सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कोर टीम

कर्णालीका मुख्यमन्त्री शर्माको ‘कोर टीम’को प्रभावकारिता खोजी

आइतबार, २७ फागुन २०८०, १४ : ११
आइतबार, २७ फागुन २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो कोर टीममा ४ स्वकीय सचिव र ४ विज्ञ सल्लाहकारसहित ८ जना राखेका छन् ।

प्रमुख स्वकीय सचिवमा गृह जिल्ला रुकुमकै शैलेश कुमार शर्मा, स्वकीय सचिवहरूमा कालिकोटका पौरख कुमार विक, रुकुम पश्चिमका कृष्ण रोक्का र दैलेखका कृष्ण केसी छन् । प्रमुख स्वकीय सचिव शर्माले उपसचिव तहको सेवा–सुविधा पाउँछन् भने पौरख विकले शाखा अधिकृत र अन्यले नायब सुब्बा सरहको सुविधा पाउँछन् ।  यद्यपि शर्माको सचिवालय गतिलो नभएको टिप्पणी हुने गरेको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक शर्माका अनुसार निजी सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नेत्र कार्की रहेका छन् ।  चार विज्ञ सल्लाहकार मध्ये प्रशासनिक सल्लाहकारमा रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ का भरतकुमार शर्मा, जन–सम्पर्क सल्लाहकारमा सुर्खेतकी हरिमाया शर्मा, अर्थ विज्ञका रूपमा शालिकराम पोख्रेल (शर्मा) र प्रेस विज्ञका रूपमा शर्मा रहेका छन् ।

मुख्यमन्त्रीले प्रशासनिक विषयमा नेपाल सरकारका अवकाश प्राप्त सचिव समेत रहेका शर्मासँग सल्लाह लिने गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी जन–सम्पर्क सल्लाहकार शर्मा चाहिँ सहिद परिवारबाट आएकी सङ्घर्षशील महिला हुन् । 

अर्थ विज्ञ पोख्रेल (शर्मा) भने केही सुझाव आवश्यक पर्दा मात्र आउँछन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी राष्ट्र बैंकका उपनिर्देशक तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माको आर्थिक सल्लाहकार समेत भएका परिपक्व पात्र हुन । उनी १७ वर्षदेखि मौद्रिक र वित्त नीति, आर्थिक अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक विषयमा अनुसन्धानमा सक्रिय थिए । यस्तै प्रेस विज्ञ शर्मा प्रेस सेन्टरका प्रदेश अध्यक्ष हुन । सल्यानका उनी २०५६ सालमा जनयुद्धमा लागेका थिए । जनादेश पत्रिकामा काम गरिसकेका उनी आम सञ्चार प्रविधि र पत्रकारितामा स्नातकोत्तर हुन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का विज्ञ पनि हुन् । 

सचिवालय व्यवस्थित बनाउन नियुक्त गरिएका विज्ञ सल्लाहकार तथा सहयोगीहरुको भूमिका प्रभावकारी नभएको टिप्पणी हुने गरेका छन । यसर्थ न बजेट कार्यान्वयनमा वृद्धि हुन सकेको छ न प्रशासनिक सुधारका काममा उल्लेख्य प्रगति हुन सकेको छ । 

मुख्यमन्त्री शर्माले पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको पनि सल्लाह लिने गरेको उनी निकटस्थले बताएका छन् ।

मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारी भन्छन्, ‘मुख्यमन्त्रीले सबैको सल्लाह, सुझाव लिनुहुन्छ, सबै कार्यान्वयन हुनुपर्छ नै भन्ने छैन । आवश्यकता अनुसार सल्लाह लिने र दिने काम भइरहेको छ । तसर्थ जनार्दन शर्माको सल्लाह लिनु पनि स्वाभाविक हो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप