बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास

सोमबार, २८ फागुन २०८०, २२ : १८
सोमबार, २८ फागुन २०८०

काठमाडौँ ।  डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो ।  

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.२.८९ करोड आर्थिक सहयोगमा  निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास गरेका हुन् । 

भारत सरकारको अनुदान सहयोगमा विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माण गरिने भएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो कार्यक्रमलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । 

कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन्, जसमा ४ वटा परियोजना डोटीमा छन् । 

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ, जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।

यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको छ । सो कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप