बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

आइतबार, २७ फागुन २०८०, १० : ३१
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । 

रातोपाटीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे । 

यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद  सिटौलाले प्रस्ताव गर्दै छन् ।

रातोपाटीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने–‘कांग्रेसलाई सोध्दै नसोधीकन यति गते चुनाव गर्ने भनेर हुन्छ ? राष्ट्रिय सभामा कांग्रेस दोस्रो ठुलो दल हो । हामीलाई त कसैले सोधेको छैन कति गर्ने चुनाव गर्ने भनेर । बजारमा भोलि गर्ने, पर्सी गर्ने भनेर हल्ला सुनिँदै छ । त्यसकारण हाम्रो समेत सल्लाहमा चुनाव गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

राष्ट्रिय सभामा दोस्रो ठुलो दलको रुपमा रहेको कांग्रेससँग अध्यक्षको निर्वाचनको मिति बारे सल्लाह नभएको लेखकले बताए ।  उनले अगाडि भने–‘कांग्रेससँग सल्लाह नै नगरीकन एकतर्फी रूपले राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्षको निर्वाचनको मिति तोक्ने कुरा बेठीक हो । अहिले त मिति तोकिएकै छैन, कुनै मिति तोकिएको छ भने कांग्रेसको सल्लाहमा तोकिएको हैन । प्रतिनिधि सभाको सबैभन्दा ठुलो पार्टी, राष्ट्रिय सभाको दोस्रो ठुलो पार्टीसँग सल्लाह नै नगरी मिति तोक्नु परम्पराको पनि विरुद्ध हो । हाम्रो समेत सल्लाहमा मिति तोक्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचन तोकिएको छ भने त्यसको एक दिन अगाडि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । 

गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका १० सांसद निर्वाचित भएर आएका छन् । यो सभामा कांग्रेस १६ सांसद सहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको माओवादी केन्द्रका १८ सांसद रहेका छन् । तेस्रो स्थानमा रहेको  एमालेका १० सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप