शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

सुस्माको काजकिरिया चल्दै थियो, हत्या आरोपीले कुकुर डुलाउँदै हेरिरहे !

हत्यापछि मृतकको फेसबुकमा आफैले लेखिदिए–‘सरी म ३ दिनमा आउँछु’
आइतबार, ०४ चैत २०८०, १६ : ११
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर–३ बाट माघ २२ मा क्याम्पस गएकी सुस्मा लामा सम्पर्कविहीन भइन् । भोलिपल्ट उनले चलाउने फेसबुकमा बेहुला र बेहुलीको तस्बिर सहित सन्देश पोस्ट भयो–‘सरी सबैलाई, ३ दिनमा म आउँछु ।’

सुस्मा बेहुली बनेकी थिइन् । अनुहार छोपिएका युवक बेहुलाको भेषमा थिए । परिवारका सदस्यहरूले सोचे–‘बिहे गरिछन् ।’ तर, १८ वर्षीया तिन दिनमा नफर्केपछि परिवारले प्रहरीमा रिपोर्ट गरे । रिपोर्ट गरेपछि २६ माघमा दिदी बिन्दा लामाको मोबाइलमा म्यासेज आयो–‘मान्छेहरू पनि कस्ता हुन्छन्, मलाई नखोज्नु भनेको हैन किन प्रहरीमा जानु परेको होला ?’

430933488_1577398669774974_4520463128385947475_n

त्यसपछि ‘सुस्मा मंगोलियन’नामको उनको आइडी नै डिएक्टीभ भयो । परिवारका सदस्यसँग मिलेर प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग गोकर्णको टोलीले उनीबारे खोजबिन गरिरहेको थियो । फागुन २४ मा तारेभिरमा घाँस काट्न गएकाहरूले खाल्डोबाट हात निस्केको शव देखेर प्रहरीलाई खबर गरे । उत्खनन गर्दा शव सुस्मा लामाको पुष्टि भयो ।

432970303_1361676471153545_545275555178678500_n

‘तीन दिनमा आउँछु’ भनेर फेसबुकमा सूचना राखेकी सुस्मा सधैँका लागि बिदा भइसकेकी थिइन् । उनी बूढानीलकण्ठ स्थित बूढानीलकण्ठ माविमा १२ कक्षामा पढ्थिन् । कलेज जाँदै गर्दा बाटो ढुकेर बसेका गोकर्णेश्वर–३ स्थित छिमेकी युवक २१ वर्षीय रुपेन्द्र लामाले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

431014579_1460842734777840_8995487459839403707_n

हत्या आरोपी एउटै टोलका हुन् । मृतक सुस्माका दाजु राजेश लामा भन्छन्–‘आरोपी हाम्रो भाञ्जा खलक पर्छन् ।’ नाता भित्रका रुपेन्द्रले १८ वर्षीया सुस्मा लामाको हत्यापछि उनको मोबाइल र किताब लिएर घर गए । प्रहरीले उनको घरबाट मृतकको मोबाइल र किताब बरामद गरेको छ ।

सुस्मालाई हत्या गरेपछि उनको मोबाइल नम्बरबाट आरोपीले उनको फेसबुक लगइन गरेका हुन् । लगइन गर्दा पासवर्ड बिर्सेको विकल्प रोजेर उनले ‘ओटिपी’ मार्फत आउने कोड प्रयोग गर्दै फेसबुकमार्फत पोस्ट गरेको थाहा भएको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए । घिमिरेले भने–‘मोबाइल नम्बर मार्फत मृतकको फेसबुकमा पहुँच बनाएको देखिन्छ ।’

विवाह गरेको अपरिचित दम्पतीको फोटो खोजेर उनले सुस्माको अनुहारको फोटो जोडिदिएका हुन् । परिवारलाई झुक्याउन आरोपीले बेहुलाको फोटो नचिनिने बनाइदिए ।

फागु २५ मा शव उत्खनन गरेर पोस्टमार्टम गरेपछि परिवारले सुस्माको दाहसंस्कार गरे । घरमा काजकिरिया गर्दै थिए । आरोपी रुपेन्द्र कुकुर डुलाउँदै मृतकको घरको बाटो हिँड्थे र त्यहाँको अवस्था नियाल्थे । सुस्माकै घर अगाडीबाट जंगलतिर बाख्रा लैजान्थे ।

sushma lama

सुस्माका दाजु राजेश लामा भन्छन्–‘ऊ कुकुर डुलाएर हिँडिरहन्थ्यो ।’ आरोपी कुकुर डुलाउन र बाख्रा चराउन मात्र बाहिर निस्किए । त्यसबाहेक उनी घरभित्र नै बसिरहन्थे ।

सुस्माले प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्या गर्ने दिन पनि उनले प्रस्ताव राखेको तर सुस्माले ‘हुँदैन’ भनेपछि घाँटी थिचेर हत्या गरेको डिएसपी घिमिरेले जानकारी दिए । करिब ४५ मिनेटमा हत्या गरेर उनले शव व्यवस्थापन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप