सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वित्तीय तथ्यांक

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब नाघ्यो

आइतबार, २७ फागुन २०८०, १५ : ५२
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । सञ्चित विदेशी मुद्राको आकार १८ खर्ब ४४ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको जनाएको हो । 

यो मुलुकको वार्षिक बजेट भन्दा पनि ठुलो परिमाण हो । आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबर मात्र छ ।  २०८० असार मसान्तमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६करोड रुपैयाँ बराबर रहेकोमा १९.९ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप