शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखको आसनमा इन्दिरा, रोष्टममा रामहरि : यस्तो चल्यो संसद्‌मा ख्यालठट्टा

बुधबार, ०७ चैत २०८०, १४ : ५४
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सभामुखको आसनमा बसेकी इन्दिरा राना र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबिच ख्यालठट्टा चलेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल चलिरहेको थियो । सांसदहरूले राखेका जिज्ञासा अर्थमन्त्री वर्षमान पुनले सम्बोधन गर्ने कार्यक्रम थियो । तर मन्त्री पुन राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिन गएका थिए । 

बैठकको अध्यक्षता उपसभामुख इन्दिरा रानाले गरेकी थिइन् । कांग्रेस सांसद रामहरि खतिवडाको बोल्ने पालो आएपछि उनले खतिवडालाई बोल्न समय दिइन् । रोष्टममा पुगेका सांसद खतिवडाले भने– ‘प्रतिनिधिसभा नियमावलीमा संसद् बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य भनेको छ । त्यसकारण मन्त्रीलाई म पर्खन्छु । मन्त्रीलाई उपस्थित गराउन अनुरोध गर्छु । यो परम्परा २०७० को संविधानसभामा पनि सम्बन्धित मन्त्री उपस्थित नहुँदा संसद् स्थगन गरेर मन्त्री उपस्थित भएपछि चलाउने प्रचलन थियो । त्यतातिर ध्यान दिइयोस् ।’

खतिवडाले यसो भनेपछि बैठकको अध्यक्षता गरेकी रानाले भनिन्– ‘माननीय सदस्यलाई मैले भनिसकेँ, राष्ट्रियसभामा जवाफ दिन जानुभएको छ । जवाफ दिएपछि आइहाल्नुहुन्छ ।’  

रामहरि खतिवडा : मैले बुझेँ । त्यो उपस्थिति व्यवस्था गर्ने काम सचिवालयको हो । मन्त्रीलाई कुन बेला राष्ट्रियसभामा पठाउने, कुन बेला प्रतिनिधिसभामा पठाउने । प्रतिनिधिसभामा छलफल भइरहेको छ, त्यसलाई आलोपालो गरेर मिलाउन सकिन्छ । प्रतिनिधिसभामा मन्त्रीको उपस्थिति चाहियो ।’

इन्दिरा राना : ‘अब पर्खी बस्ने त होला । आउँदै हुनुहुन्छ अर्थमन्त्री ज्यू ।’ 

रामहरि खतिवडा : ‘ठिक छ सभामुख महोदय रातिसम्म पर्खनुहुन्छ हामी पनि पर्खन्छौँ केही छैन ।’

इन्दिरा राना :  ‘एकैछिन पर्खौँ, आउँदै हुनुहुन्छ ।’

रामहरि खतिवडा : ‘नियमावलीमै उल्लेख छ सभामुख महोदय परिच्छेद १७ मा ।’

इन्दिरा राना :  ‘माननीय सदस्य बोल्न सुरु गर्दै गर्नुस्, आउँदै हुनुहुन्छ । बाटोमा आइसक्नुभएको छ ।’

रामहरि खतिवडा : ‘ठिक छ, म पनि बाटोसम्मै पर्खन्छु ।’

इन्दिरा राना : ‘हुन्छ पर्खिनुहुन्छ भने खाजाको पनि व्यवस्था गरौँला पछि ।’

रामहरि खतिवडा :  ‘सभामुख अलि भोकाएजस्तो लाग्यो, त्यसको व्यवस्था गर्न हामी पनि तयार छौँ । बरु संसद् कोषबाटै निर्माण गर्नुपर्छ भने पनि तयार छौँ सभामुख महोदय ।’

इन्दिरा राना : ‘सुरु गर्दै गरौँ माननीय सदस्य, आइसक्नुभयो ।’

त्यसपछि सांसद खतिवडाले विषयवस्तुमा केन्द्रित भएर आफ्नो धारणा राख्न सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप