सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा बेवारिसे अवस्थामा फेला परेका शिशुका लागि अभिभावक प्राप्त

सोमबार, २८ फागुन २०८०, १५ : ३९
सोमबार, २८ फागुन २०८०

हेटौँडा । बेवारिसे अवस्थामा फेला परेको एक शिशुका लागि अभिभावक प्राप्त भएको छ । गत कार्तिक ३० गते हेटौँडा–४ हुप्रचौरमा भेटिएको नवजात शिशुले अभिभावक प्राप्त गरेको हो । हेटौँडा उपमहानगरपालिकाको अगुवाईमा वैकल्पिक हेरचाहकर्ताका रुपमा शिशुलाई अभिभावकत्व प्रदान गरेको हो ।

गत फागुन १४ गते नै हेटौँडा उपमहानगरपालिकाले शिशुलाई अभिभावकको जिम्मा लगाइएको हो । उपमहानगरपालिकाले पर्साको ठोरी गाउँपालिकाका निःसन्तान दम्पत्तिलाई शिशु हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाले शिशुको अभिावकत्व ग्रहण गर्न ३५ दिने सूचना जारी गरेको थियो ।

सोही सूचनामा आधारमा वेवारिसे भेटिएको शिशुको अभिभावकत्व ग्रहण गर्न ६ दम्पत्ति र एक एकल महिलाले इच्छा जाहेर गर्दै आवेदन दिएको हेटौँडा उपमहानगरपालिकाकी बालकल्याण अधिकारी विष्णु कुमारी लामिछानेले जानकारी दिइन् । प्राप्त आवेदन मध्येबाट जाँचबुझ गरी ठोरीको निःसन्तान दम्पत्तिलाई अभिभावकत्व प्रदान गर्नेगरी छनौट गरी शिशु हस्तान्तरण गरिएको उनले बताइन् ।

शिशुको अभिभावकत्व ग्रहणका विषयमा निर्णय गर्न उपमहानगरपालिकाले कार्यविधि नै निर्माण गरेर अघि बढेको उनले बताइन् । संघीय सरकारले निर्माण गरेको कानुनले वेवारिसे अवस्थामा भेटिएका शिशुलाई अभिभावक (वैकल्पिक हेरचाहकर्ता)लाई हस्तान्तरण गर्ने व्यवस्था गरे पनि कसलाई दिने भन्ने स्पष्ट नपारेकाले कार्यविधि निर्माण गरेर अघि बढेको उनले बताइन् । बालअधिकार संरक्षण तथा सम्वर्धनसम्बन्धी कार्यविधि–२०८० नै तयार पारेको उनले बताइन् ।

उपमहानगरपालिकाले निर्माण गरेको सो कार्यविधिले शिशुको अभिभावकत्व लिनेको विषयलाई स्पष्ट पार्नुको साथै शिशुका अधिकारका विषयमा अभिभावकत्व लिने व्यक्तिसँग निश्चित शर्तहरु समेत निर्धारण गरेको उनले बताइन् । ठोरी गाउँपालिकासँगको समन्वयमा अभिभावकलाई शिशु हस्तान्तरण गरिएको उनले बताइन् ।

उनका अनुसार हालसम्म निसन्तान र भविष्यमा पनि सन्तान प्राप्त गर्न सक्ने अवस्था नभएको देखिएको, सामाजिक, आर्थिक रुपमा समेत सक्षम देखिएकाले दम्पत्तिलाई शिशु हस्तान्तरण गरिएको छ । बेवारिसे अवस्थामा बरामद शिशु ३ महिना १४ दिन सेफ हाउसमा राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप