सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेमकिपासँग सरकारको समर्थन माग्दै मुख्यमन्त्री जम्कट्टेलको टिम

आइतबार, ०४ चैत २०८०, ०९ : १४
आइतबार, ०४ चैत २०८०

मकवानपुर । सत्ता समीकरण परिवर्तन पछि बागमती प्रदेश सरकार टिकाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेमकिपासँग सहयोग माग गरेका छन् । नेपाली कांग्रेसले समर्थन फिर्ता गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार माथि सङ्कट मडारिरहेको छ ।

उक्त संटक टार्न मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका विभिन्न दलहरूलाई सत्ता साझेदारीको प्रस्ताव अघि सारेका छन् । सोही क्रममा मुख्यमन्त्री जम्कट्टेलको टिमले शनिबार नेमकिपासँग सरकारको समर्थन माग गरेको हो ।

नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंको निवास भक्तपुरमा पुगेर मुख्यमन्त्री जम्कट्टेलले सरकारलाई समर्थन गर्न सहयोग माग गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलसहित प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’, नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले नेमकिपाका नेता गोसाईंसँग सरकारको समर्थन माग गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक अस्थिरता हुनबाट प्रदेशलाई जोगाउन र स्थिर सरकारसहित प्रदेशको विकास निर्माण तथा नागरिकको सहज सेवा प्रवाहमा काम गर्न सरकारलाई समर्थन गर्न नेता गोसाईंलाई प्रस्ताव गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले अहिलेको राजनीतिक सङ्कट टार्न नेमकिपाले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने र त्यसतर्फ गम्भीर हुन नेता गोसाईंलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावको जवाफमा नेता गोसाईंले सरकारको समर्थन गर्न सक्ने अवस्था नरहेको बताएका थिए । अहिले सरकारलाई समर्थन गरे पनि नागरिकको हितमा काम हुन्छ भन्ने कुनै आधार नदेखिएकाले सरकारलाई समर्थन दिन सक्ने अवस्था नरहेको बताए । वर्तमान नेतृत्वकर्ताबाट प्रदेश र नागरिकको विकास तथा समृद्धिको सम्भावना नरहेको उनले बताए । नागरिकको हितमा काम गर्ने सरकारको चाहना भए विगतमा किन गरिएन मुख्यमन्त्री जम्कट्टेललाई नेता गोसाईंले बताएका थिए ।

मुख्यमन्त्री जम्कट्टेललेको सरकारलाई समर्थन दिने प्रस्तावमा नेता गोसाईंले भने– ‘विगतमा साना दलहरू चाहिन्न भन्ने व्यवहार आगामी दिनमा हुँदैन भन्ने आधार के ? १, २, ३ अंक चाहिन्न भन्ने शासक दललाई अहिले सङ्कट परेपछि समर्थन माग गर्दै आउँदा विश्वास गर्ने आधार के ? अहिले तपाईँहरूले सोचे जस्तो राजनीतिक अस्थिरता छैन । अन्य दलहरू पनि छन् । उहाँहरूले निकास दिन सक्नु हुन्छ । त्यही अनुसार काम पनि भइरहेको छ । भागबन्डाको सहजताका लागि मात्र ठुला दलहरूले सानो अंकका दललाई खोज्ने गरेका हुन् । त्यसमा नेमकिपा भागिदार बन्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप