बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको तारिफ गर्दै ओलीले भने– उहाँको कदम सकारात्मक छ, विश्वासको मत दिनू

मङ्गलबार, २९ फागुन २०८०, १६ : ४९
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । 

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले पुरानो गठबन्धन फेरेर नयाँ समीकरण बनाएर समाजवादको पक्षमा निर्णय लिएको भन्दै अव यो सरकारलाई जोगाएर अघि बढ्नुको विकल्प नभएको बताए । 

‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रूपमा गर्दा हुन्छ । नबुझीकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ’, उनले भने । ओलीले भोलि प्रधानमन्त्रीले प्रतिनिधि सभामार्फत विश्वासको मत लिने भएकाले सवै सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित हुन निर्देशन समेत दिए । 

‘प्रधानमन्त्रीले फरक ढंगले कदम चाल्नुभएको छ । त्यस कदमलाई इतिहास तिरमात्रै हेरेर हुँदैन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ’, ओलीले प्रचण्डको तारिफ गर्दै भने, ‘प्रधानमन्त्रीको पुरानो गठबन्धन त्याग्ने र नयाँ देशभक्त, प्रगतिशिल र समाजवाद उन्मुख जनमुखी भएर नयाँ समीकरण निर्माण गर्ने पहल स्वागतयोग्य छ ।’ 

अध्यक्ष ओलीले भोली यदि प्रधानमन्त्रीले विश्वासको मतका लागि गर्ने प्रस्ताव असफल भए संयुक्त सरकारको च्याप्टर क्लोज हुनेतर्फ सांसदहरूलाई सचेत गराए । 

‘त्यो असफल हुनेबित्तिकै राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको, अयोग्य र स्वाभिमानहीन बन्छ । त्यस्तो सरकार बन्न दिनुहुँदैन । त्यस परिस्थितिबाट देशलाई जोगाउनुपर्छ’, ओलीको भनाइ छ । 

‘तसर्थ दिल खोलेर, विना हिचकिचाहट हामी विश्वासको मत दिन्छौ’, अध्यक्ष ओलीले सम्पूर्ण सदस्यलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमाथि विश्वास छ भन्ने पक्षमा मतदान गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप