सिनेमा सेन्सर हुने देशको कल्पना गर्न सक्दिनँ : मीन भाम
काठमाडौँ । निर्देशक मीन बहादुर भामले आफू सिनेमा सेन्सर हुने देशको नागरिक हूँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । शनिबार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै भामले नेपालमा चलचित्र सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘हरेक कुशल शासकले यस्ता परिबन्ध खुकुलो पार्दै जान्छ । शासकहरूको डिक्टेटरसिप बढी भएको छनकको रूपमा र शासन सत्ता सर्जकसँग डराएको रूपमा म लिन्छु ।’ आजको समयमा पनि सिनेमामा सेन्सर हुनु दुःखद कुरा रहेको बताउँदै भामले भने, ‘जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नुपर्दा दुःख लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची चलाएर शासन सत्तामा भएका मान्छेले नेपाली सिनेमाको विश्व बजारीकरण गर्नुपर्छ भन्नुहुन्छ ।’ साथै सरकारले ट्याक्स तिरेर बेच्न, खान पाइने रक्सी चुरोट सेवन गरेको दृश्य सिनेमामा राख्नको लागि अर्को सर्त मान्नुपर्ने भन्दै राज्यले दोहोरो कानुन लगाएकोमा आपत्ति जनाए ।
विश्व सिनेमामा मौलिकताको बहसका बारेमा बोल्दै विश्वभरका सबै सिनेमाको एउटै भाषा दृश्य भाषा रहेको भामले बताए । ‘नेपालमा बसेर इरानको फिल्म अंग्रजी सबटाइटलमा हेर्न पाउनु मेरो विश्व सिनेमासँगको इन्काउन्टर हो ।’ कस्ता सिनेमालाई विश्व सिनेमा भन्ने प्रसङ्गमा उनले भने, ‘मेरो लागि एउटा फिल्म तब वर्ल्ड सिनेमा हुन्छ जब त्यसको कथ्य शैलीमा मेरो पनि कथा भेटिन्छ । घटना मेरो जीवनमा नघटेको भए पनि सामाजिक चेत, राजनीतिक परिदृश्यमा, पात्रमा, कथामा, बनोटमा जहाँ भए मैले मेरो जीवन जगतलाई हेर्ने धारणा त्यसमा भेट्छु तब त्यो वर्ल्ड सिनेमा हुन्छ ।’
विश्वमा मौलिक सिनेमाको बहस लामो समयदेखि हुँदै आए पनि नेपालमा यो नौलो रहेको उनले बताए । ‘एसियामा सबैभन्दा पहिले जापानले मौलिक फिल्म बनाउन सुरु गरेको जस्तो लाग्छ । कुरुसोभाले बनाएका फिल्म संसार भरीका दर्शकका लागि जहिले हेरे पनि बासी लाग्दैनन् । मौलिकताको बहस कोरिया, इरान हुँदै अहिले भिएतनामपछि नेपालमा छिरेको छ ।’ मौलिकपन पनि दुई खालको हुने कुरा उनले उल्लेख गर्दै उनले भने, ‘मौलिकपन देखिने र नदेखिने, बस्तुगत र विषयगत हुन्छ । मौलिकपनमा देखाउनेतिर मात्रै बहस भयो, भित्र जान सकिएन ।’ त्यसको कारण दृश्य साक्षरता कम हुनु पनि रहेको उनले जनाए ।
आफै पनि सुरुवाती चरणमा देखिने मौलिकतामा भुलेको बताउँदै उनले भने, ‘देखिने र नदेखिने मौलिकताको भेद के हो मलाई नै थाहा थिएन । कालोपोथी पछि मैले आफैलाई प्रश्न गर्न थालेँ । त्यसपछि म पनि देखिने मौलिकतामा दौडिएछु भन्ने मलाई रियलाइजेसन भयो । त्यसपछि नदेखिने मौलिकपन खोज्ने प्रयास गरेँ । अक्षरमा व्यक्त गर्न नसकिने कुरा मान्छेको हाउभाउमा सिनेमामा देखाउन सकिँदो रहेछ । जसले एउटा सिर्जना लोकल भएर पनि ग्लोबल हुन जाँदो रहेछ ।’ आफ्ना लागि काम नै साधना, कर्म र पेशा रहेको र कामले नै आफूलाई परिपक्व बनाउँदै लगेको कुरा पनि भामले बताए ।
‘ग्लोबल प्लाटफर्ममा जाँदा सिनेमामा मौलिक कथालाई अलिकति तन्काएर, फुलबुटा भर्नु नराम्रो कुरा हो जस्तो मलाई लाग्दैन । मौलिक स्वाद पस्किने भनेर राम्रोसँग नपाकेको रोटी दिँदा कस्तो होला ?’ उनले भने, ‘एउटा सर्जकको रूपमा आफ्नो सिनेमा सकेसम्म धेरैले हेरिदियोस् लाग्नु स्वाभाविक हो । उत्कृष्ट प्लाटफर्मको सवालमा फेस्टिभलको कुरा सोच्छु । त्यो बाहेक बाहिर देखाउला तामझाम गरौँला भन्ने म सोच्दिनँ ।’
समयसँगै आफ्ना लागि अभिनयको परिभाषा पनि फेरिएको भामले बताए । ‘पहिले मलाई जे देखिन्छ त्यो अभिनय हो जस्तो लाग्थ्यो, अहिले जे देखिन्छ त्यो अभिनय होइन जस्तो लाग्छ ।’ अहिले दर्शक र क्यामेराको दुरी कम हुँदै आएको बताउँदै उनले भने, ‘अहिले मेरा लागि एउटा कुशल अभिनेता त्यो हो जसले जसले केही केही नगरी आफूले भित्र सोचेको कुरा पर बसेको मान्छेसम्म पुर्याउन सक्छ । त्यसैले अनुभव भएको कलाकारसँग काम गरे पनि नभएको कलाकारसँग काम गरे पनि रोटी बनाउनुअघि पिठो मुछे जस्तो प्रक्रियामा जानैपर्छ । त्यसैले नयाँ या पुरानो कलाकारसँग काम गर्दा खासै फरक लाग्दैन ।’ साथै एउटा निर्देशकको काम स्टारलाई चम्काउने मात्र नभएर अँध्यारोमा लुकेको स्टारलाई बाहिर ल्याउने पनि रहेको उनले बताए ।
साहित्य, सिनेमा, कलाप्रति राज्य तथा अन्य सामर्थ्य व्यक्तिहरूले चासो नदेखाएका कारण कला क्षेत्रले स्वाभाविक गति लिन नसकेको उनले जनाए । राज्यले कलाकार गहना हुन मात्रै भनेर नहुने त्यसमा लगानी पनि गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बाँसुरी, कालोपोथी र साम्बाला जस्ता अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त फिल्म निर्देशन गरेका भामसँग पत्रकार वसन्त बस्नेतले कुराकानी गरेका थिए ।
महोत्सवको तेस्रो दिन यो बाहेक फिल्म समीक्षाः ताली कि गाली शीर्षकको सत्र र सिनेमामा एआइको प्रभाव र भविष्यबारे करुन थापाको मास्टर क्लास पनि भएको थियो । त्यस्तै नेपाल, बुलगेरिया, आइसल्याण्ड, श्रीलंका, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, चीन लगायतका देशका डेढ दर्जन बढी फिल्म तथा डकुमेन्ट्री प्रदर्शन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण