बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई

बुधबार, ३१ असार २०८३, १५ : ४७
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाली कांग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र वैकल्पिक सडकको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनले ‘हरित नगरी’ इलाम सडकको दुरावस्थाले ‘हिलोमय’ भएको र बिरामी तथा सुत्केरीलाई उपचारका लागि झापा पुर्‍याउन समेत नसकिने स्थिति रहेको बताए।
  • राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्था तथा खोलाहरूमा बेलीब्रिज निर्माणको मागमा सुनुवाइ नभएको र बजेट कार्यान्वयन नभएकोमा गुनासो गरे।

काठमाडौँ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले ठूलो सास्ती भोग्नुपरेको बताएका हुन्।

उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण ‘हिलोमय’ भएको टिप्पणी गरे। मेची राजमार्गको बेहाल अवस्थाले गर्दा बिरामी र सुत्केरी महिलाहरूलाई उपचारका लागि झापाका अस्पतालसम्म पुर्‍याउन समेत नसकिने स्थिति सिर्जना भएको उनले उल्लेख गरे। 

सांसद राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्थाका साथै माई जोगमाई खोला र पुवा खोलामा बेलीब्रिज निर्माणको माग पटक-पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएकोमा आपत्ति जनाए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सो क्षेत्रको स्थलगत अवलोकन गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ। 

गत वर्षको प्राकृतिक विपत्तिका कारण इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए तापनि सरकारले पठाएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र यस वर्ष झन् उपेक्षा गरिएको उनले बताए। इलाम मनसुनजन्य विपद्को समेत जोखिममा रहेको भन्दै उनले आवश्यक पूर्वतयारी गर्न समेत सरकारलाई आग्रह गरे।

बैठकमा इलामको विकराल सडक अवस्थाबारे बोल्दै सचेतक राईले भने, ‘हामीले इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमलय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कोही नागरिक बिरामी परेको खण्डमा वा सुत्केरी महिला झापाको एउटा हस्पिटलसम्म आउनसक्ने अवस्था छैन।’

सडकको दुरावस्था र वैकल्पिक बाटो तथा बेलिब्रिजको अवस्था पनि उस्तै रहेको भन्दै उनले पूर्वाधार मन्त्रीको भ्रमणप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘पूर्वाधारमन्त्री इलाम जानुभयो, ती सडकखण्डहरू हेर्नुभयो, हिँड्नु पनि भयो। मलाई आशा लागेको थियो उहाँ त्यो विकराल स्थितिको अवलोकन गरेर आउनुहुन्छ लागेको थियो। तर त्यस्तो हुन सकेन।’ 

विकास निर्माणमा राजनीतिक पूर्वाग्रह राखिएको आशंका गर्दै उनले प्रश्न गरे, ‘के इलामका नागरिकका लागि ती पूर्वाधार बन्नका लागि सरकार पक्षकै प्रतिनिधि हुनुपर्ने हो? नत्र इलाम सुनिनुपर्थ्यो। सुनिएन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप