सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण

शनिबार, ०३ चैत २०८०, २० : ५२
शनिबार, ०३ चैत २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो । निकुञ्जले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दिव्यपुरी पोष्ट नजिकबाट आज एक भाले गैँडालाई पूर्व ल्याएको हो । अन्दाजी १७ वर्षीय भाले गैँडालाई नियन्त्रणमा लिएर निकुञ्जको पूर्वमा रहेको कुचकुचे क्षेत्रको भित्री भागमा छाडिएको हो ।

दिव्य मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सो गैँडालाई राप्ती नदीपारीको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यो गैंडा निकुञ्जको भित्री क्षेत्रमा नै रहेको थियो । शुक्रबार नवलपुरको कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको थियो । 

अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वमा छाडिएको हो । यो गैँडाले बस्तीमा आएर दुःख दिने गरेको थियो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । निकुञ्जले अहिले छ गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा रहेका छन् । त्यसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण गर्न थालिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप