१ गते उनी पुनर्गठित सरकारमा बिना विभागीय मन्त्रीको जिम्मेवारी पाए । माघ २७ गते काठमाडौँको खुलामञ्चमा तामाङ समुदायले आयोजना गरेको सोनाम लोसारलाई सम्बोधन पुनर्गठित सरकारमा  तामाङलाई मन्त्री बनाउने घोषणा गरेका थिए । 

  • रेखालाई तीन पटक अवसर 

२०७२ सालमा ओली सरकारमा सामान्य प्रशासनमन्त्री भएकी रेखा शर्माले योपटक सञ्चार मन्त्रीमा नै निरन्तरता पाएकी छिन् । २०७९ मा उनी सञ्चार मन्त्री भएकी थिइन् । 

  • बाबुराम पक्षका मन्त्रीले पाएनन् निरन्तरता 

यसअघि प्रचण्ड सरकारमा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका महिन्द्र राय यादवले निरन्तरता पाएका पाएनन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव र उमरावती देवी निर्वाचित भएकी थिइन् ।  

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले सरकारमा नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने मत बलियो थियो । मन्त्री छान्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । तर प्रधानमन्त्री प्रचण्डले पुरानै अनुहारलाई निरन्तरता दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप