बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘चलचित्र क्षेत्रको सिन्डिकेटले ओटीटीको बजार बिस्तार भएन’

ओटीटीमा खर्च गरेर दर्शकले चलचित्र हेर्दैनन् : जितु नेपाल
आइतबार, ०४ चैत २०८०, १० : ०६
आइतबार, ०४ चैत २०८०

काठमाडौँ। सिनेमाका नयाँ बजार र अवसरहरूबारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ। चैत्र १ गते देखि काठमाडौँमा चलिरहेको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सो संवाद कार्यक्रम गरिएको हो। उक्त कार्यक्रम चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार बिस्तारका सन्दर्भमा कार्यक्रममा बहस गरिएको थियो ।

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जितु नेपाल,हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।

निर्माता श्रीधर पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा बिस्तारै घट्दै गइरहेको बताए । चलचित्र प्रदर्शन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेस्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको भनाई छ ।

डिजिटल बजारको रूपमा संसारभर स्थापित ओटीटी प्लेटफर्म समेत नेपालमा बिस्तार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चलचित्र किनेर ओटीटीमा सञ्चालकहरूले नराख्नाले बजार बिस्तार नभएको उनको तर्क छ । उनले भने, ‘कमिसन खान ओटीटी चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।

निर्माता पौडेलका अनुसार ओटीटी कम्पनीहरूले चलचित्रको प्रचारप्रसारमा समेत ध्यान दिएका छैनन् । ओटीटीमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरू प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटीटी कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटीटी चलाएको अवस्था छ ।

डिजिटल प्लेटफर्मका सञ्चालकहरू नै विभाजित भएका कारण बजार बिस्तारमा बाधा पुगिरहेको हाइलाट्स नेपालका  प्रबन्धक जनक तामाङ बताउँछन् । एउटा पक्षले बनाएको ओटीटीमा अरूले चलचित्र नदिने सिन्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सब्सक्राइभ गर्न नसक्ने हुँदा बजार बिस्तार नभएको उनी तर्क गर्छन् । भन्छन्, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाउँमा सबै मिलेर एउटा राम्रो ओटीटी सञ्चालन गर्न सके बजार बिस्तारमा सघाउ पुग्छ ।’

कलाकार जितु नेपाल ओटीटीमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गर्छन् । भन्छन्,‘हलमा चलचित्र चलिरहेको छैन । केही ओटीटी सञ्चालनमा छन् । तर कमाइरहेका छैनन् ।’ कोरोना सङ्कटको बेला खुलेका केही ओटीटी बन्द भएको उनी बताउँछन् ।

उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफाम आएपछि चलचित्रको बजार खुम्चेको छ । धेरैले फेसबुक र युट्युबमा चलचित्र हेर्न थालेका छन् । यी माध्यम नहुँदा चलचित्र भवनहरूमा ५१ दिन मनाएका थिए । अहिले यस्तो अवस्था छैन । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तर्रास्ट्रीय स्तरबाट चलेकामा नेपाली चलचित्रहरू दर्शकले हेर्ने गरेको उनी बताउँछिन् ।

उनका अनुसार दार्जिलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्तर्राष्ट्रिय ओटीटी नेटफ्क्सिलगायतमा बिक्री गरिरहेका छन् । संसारभर रहेका करिब ७ करोड नेपालीभाषीले ओटीटीबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यस क्षेत्रमा काम गरिरहेका छैनन् ।

कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरी युट्युबमा निःशुल्क चलचित्र हेर्न चाहेको बताउँछन् । धेरै दर्शक युट्युबमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ ।

पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपाल बताउँछन् । भन्छन्, ‘मैले धेरै टेलिचलचित्र बनाए । टेलिभिजनहरूलाई दिए । अहिले लाखौँ भ्युज कमाएको छ । हामी पछि परेका छौँ ।’ पछिल्लो समय युट्युब केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटिका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप