मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते

सोमबार, ११ साउन २०८३, २३ : ११
सोमबार, ११ साउन २०८३

सारांश

  • ललितपुरको महाँकाल गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
  • दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ।
  • घाइते पाँच जनामध्ये चार जनाको बी एन्ड बी अस्पतालमा र एक जनाको मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकामा स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त स्कार्पियो भक्तपुरको सानोठिमीस्थित एसओएस बालग्रामको रहेको र त्यसमा कार्यालयका कर्मचारीहरू सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ। उक्त स्कार्पियोमा चालकसहित कुल ६ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ। बी एन्ड बी अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा काठमाडौँको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौँ बस्ने ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौँ बस्ने ३६ वर्षीया डिना सोनाहा र नुवाकोट घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन् ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका अर्का एक जना काठमाडौँको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जनको भने महाँकाल गाउँपालिका–२ मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था मध्यम रहेको छ। हाल दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप