बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनसँग प्रतिस्पर्धा गर्न तीन नयाँ अनुहार मैदानमा

सोमबार, २८ फागुन २०८०, १६ : ०३
सोमबार, २८ फागुन २०८०

मस्को । रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । 

निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन । 

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए । तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ । 

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन नयाँ अनुहार पुटिनसँगको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।  

तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रुसको आक्रमणलाई समर्थन गरेका छन् ।

क्रेमलिनका आलोचकहरूले यी तीन उम्मेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औँल्याएका छन् ।

स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौं कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् । 

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उनकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ । 

गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौँ समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।

नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उनकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेका छन् ।

निर्वाचनको परिणाममा कुनै शङ्का नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ । युक्रेनमा रुसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकोले नेता पुटिन अहिले सहज स्थितिमा रहेका छन् । कीएभका लागि पश्चिमी समर्थन र रूसविरूद्धको व्यापक प्रतिबन्धहरूको बावजुद रुसी अर्थव्यवस्था लचिलो साबित भएको छ । -(रासस/एएफपी) 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप