शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कार्यालय सहयोगी फरार

आइतबार, २७ फागुन २०८०, ०६ : ३७
आइतबार, २७ फागुन २०८०

सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै  चिन्तित भएका छन् ।
 
 पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ । प्रहरी कार्यालय सिरहाका अनुसार  कर्ण फरार रहेको र खोजी जारी रहेको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए ।
 
आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताइन् । उनले भनिन्, “ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न रकम फिर्ता नै ।” उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।
 
महतोजस्तै सुखीपुर नगरपालिका–५ का राजकिशोर यादव पनि ठगी गरी कर्ण फरार भएपछि आफू मानसिक तनाबमा परेको बताए । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११  स्थानीयले जम्मा रू ९६ लाख कर्णलाई ट्र्याक्टर पाउने आश्वासनमा बुझाएको जानकारी दिए । उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट रु पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए । 

पीडितहरूको यकिन तथ्या्क नभए पनि सयौँको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि रु १० करोडबराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो । अहिले दैनिक दर्जनौँ पीडित व्यक्ति घर पुग्ने गरेको कर्णको बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए । छोराको बदमासीका कारण यतिबेला आफू तनाबमा परेको जनाउँदै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएको उनले बताए ।
 
कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नायबसुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए । कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप